विराटनगर ।  कोशी प्रदेश सरकारले मनपरी अनुदान वितरण गरेको पाइएको छ । कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयले एउटै सहकारीको नाममा १९ करोडसम्म अनुदान वितरण गरेको हो । विशिष्टीकृत सहकारी संस्थाको नाममा एउटै सहकारीले १९ करोड ३० लाख ४ हजार  लगेको  छ । माग गरिएको सूचना  अनुसार धुलो दूध कारखाना स्थापना कार्यक्रमबाट सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको सगरमाथा डेरी विशिष्टीकृत सहकारी सङ्घ लिमिटेडले दुई चरणमा सो रकम लगेको हो । आर्थिक वर्ष २०७७/०७८ मा ८ करोड लगेकोमा आर्थिक वर्ष २०७८/०७९ मा ११ करोड ३० लाख ४ हजार रकम लगेको छ।  कोशी प्रदेश सरकारले दिएको अनुदानमा महालेखाको प्रतिवेदनले यस बारेमा गम्भीर प्रश्न उठाएको छ। 
४० लाख माथिको अनुदान
कोशी प्रदेश सरकारले  आर्थिक वर्ष २०७५÷०७६ देखि आर्थिक वर्ष २०७९/०८० सम्म विशिष्टीकृत सहकारी बाहेक रु.१ अर्ब ५ करोड ५५ लाख ६८ हजार सहकारीको नाममा अनुदान वितरण गरेको छ । आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७८÷०७९ सम्ममा ९० करोड १३ लाख ८८ हजार अनुदान वितरण गरेको देखिएको छ । 
बिभिन्न ५० लाख बढी अनुदान लग्ने सहकारीहरूमा पनि धेरै सहकारी रहेका छन् । झापाको मान सरोबर कृषि सहकारी संस्थालाई ६७ लाख ५३ हजार, श्री दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्था मोरङ कानेपोखरीलाई ५० लाख अनुदान दिइएको छ। त्यस्तै मेचीनगर ६ झापामा रहेको महेन्द्र दुवार सहकारी संस्थालाई  अन्य कार्यक्रमबाट ७३ लाख५० हजार अनुदान दिइएको छ। बेलका माछा सहकारी संस्था उदयपुरलाई ४५ लाख, लेटाङको व्यवसायीक महिला बाख्रा पालन सहकारी संस्थालाई ४९ लाख २२ हजार, सगरमाथा दूध चिस्यान केन्द्र छथर जोरपाटी ६ धनकुटालाई ४९ लाख ८ हजार अनुदान दिइएको छ। 
सुनसरीमा रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थालाई पशुपालनको लागि ५० लाख, नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापालाई ७२लाख ३८ हजार, हुलाकी मार्ग लक्षित दूध उत्पादन कार्यक्रम अन्तरगत उत्सव कृषि सहकारी संस्थालाई ९५ लाख ३६ हजार, बैगुनधुरा साना किसान महिला कृषि सहकारी संस्थालाई ९७ लाख ३३ हजार, ग्रामलक्ष्मी बचत तथा ऋण सहकारी संस्थालाई ९८ लाख ५२ हजार, कियाचु कृषि सहकारी संस्थालाई ४६ लाख २९ हजार अनुदान दिइएको छ। 
अन्य कार्यक्रम अन्तरगत नै कियाचु सहकारी संस्थालाई १ करोड २ लाख ७१ हजार पनि अनुदानमा दिइएको छ। यो रकम सित भण्डार निर्माणको लागि उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । गौरीगंजमा रहेको साना किसान सहकारी संस्थालाई कृषि उपज बैँक निर्माणको लागि भनेर ७१ लाख ७६ हजार अनुदान दिईएको छ। सगुन कृषि सहकारी संस्था इटहरीलाई ८० लाख ७० हजार, नेपाल बहुउद्देश्यीय सहकारी संस्था मेचीनगरलाई १ करोड १५ लाख २० हजार अनुदान दिईँदा महर्षि मेँही कृषि सहकारी रंगेलीलाई ४३ लाख ६९ हजार उपलब्ध गराइएको हो । चन्द्रोदय कृषि सहकारी सुनसरीलाई ७१ लाख २३ हजार, साना किसान कृषि सहकारी रतुवामाईलाई ७८ लाख ४० हजार, मानसरोवर कृषि सहकारी दमकलाई ६७ लाख ५३ हजार अनुदान दिएको मन्त्रालयको तथ्याङ्कमा देखिएको छ।  हाम्रो साना किसान कृषि सहकारी संस्थालाई ९७ लाख ३३ हजार, सन्दपुर कृषि सहकारी सन्दकपुरलाई ९५ लाख  ३६ हजार, लावाखोला कृषि सहकारी संस्थालाई ९८ लाख ५२ हजार अनुदान दिइएको छ। धुपीदेम्बा कृषि सहकारी तेह्रथुमलाई ४६ लाख २९ हजार, हलेसी दर्शन कृषि सहकारीलाई १ करोड २ लाख ७१ हजार, नेपाल बहुउद्देश्यीय सहरकारी भोजपुरलाई ४६ लाख ८७ हजार, लिखुखोला साना किसान सहकारी संस्थालाई ५० लाख अनुदान उपलब्ध गराएको छ । साहारा एकीकृत सहकारी खेती कृषि समूहलाई ६९ लाख एक हजार उपलब्ध गराएको छ । आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७८÷०७९सम्मको विवरणमा हलेसी दर्शन कृषि सहकारी संस्था सुनकोसीलाई ४८ लाख २२ हजार रुपैयाँ अनुदानको रूपमा प्राप्त गरेको छ। 

गत आर्थिक वर्ष २०७९/०८० मा करिब ५० लाखको हाराहारीमा एउटा सहकारीले मात्र अनुदान प्राप्त गरेको छ। यो अवधिमा १५ करोड ४१ लाख ८० हजार अनुदान सहकारीले प्राप्त गरेका छन् । डाँगी वारी साना किसान कृषि सहकारी संस्था लिमिटेड बाह्रदशी झापालाई ४८ लाख ७२ हजार  गत आर्थिक वर्ष २०७९/०८० को अन्त्यसम्ममा वितरण गरिएको  उद्योग कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको अनुदान प्रदान गरिएको विवरणमा भनिएको छ। वितरण गरिएको अनुदानमा बाख्रा पालन, चक्लाबन्दी खेती, खाद्यान्न भण्डारण गृह निमाण, सित भण्डार गृह निर्माण लगायताको लागि उपलब्ध गराइएको छ।  त्यस्तै आर्थिक वर्ष २०७९÷८० को एक आर्थिक वर्षमा ३० लाख भन्दा माथिका अनुदान भनेँ धेरै सहकारीलाई उपलब्ध गराइएको छ। गाई ब्लक विकास कार्यक्रम अन्तरगत उदयपुरको महिला साना किसान कृषि सहकारी संस्थालाई ३० लाख, कृषि पशुपालन तर्फ खोटेहाङ पशुपालन दुग्ध सहकारी खोटाङलाई ३५ लाख, च्यास्मीटार महिला कृषि सहकारी संस्थालाई बाख्रा बृहत्तर कार्यक्रम अन्तरगत ३५ लाख उपलब्ध गराइएको छ। नमुना कृषि सहकारी संस्थालाई ३३ लाख ९२ हजार, सृजनशील कृषि सहकारी संस्थालाई ३४ लाख १६ हजार, जनउत्थान बहुउद्देश्यीय सहकारी सोलुखुम्बुलाई ३३ लाख ६१ हजार, एभरेस्ट बहुउद्देश्यीय सहकारी सोलुखुम्बुलाई ३३ लाख ३६ हजार अनुदान दिइँदा जल कन्या कृषि सहकारी संस्था सुनसरीले ३४ लाख ६५ हजार अनुदान प्राप्त गरेको छ । त्यस्तै भोजपुर कृषि तथा पशुपंक्षी जडीबुटी सहकारीले ३४ लाख ९६ हजार अनुदान प्राप्त गरेको मन्त्रालयले जनाएको छ।