इटहरी । इटहरी उपमहानगरपालिकाको सांस्कृतिक भवनमा धेरै शाखाहरू छन् । त्यस मध्येको तेस्रो तलाको एउटा कुनामा छ, पुस्तकालय । पुस्तकालयको ढोकाबाट छिर्ने बित्तिकै देखिन्छन्, केही थान पुस्तक राख्ने र्याक, ती र्याकमा छन् केही पुस्तक र २०७० सालदेखि पुस्तकालयमा कार्यरत कर्मचारी शकुन्तला अधिकारी ।
अधिकारी बाहेक फाट्टफुट्ट रूपमा देखिन्छन् पुस्तकालयमा आएका पाठकहरू । यो पुस्तकालय त्यही पुस्तकालय हो जुन २०७४ सालमा पहिलो पटक स्थानीय तहमा निर्वाचित जन प्रतिनिधि आएसँगै प्रशासनिक भवन बनाउने नाममा यो पुस्तकालय मास्न खोजिएको थियो ।
उति बेला तोक आदेश र सामान्य निवेदनका आधारमा विभिन्न व्यक्ति तथा संस्था साथै विभिन्न सरकारी विद्यालयलाई पुस्तकालयमा भएको पुस्तकहरू बाँडिएको थियो ।
पुस्तकालय मास्न खोजिएको भन्दै नागरिक समाज, लेखक, पाठकहरू, विभिन्न सङ्घ संस्थाले विरोध जनाए । विरोध पछि पुस्तकालय मास्ने निर्णयबाट तत्कालीन जन प्रतिनिधिहरू पछि हटे । पुस्तकालयका पुस्तकहरू वितरण भए पछि कति पुस्तकहरू फिर्ता आए भनेर रेकर्ड समेत राखिएन ।
तत्कालीन मेयर द्वारीकलाल चौधरीले वितरण भएका पुस्तकहरू फिर्ता माग्ने र डिजिटल लाइब्रेरीको स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए । तर त्यसपश्चात् डिजिटल लाइब्रेरी बन्नु त परको कुरा त्यसबारे कुरा समेत उठेको छैन ।
आधा भन्दा बढी पुस्तकहरू बाँडिएको ३ वर्ष पछि नगरले १ लाख रुपैयाँ बजेट छुट्याएर पुस्तकालयमा पुस्तक थपेको थियो ।
त्यसको २ वर्षपछि २०७९ सालको अन्त्यतिर थप १ लाख रुपैयाँ बराबरको पुस्तक थपेको पुस्तकालयमा कार्यरत कर्मचारी अधिकारी बताउँछिन् । 

उपमहानगरको सार्वजनिक पुस्तकालयमा दैनिक औसतमा ४ जना मात्र पुस्तकालयमा आउने गरेको उनले बताइन् । कोभिड १९ को महामारी भन्दा पहिला केही विद्यालयहरूले विद्यार्थीलाई पुस्तकालय देखाउन मात्रै भए पनि ल्याउने गरेका थिए, उनले भनिन्, अहिले त विद्यार्थीहरू ल्याउने क्रम पनि हराएको छ । ठाउँ अभावका कारण कुनै ठुलो समूह आयो भने पनि २० जना पनि मुस्किलले अट्न सकिने उनको भनाई छ।
इटहरी उपमहानगरले न्यून बजेट छुट्याएर पुस्तकालयमा पुस्तक थपेको भए पनि पुस्तकहरू पर्याप्त नभएको पुस्तकालयका नियमित पाठक इटहरीका निमेश बास्तोला बताउँछन् । उपमहानगरको पुस्तकालयमा भएका पुस्तकहरू जन चाहना अनुसार कम भएको बास्तोलाले बताए ।
कार्यालय समयमा मात्र पुस्तकालय खुल्ला हुने बिदाको दिन पुस्तकालय नखुल्ने हुँदा फुर्सदको समयमा गएर पुस्तकालयमा पुगेर पुस्तक पढ्न मन हुनेले समय नै नपाउने गरेको उनको भनाई छ ।
समय सान्दर्भिक पुस्तकहरू नहुँदा पुस्तकालयमा पाठकहरू नै आउन छाडिसकेका छन् । डिजिटल इटहरीको नारा अनुरूप इटहरीका प्रत्येक वडामा तथा प्रशासनिक शाखामा डिजिटल बोर्ड राखिएको छ । भर्खरै मात्र इटहरी उपमहानगरले घर नक्सा सम्बन्धी कार्य डिजिटल प्रणालीबाट सुरु गरेको छ । तर पुस्तकालयलाई स्तरोन्नति गर्ने र प्रविधिमैत्री बनाउने काममा ध्यान नदिएको आरोप लाग्दै आएको छ । पुस्तकालयलाई प्रविधिमैत्री बनाउने बारेमा उपमहानगरले चासो दिएको छैन ।
इटहरी उपमहानगर परिसरमा स्मार्ट शौचालय निर्माणको काम अघि बढिरहेको अवस्थामा पुस्तकालयलाई भने इटहरी उपमहानगरपालिकाले बेवास्ता गरेको पुस्तकालयका जानकारहरू बताउँछन् ।
इटहरी उपमहानगरपालिकासँग पठन संस्कृतिको विकास गर्ने बारेमा कुनै पनि योजना बनेको देखिँदैन । इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले पुस्तकालयलाई यो वर्ष ई-लाईव्रेरी बनाउने योजना नभएको बताए । नगरवासीको आवश्यकता र चाहना अनुसार आगामी वर्षहरूमा उक्त योजना ल्याउने बताए ।