विराटनगर । प्रदेशको नामकरण पछि कोशी प्रदेशमा पहिचान पक्षधरहरू छुट्टै पार्टी निर्माणमा जुटेका छन् ।
आगामी निर्वाचनमा प्रदेशमा पहिचान पक्षधरहरूको बहुमत ल्याउने गरी निर्वाचन अगावै पार्टी निर्माण गर्ने उनीहरूको योजना रहेको छ । तर पार्टी कस्तो बन्ने, कसले नेतृत्व गर्ने र कार्यदिशा के बन्ने भन्नेमा उनीहरू अलमलमा परेको देखिएको छ । 
पुराना पार्टीहरूले पहिचानको मुद्दा बोक्न सकेनन् कोशी नाम खारेजीको आन्दोलनको अगुवाइ गरेका किराँत याक्थुंग चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले पार्टी निर्माणको बहस सुरु गरेको बताए । 
उनले भने, धेरै पटक मसँग पनि साथीहरू आउनु भएको छ । तर मैले भने पार्टी भन्दा पनि मोर्चा गठन गरौँ भनेर भन्दै आएको छु । 
आगामी निर्वाचनमा पहिचान पक्षधरहरूका बिचमा एलायन्स गरौँ भन्ने सझाब दिएको, हो उनले भने, पार्टी निर्माणमा साथीहरू लागिरहनु भएको छ । 
जातीय पहिचानको मुद्दालाई बोकेर धेरै पार्टीले सत्ताको भर्याङ्ग चढेको तर सत्ता पुगेपछि जातीय पहिचानको मुद्दा छाडेको कोशी नाम खारेजीको आन्दोलनमा लागेकाहरू बताउँछन् । 
पार्टी निर्माणको पक्षमा जनता समाजवादी पार्टीमा आबद्ध नेता तथा कार्यकर्ताहरू लागेका छन् । यही मध्येका हुन् खगेन्द्र माखिम । 
दलहरूकै कारण कोशी नाम राखिएको र प्रदेशको नामकरणले पहिचान मेटाउने काम भएको उनीहरूको धारणा छ । 
कोशी नाम खारेजीको आन्दोलनको नेतृत्व किराँत राई यायोख्खा, आदिवासी जनजाति महासङ्घ, किराँत याँक्थुंग चुम्लुङ लगायतका सामाजिक सङ्घ संस्थाले नेतृत्व गरेका छन् । यस्तै किराँत भाषा तथा साहित्य उत्थान परिषद् लगायतका सामाजिक सङ्घ सस्थाहरु पनि आन्दोलित छन् ।
कोशी नाम खारेजीको आन्दोलनमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नागरिक उन्मुक्त पार्टी एकीकृत समेत आन्दोलनको मोर्चामा छ । यी दुवै पार्टीले पहिचानको मुद्दा बोके पनि निर्वाचनमा भने उनीहरूको उपस्थिति कमजोर देखिँदै आएको छ । 
नागरिक उन्मुत्ती एकीकृतमा मञ्चबाट फुटेर गएकाहरू कोशी नाम खारेजीको आन्दोलनमा सक्रिय छन् ।  
यही आन्दोलनको जगमा टेकेर पार्टी निर्माण गर्ने तयारी हो । पहिचान सहितको प्रदेश नम्बर १ पुन नामाङ्कन अभियान समितिका अध्यक्ष डाकेन्द्र सिङ थेगिमले पहिचान पक्षधरहरूको पार्टी निर्माणको बहस तीव्र भएको बताए । 
उनले जातीय पहिचानको मुद्दा बोकेर सदन र सरकारमा पुगेकाहरूले पहिचानको मुद्दा छाडेकाले पार्टी निर्माणको बहस सुरु भएको बताए । उनले भने अहिले हामी कोशी नाम खारेजीको आन्दोलनमा छौ । यही आन्दोलनको बलमा पार्टी निर्माण गर्ने तयारी भएको हो । उनले भने, धेरै साथीहरू लागेका छन् । 
माओवादी, जसपा, काँग्रेस र एमाले भित्र रहेका पहिचान पक्षधहरु एक भएर पार्टी निर्माण लागेको थेगिमले बताए । 
माओवादीबाट फुटेर माओवादी कम्युनिस्ट पार्टी गठन गरेका गोपाल किराँती आफूहरू पार्टी निर्माणमा जुटेको बताउँछन् । उनले पार्टी निर्माणकै तयारी स्वरूप आफूहरूले नेपाल देशभक्त समाजवादी मोर्चा गठन गरेको बताए । 
भदौ १३ गते हामीले रमेश सुनुवारको वैज्ञानिक समाजवादी पार्टी र माओवादी कम्युनिस्ट पार्टीका मिलेर मोर्चा गठन गरेको बताए । उनले भने यो सुरुवात हो । हामी नयाँ र छुट्टै बृहत् पार्टी निर्माण गर्नु पर्छ भनेर लागेका छौ । 
नेतृत्व र कार्यदिशामा विवाद
पहिचान पक्षधरहरूको छुट्टै पार्टी निर्माणको बहस भए पनि नेतृत्व कसले लिने र अध्यक्ष को बस्ने भन्नेमा विवाद देखिएको छ । सामाजिक सङ्घ संस्थाका अगुगाहरुले पार्टी बनाउनु पर्छ भनेर भने पनि नेतृत्व गर्न भने अस्वीकार गरेका छन् । 
सामाजिक सङ्घ संस्थाका अध्यक्ष र पदाधिकारीहरूले पार्टीको नेतृत्व गर्न अस्वीकार गरेपछि राजनीतिक दलको नेतृत्व गरेकाहरूबाट अध्यक्ष बनाउने गृहकार्य सुरु भए पनि मूर्त रूप लिन सकेको छैन । 
जनता समाजवादी पार्टी निकट पहिचानको आन्दोलनमा सहभागीहरूले महेन्द्र लावतीलाई अध्यक्ष बनाउनु पर्ने प्रस्ताव गरेका छन् । तर उनको नेतृत्वमा पार्टी गठन गर्न अर्को थरीले अस्वीकार गरेको छ । 
उनी पद्म सुन्दर लावतीका छोरा हुन् । बुवाले राजतन्त्रको पक्षमा वकालत गरेको भन्दै उनको नेतृत्व अस्वीकार गरिएको एक नेताले बताए । 
पहिचानको आन्दोलनमा लामो समयदेखि होमिएको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च भने अहिले नै नयाँ पार्टी बनाएर आफ्नो पार्टी विलय गराउने पक्षमा छैन । बैठकहरूमा मञ्चका अध्यक्ष कुमार लिङ्देनले बृहत्तर पार्टीको आवश्यकता भए पनि आफ्नै पार्टीलाई बृहत्तर बनाउनु पर्ने बताउँदै आएका छन् । 
उनले पहिचानवादीहरूको बैठकमा भन्ने गरेका छन्, “हाम्रो छुट्टै इतिहास छ । हामी हाम्रो पार्टीलाई कुनै पार्टीमा विलय गराउँदैनौ । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहिरहन्छ ।”
किराँत याक्थुंग चुम्लुङका अध्यक्ष येक्तेनले राजनीतिक पार्टीको नेतृत्व नगर्ने बताए । उनले भने म अहिले नै दलको नेता बन्ने अवस्थामा छैन । म चुम्लुङको अध्यक्ष हो । 
किराँत राई यायोख्खका अध्यक्ष जीवन हाताचो पार्टी गठनको बहस छलफल सुरु भए पनि नेतृत्व र कार्यदिशा टुङ्गो नलागेको बताउँछन् । अहिले बहस जारी छ । अहिले नै यो अध्यक्ष र कार्यदिशा यो भन्ने टुङ्गो लागेको छैन । उनले पहिचानको आन्दोलन सशक्त बनाउनु पर्छ भन्नेमा सबै एक मत भएको बताए । 
माओवादी कम्युनिस्ट पार्टीका अध्यक्ष गोपाल किराँती भने आफूहरू जातीय र बर्र्गीय मुद्दा स्थापना गर्ने अव बन्ने पार्टीको कार्यभार रहेको बताउँछन् । 
गोपाल गुरुङ र  गोरे बहादुर खपांगीहरुले जातीय पहिचानको मुद्दा धेरै पहिले बोकेका हुन् । उनले भने कार्यदिशामा त्रुटि हुँदा उनीहरूको पार्टी अगाडि बढ्न सकेन । 
खपांगी र गुरुङले जनमुती पार्टीको निर्माण गर्दै जातीय मुत्तीको कुरा गरे पनि वर्गीय मुत्ती पनि सँगसँगै हुनु पर्ने किराँती बताउँछन् । 
जातीय मुत्तीले मात्रै देश बन्दैन, उनले भने वर्गीय मुत्ती पनि आवश्यक छ । खापांगी र  गुरुङले  यही त्रुटि गरे । अव यस्ता गर्न हुँदैन । 
किराँतीको कार्यदिशामा अधिकांश पहिचानवादीहरू सहमत हुन नसकेको बैठकमा सहभागी नेताहरू बताउँछन् । 
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिंङ्देनले पार्टीको सिद्धान्त सह अस्तित्व हुनु पर्ने बताए । उनका अनुसार लिम्बुवान्मा लिव्वु मात्रै हुँदैन । लिम्बुवान्मा बस्ने सबै जातजातिको सह अस्तित्व स्वीकार गर्न सक्नु पर्छ । 
पहिचान पक्षधरका पार्टी नै पार्टी 
कोशी प्रदेशमा २०४६ सालको जनआन्दोलन अगावै जातीय र क्षेत्रीय पार्टी निर्माण भएका छन् । गोरे बहादुर खपांगीले जातीय मुत्तीको कुरा गर्दै राष्ट्रिय जनमुती पार्टीको निर्माण गरेका थिए । 
यस्तै खम्वुान राज्यको स्थापनाको माग राख्दै गोपाल गुरुङले किराँत वर्कस पार्टीको निर्माण गरेका थिए । यी दुवै पार्टीले जातीय र पहिचानको कुरा गरे पनि अहिले यी दुवै पार्टी बिलाएर जाने अवस्थामा पुगेका छन् ।
अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य स्थापना गर्ने माग सहित स्थापना भएको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पनि अस्तित्व रक्षामै सङ्कट छ  । टुट र फुटका कारण यो पार्टीले पनि गति लिन सकेको छैन । ७४को प्रदेश सभामा समानुपातिकबाट एक सदस्य पाएका मञ्चले ७९ को निर्वाचनमा एक सिट पनि पाउन सकेन । 
वीर नेम्वांगले स्थापना गरेको लिम्बुवान मुक्ति मोर्चा पनि अहिले बिलाएर जाने अवस्थामा पुगेको छ । नेम्वांग अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान बनाउनु पर्छ भन्ने लिम्बुवानको गतिविधि सामाजिक सञ्जालमा समिति रहेको छ ।