विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडाको नाममा सर्वसम्मत सहमतिको प्रयास सुरु भएको छ । बिहीबार रातीबाट खतिवडा संस्थापन पक्षको आधिकारिक उम्मेदवार भन्दै खतिवडाको नाममा सहमतिको प्रयास थालिएको हो । शुक्रवारदेखि विराटनगरमा सुरु हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भए पनि अध्यक्ष सहित नयाँ नेतृत्वमा को आउने भन्ने चाहिँ स्पट छैन । तर अहिलेका अध्यक्ष तुलसीप्रसाद न्यौपाने सहित ४ जनाले अध्यक्षको आकाङ्क्षा राखेका छन् । 
एमाले केन्द्रीय सदस्य विनोद ढकाल, अहिलेका उपाध्यक्ष टिकाराम चेम्जोंग र एमालेका पुराना नेता घनश्याम खतिवडा अध्यक्षको आकाङ्क्षी छन् । 
एमाले कोशी प्रदेश अधिवेशन प्रचार प्रसार उप समितिले बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज रघुवीर महासेठले सर्वसम्मत नेतृत्व चयनको प्रयास हुने बताए । 
उनले सर्वसम्मत नेतृत्व छनौटमा समस्या भए निर्वाचन हुने तर प्यानल बनाएर निर्वाचनमा जान नपाउने पार्टीको स्पिरीट रहेको बताए । 
पत्रकार सम्मेलनमा अध्यक्षका चारै जना आकाङ्क्षी सहभागी थिए । पत्रकारले पटक पटक उम्मेदवारी घोषणाको कुरा गर्दा पनि उनीहरूले उम्मेदवार घोषणा गरेनन् । 
एमाले कोशी प्रदेशका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले मनोनयन दर्ता गरेपछि मात्रै उम्मेदवार घोषणा गरिने बताए । 
अध्यक्षका प्रत्याशी विनोद ढकालले पनि अहिले नै उम्मेदवारी घोषणा गर्ने बेला नभएको बताएका छन् । 
अध्यक्षले नै उम्मेदवारी घोषणा गर्न नसक्दा पदाधिकारीको उम्मेदवारी घोषणा पनि तै चुप मै चुप रहेको अवस्था छ । 
कोशी प्रदेशको अधिवेशनमा ९९७ जना प्रतिनिधि छनौट भएका छन् । जसमा ३१७ जना महिला छन् । 
भूगोल र जन सङ्गठनबाट छानिएका प्रतिनीधको  ५ प्रतिशत थप प्रतिनिधि  मनोनीत गर्ने भनिए पनि अहिले सम्म प्रतिनिधि मनोनयन हुन सकेको छैन । प्रतिनिधि मनोनयनमा विवाद भएको एमाले श्रोतले जनाएको छ । 
विवादका कारण प्रतिनिधि मनोनयन हुन नसके पनि प्रदेश अधिवेशनमा जम्मा प्रतिनिधि १०५० हुने पत्रकार सम्मेलनमा अध्यक्ष न्यौपानेले बताए । 
होला त सर्वसम्मत ? 
अन्य प्रदेशमा चुनावी प्रतिस्पर्धाद्धरा नेतृत्व छनौट भइरहँदा कोशीमा मात्रै सर्व सम्मत नेतृत्व छनौट गर्न चर्को रहेको एक स्थायी कमिटी सदस्यले बताए । 
उनका अनुसार आकाङ्क्षी ४ जना देखिए पनि २ जनाका बिचमा चुनावी प्रतिस्पर्धा हुने छ । ती स्थायी कमिटी सदस्यका अनुसार विनोद ढकाल र घनश्याम खतिवडाका बिचमा प्रतिस्पर्धाको सम्भावना रहेको छ । 
कुनै बेला अध्यक्ष ओलीका निकट मानिने विनोद ढकाललाई यस पटक अध्यक्षले लाइन नदिएको एमाले वृत्तमा चर्चा छ । तर अध्यक्षले अघि बढ नभने पनि ढकालले निक्कै अगाडिदेखि प्रदेश अध्यक्षको तयारी गरेकाले उनी व्याक हुने अवस्था नरहेको एमाले नेताहरू बताउँछन् ।  
ढकालले आफू निकटसँग असोजको ५ गते नै केन्द्रीय सदस्यबाट राजीनामा दिएर अध्यक्षको उम्मेदवारी घोषणा गर्ने बताएको भए पनि अहिले सम्म केन्द्रीय सदस्यबाट राजीनामा दिएका छैनन् । उनी अहिले पनि पर्ख र हेरको अवस्थामा रहेका छन् । 
अध्यक्षका अर्का प्रत्याशी खतिवडाले भोट भने माग्दै गरेको बताए । भोट माग्दै छु । उनले भने, अहिले सम्म कार्यकर्ताले बाहेक तिमी अध्यक्ष बन भनेर नेताले भन्नु भएको छैन । 
पुराना नेता भएका कारण यस पटक अध्यक्ष ओलीले खतिवडालाई गो अ हेड भनेको उनी निकटहरू बताउँछन् । 
ढकालको पक्षमा अहिले भीम आचार्यको साथ रहेको देखिन्छ । उपाध्यक्ष सुभाष नेम्बांगको निधन भएपछि ढकालको पक्षमा खुलेर लागेका स्थायी कमिटी सदस्यहरू समेत मौन छन् । 
अहिलेका अध्यक्ष न्यौपानेले अधिवेशनबाट अध्यक्ष नबनेकाले अधिवेशनबाटै अध्यक्ष बन्ने चाहाना रहेको बताउँदै आएका थिए । तर उनलाई केन्द्रीय सदस्य बनाउँदै सङ्खुवासभा इन्चार्ज बनाउने तयारी भएको छ । 
अर्का स्थायी कमिटी सदस्यका अनुसार अन्य प्रदेशमा जस्तो महासचिव शङ्कर पोख्रेलले उपाध्यक्ष विष्णु पौडेलले अध्यक्षको प्रदेश भएकाले नेतृत्व चयनमा खास चासो दिएका छैनन् । 
उनले भने पोख्रेलले पौडेलले अध्यक्षले जसलाई भन्नु हुन्छ उही आफ्नो उम्मेदवार हुने बताउँदै आएको बताए । 
पदाधिकारीमा को को ?
एमाले श्रोतका अनुसार कोशी प्रदेशको सचिवमा भने पाँचथरका राजकुमार भण्डारीले चाहाना राखेका छन् । निर्वाचन भए उनलाई खतिवडाकै लाइनबाट सचिव उठाउने तयारी छ । 
उपाध्यक्षमा भने अहिलेका उपाध्यक्ष टिकाराम चेम्जोंगलाई नै दोहोर्‍याउने तयारी भएको छ । उप सचिवमा भने शैलेश लामालाई नै जिम्मेवारी दिने तयारी भएको एमाले श्रोतले जनाएको छ । 
ढकालले भने अहिले सम्म प्यानल बनाइसकेका छैनन् । उनले उद्घाटन पछि प्यानलको तयारी गर्ने उनी निकटले बताए ।