लक्ष्मी उप्रेती
झापा । पछिल्लो समय झापामा अपहरण तथा शरीर बन्धक र मुद्रा सम्बन्धी कसुरका घटना क्रमशः कम हुदैं गएका छन् । पछिल्ला दुई आर्थिक वर्ष २०७८/ ०७९ र २०७९/०८० को जिल्ला प्रहरी कार्यालय झापाको अभिलेखले यसलाई पुष्टि गर्दछ । यसलाई प्रहरीले सकारात्मक रूपमा लिने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको अभिलेख अनुसार आर्थिक २०७८/ ०७९ मा अपहरण तथा शरीर बन्धकका एउटा मुद्दा दर्ता भएको थियो । जुन घटनामा संलग्न ४ जना पुरुष पक्राउ परेका थिए । २०७९/०८० मा समेत सोही प्रकृतिको मुद्दा एउटा मात्र दर्ता भएको थियो । जुन घटनामा संलग्न भएको अभियोगमा एक जना महिला पक्राउ परेकी थिइन् ।
यसअघि जिल्लामा अपहरण तथा शरीर बन्धकका घटना निक्कै हुन्थे । दुई वर्षयता यस्ता घटनामा कमी आएको सुरक्षा अधिकारीहरू बताउँछन् । कुनै समय अपहरण र फिरौती असुलीका घटनामा समूह नै लाग्ने गर्दथे । अहिले त्यो देखिँदैन । ‘कतिले त अपहरणको नाटक गरी झुटो निवेदन समेत दिएका घटना प्रहरीसँग सुरक्षित छ’ एक जना प्रहरी अनुसन्धान अधिकृतले भने—‘आर्थिक कारोबार बिग्रिएपछि वा अन्य कुनै कारणले आफू अपहरणमा परेको भन्दै प्रहरीमा उजुरी दर्ता हुने गरेको थियो । अहिले यस्ता उजुरी समेत शून्य छन् ।’ यस्ता व्यक्तिलाई प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता गरेर कारबाही गर्ने गरेको छ ।
जिल्लामा यस्ता घटनामा कमी आउनुको मुख्य: कारण प्रहरीको सक्रियता नै रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दुर्गाराज रेग्मीको दाबी छ । कुनै कुनै अपहरणका घटना सामान्य आर्थिक लेनदेन, जग्गा विवाद र प्रतिशोधका कारण हुने भए पनि अधिकांश घटना फिरौतीका लागि हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । कतिपय घटनामा परिवारले तत्काल प्रहरीलाई खबर गर्दा फिरौती रकम बुझाउनु परेको छैन । अपहरण र फिरौती असुलीका अधिकांश घटनामा अपहरणकारीले असुलेको रकम फिर्ता भएको छैन । अपहरणका घटनामा बरामद हुने सम्भावना पनि न्यून हुन्छ । ‘अपहरण गर्ने र कुनै ठाउँमा बन्धक बनाएर राख्ने अनि फिरौती बापत मोटो रकम ‘डिमान्ड’ गर्ने घटना कुनै बेला झापामा अत्यधिक रूपमा थियो’ जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताए।
प्रहरीका अनुसार अपहरणमा परेका व्यक्तिको प्रहरीले तत्काल उद्धार गरे पनि कसैको सूचना समयमै प्राप्त नभएका कारण उद्धारमा समस्या हुने गरेको उनको भनाई छ। अपहरणमा संलग्नको पहिचान भए प्रहरीले तत्काल पक्राउ गर्ने गरेको छ भने कति लामो समयसम्म प्रहरी नियन्त्रण बाहिरै हुने गर्छन् । धेरै अपहरणकारीलाई प्रहरीले नियन्त्रणमा लिन सफल भए पनि नेपालमा अपराध गरेर भारतका विभिन्न ठाउँमा गएर लुकेर बस्ने गरेका कारण नेपाल प्रहरीलाई उनीहरूको नजिक पुग्न समस्या हुने गरेको छ । अझ नेपालसँग सीमा जोडिएका क्षेत्रमा यस्तो घटना बढी हुन्छ ।
खुला बोडरका कारण पनि अपराधीलाई उम्कन सहज भएको पुलिस अधिकारीहरू बताउँछन् । झापाको १ सय १८ किलो मिटर भूभाग भारतको पश्चिम बङ्गाल तथा विहार राज्यसँग जोडिएको छ । अन्तर सीमाको प्रयोग गरेर अपहरण र फिरौती असुलीमा संलग्नको सङ्ख्या कुनै समय बढ्दो रहेको अनुभव प्रहरीसँग छ । अपहरणको घटनामा प्रहरीले ‘पोस्ट इन्भेस्टमेन्ट’ को नीति अपनाउँछ । हत्या, बलात्कार लगायतको अनुसन्धानमा घटना भइसकेको हुन्छ भने अपहरणमा प्रहरीको सानो गल्तीले अर्को अप्रिय घटना हुनसक्छ । त्यसैले पहिले अपहरितको सकुशल रिहाइ प्रहरीको प्राथमिकतामा पर्ने गरेको प्रहरी अधिकारीको भनाई छ ।
जिल्लामा यसभन्दा अघि भएका अपहरण तथा आपराधिक घटना र अपराध कर्ममा मानवीय सेवाको कार्यमा प्रयोग हुने अत्यावश्यक सेवाको साधन र साना हतियारको प्रयोग समेत हुने गरेको भए पनि यी दुई आर्थिक वर्षको अवधिमा यस्ता साधनको प्रयोग देखिन्दैनन् । अपहरणकारीले अपहरण गरेका व्यक्तिलाई बन्धक बनाएर राख्न घरहरू भाडामा लिने समेत गरेको यसअघिका घटनाले स्पष्ट देखाएका छन् । तर, पछिल्लो समय यस्तो परिस्थितिको अन्त्य भएको प्रहरीको भनाई छ । उनीहरूले भाडामा लिएका घरमा भने घरधनीहरू नबस्ने, एकान्त, प्रहरीको उपस्थिति कम हुने, हेर्दा सामान्य झैँ लाग्ने एकान्त ठाउँका घरलाई अपहरणकारीले सुरक्षित स्थलका रूपमा लिने गरेको प्रहरी अधिकारीहरू बताउँछ । कतिले त पोल खुल्ने त्रासले अपहरणपछि हत्या समेत गर्ने गरेका थिए । अपहरणकारीले परिवारका सदस्यलाई नियन्त्रणमा लिएर टेलिफोन लाइन काटिदिने, मोबाइल पनि पानीमा डुबाइदिने र परिवारको सदस्यको अपहरण गर्दथे ।
मुलुकी अपराध ‐संहिता) २०७५ ऐन, २०७४ को दफा— २ को परिच्छेद —१७ मा अपहरण वा शरीर बन्धक सम्बन्धी विभिन्न कसुर जन्य कार्यहरूलाई अपराधीकरण गरी कसुर गर्ने व्यक्तिलाई सजायको व्यवस्था गरिएको छ । उक्त परिच्छेदमा उल्लिखित कसुरहरू मध्ये दफा २११, २१२, २१४ र २१५ मा उल्लिखित कसुर गर्ने कसुरदारलाई न्यायिक स्वविवेकमा सजाय निर्धारण गर्नुपर्ने गरी कैद र जरिवानाको माथिल्लो र तल्लो हदको व्यवस्था गरिएको छ ।
मुद्दा सम्बन्धी कसुरका घटना समेत कम
जिल्लामा मुद्रा सम्बन्धी कसुरका घटना समेत कम हुदैँ गएका छन् । आर्थिक वर्ष २०७८/ ०७९ र २०७९/०८० मा जिल्लामा तीन वटा मात्र छन् । घटनामा संलग्नमा तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा दुई वटा घटनमा संलग्नमा एक महिलासहित दुई जनालाई पक्राउ गरेको थियो । २०७९/०८० मा यस्तै प्रकृतिको एउटा घटनामा संलग्नमा एक जना पुरुष पक्राउ परेका थिए ।