विराटनगर । कोशी प्रदेशको पश्चिमी जिल्लाका सांसदहरूले जिल्ला अस्पतालहरू सुधार गर्न कालागि स्वास्थ्य क्षेत्र बुझेको विभागीय मन्त्री हुनु पर्ने बताएका छन् । देश सङ्घीय संरचनामा गइसकेपछि जिल्ला अस्पताल तथा स्वास्थ्य कार्यालयहरू प्रदेश सरकारको मातहतमा आएको छ। प्रदेश मातहतका संरचनालाई बलियो बनाउनको लागि सम्बन्धित मन्त्रालयमा पुग्ने मन्त्रीहरू विषय बुझेको हुनु पर्ने बताएका हुन् । कोशी प्रदेशका पर्यटन वन वातावरण मन्त्री एवम् खोटाङका प्रदेश सभा सदस्य पाँच कर्ण राईले स्वास्थ्य क्षेत्र सुधार गर्ने हो भने प्रदेश सरकारमा स्वास्थ्य हेर्ने मन्त्रीले त्यो क्षेत्र बुझेको हुनु पर्ने बताए । ‘पछिल्लो एक वर्षमा स्वास्थ्य क्षेत्र अस्तव्यस्त भएको भन्ने गुनासाहरू आएका छन्, उनले भने, यदि जिल्ला अस्पताललाई सुधार गर्ने हो भने विषयगत विशेषज्ञताको आधारमा मन्त्रालय बाँडफाँड गरेर जानु पर्छ, मन्त्रालयको जिम्मेवारी लिने र जिम्मेवारी दिनेले विशेषज्ञताको आधारमा दिने हो भने धेरै हदसम्म समस्या हल भएर जान्छ ।’ उनले अहिले विद्यामान कानुनलाई संशोधन गरेर जानु पर्ने अवस्था आएको समेत बताएका छन् ।
संवाद समूह कोशी प्रदेशले आयोजना गरेको संवादको क्रममा कोशी प्रदेशका खानेपानी तथा उर्जा मन्त्री एवम् सोलुखुम्बुका सांसद बुद्धिकुमार राजभण्डारीले प्रदेशको स्वास्थ्य नीति कस्तो बनाउने भन्ने बारेमा सबै सांसदहरूका बिचमा छलफल गरेर निर्णय गर्नु पर्ने अवस्था आएको बताए । संसदीय दलका नेता तथा प्रमुख सचेतकहरूको बिचमा संवाद गरेर कोशी प्रदेशको स्वास्थ्यको विषयलाई कसरी साझा विषय बनाउने भन्नेमा एक बनाउन सकेमा स्वास्थ्य क्षेत्र सुधार भएर जाने स्पष्ट पारे । ‘स्वास्थ्य क्षेत्र सुधार गर्ने गरी अस्पतालहरूको आवश्यकता अनुसार बजेटको व्यवस्थापन गरिनुपर्छ, उनले भने, नीति, विधि तथा बजेट व्यवस्थापनको लागि पनि दलहरूको बिचमा छलफल हुनु पर्छ ।’
कोशी प्रदेश सभाका सदस्यहरूले अहिले विद्यमान नीतिले स्वास्थ्य क्षेत्र कुनै पनि ठाउँमा प्रदेश सभा सदस्यको भूमिका नरहेकोले प्रदेश सभा सदस्यको भूमिका बढाउने गरी कानुनी व्यवस्था गरेर जानु पर्ने समेत बताएका छन् । ‘अबको ५ वर्षमा कोशी प्रदेशको स्वास्थ्य स्थिति कस्तो हुने भन्नेमा स्पष्ट भएर सबै लाग्नु पर्छ, उदयपुरकी प्रदेश सभा सदस्य गीतादेवी रेग्मीले भनिन्, तत्कालीन अवस्थामा प्रदेश सभाका सदस्यहरूले कुनै काम गरौँ न त भन्दा समेत विकास समिति तथा अस्पताल प्रशासनले वास्तै गरेको छैन ।’ धेरै जिल्ला अस्पतालहरूमा दरबन्दी अनुसारको डाक्टर तथा कर्मचारी अभाव रहेको अवस्थामा प्रदेश सरकारले यसलाई ध्यान दिनु पर्ने प्रदेश सभा सदस्यको जोड छ । ‘उदयपुर जिल्ला अस्पतालमा ९ जना डाक्टरको दरबन्दी रहेको भए पनि अहिले २ जना मात्र कार्यरत रहेको भन्ने जानकारीमा आएको छ, उनले भनिन्, उदयपुरमा मात्र हैन यो समस्या कोशी प्रदेशका सबैजस्तो अस्पतालको समस्या हो ।’
आलोचना
पछिल्लो समय कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय जसपाले एकलौटी जस्तो पार्दै आएको छ। स्वास्थ्य मन्त्री जयराम यादव हुँदा केही सुधारका छनकहरू देखिएको भए पनि निर्मला लिम्बु आएपछि अस्तव्यस्त भएको भन्दै आलोचना हुँदै आएको छ। लिम्बुले विषय नै नबुझेको भन्दै स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीहरूले नै उनको आलोचना गर्दै आएका छन् । कर्मचारीलाई काम गर्न नदिने, हप्काउने, धम्क्याउने र तर्साउने गरेको समेत उनी माथि आरोप लाग्दै आएको छ। प्रशासनिक क्षेत्र, जिल्ला अस्पताल, कर्मचारी व्यवस्थापन, औषधी उपचार, दिर्घरोगीले पाउने उपचा खर्च उपलब्ध गराउने काममा कुनै निर्णय नै नगरेकी लिम्बुले पछिल्लो समय सरकार परिवर्तन हुँदा समेत क्वाटर नछाडेको र सचिवलाई बाहिरैबाट काम गर्न दवाव दिने गरेको समेत आरोप लाग्दै आएको छ।