सुनसरी । कोसी प्रदेशको माटोमा अम्लीयपन बढ्दै जाँदा बाली उत्पादन घट्न थालेको छ ।
कोसी प्रदेशका १४ जिल्लामा गरिएको परीक्षणमा माटोमा अम्लीयपन बढेकै कारण बाली तथा बिरुवालाई नभई नहुने नाइट्रोजन-फस्फोरसको मात्रासमेत घटेको र त्यसको असर उत्पादनमा परेको देखिएको हो ।
माटो परीक्षण प्रयोगशाला सुनसरीले कोसी प्रदेशका सबै जिल्लामा गत आर्थिक वर्षमा गरेको ३ हजार ५ सय ७७ वटा नमुना परीक्षणमा अधिकांश स्थानको माटोमा अम्लीयपन देखिएको छ । रासायनिक मल र विषादीको बढ्दो प्रयोग तथा वर्षा बढी हुँदा माटोमा भएको तत्त्व बगाएर लैजाँदा अम्लीयपन बढी पाइएको माटो परीक्षण प्रयोगशाला, सुनसरीका निमित्त प्रमुख एवंम माटो विज्ञ दिगम्बर यादवले जानकारी दिए ।
अम्लीयपनकै कारण माटोमा उर्वराशक्ति घट्दो छ । जसका कारण बालीनाली उत्पादन कम हुने गर्छ । अम्लीयपन घटाउन कम्पोस्ट मल प्रयोग गर्नुपर्ने र त्यसपछि माटो परीक्षणकै आधारमा कृषि चुन प्रयोग गर्न सकिने विज्ञको सुझाव छ ।
तर अधिकांश कृषकलाई माटो परीक्षण गराउनुपर्छ भन्ने नै थाहै छैन । माटोलाई सन्तुलित राख्न हरियो मल, गोबर र प्राङ्गारिक मलको प्रयोग बढाउँदै नियमित माटो परीक्षणका लागि किसानलाई जानकारी नहुँदा माटोमा अम्लीयपन बढेको माटो परीक्षण कार्यालयको भनाई छ ।