विराटनगर । सुनसरीको बर्जुबाट कटुवा पेस्तोल र गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 
बर्जु गाउँपालिका–६ बेलाहाका १८ वर्षीय राम चौधरीलाई पेस्तोल सहित पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए । घरमा पेस्तोल लुकाएर राखेको सूचनाका आधारमा चौधरीलाई पक्राउ गर्नका लागि सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले विशेष टोली परिचालन गरेका थिए । 
प्रहरीले घरमा छापा हानेको जानकारी पाएपछि चौधरी फरार भएका थिए । उनलाई सोमबार पक्राउ गरिएको जानकारी राईले दिए । उनका अनुसार लुकिछिपी बसिरहेको अवस्थामा बर्जु गाउँपालिका–५ बाट चौधरी पक्राउ परेका हुन् । 
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चौधरीले भारतदेखि पेस्तोल ल्याएको पत्ता लागेको छ । ‘साथीसँगको समन्वयमा भारतबाट पेस्तोल ल्याएर घरमा राखेको खुलेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘कुन प्रयोजनका लागि हतियार ल्याइएको हो भन्ने यकिन हुन बाँकी छ ।’ चौधरीलाई पेस्तोल नेपाल भित्राउन सहयोग गर्ने साथीको पहिचान नखुलाएको प्रहरीले उनको खोजी भइरहेको जनाएको छ । 
प्रहरीका अनुसार चौधरी र उनका साथी दुवै जना भारत गएर हतियार खरिद गरी नेपाल ल्याएको पाइयो छ । पक्राउ परेका चौधरीविरुद्ध भने अवैध हातहतियार ओसारपसार एवं भण्डारण मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डीएसपी राईले बताए । उनका अनुसार हतियारसँग जोडिएका व्यक्तिहरुको विगतको पृष्ठभूमिलगायतका बारेमा पनि अनुसन्धान केन्द्रित गरिएको छ ।