विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । कोशी प्रदेश प्रमुख परशुराम खापुङले  उपस्थित सांसदहरूलाई सनाखत गराएपछि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।   नेकपा एमालेका  ३९ जना प्रदेश सभा सदस्य सहित नेपाली काँग्रेस डा शेखर कोइराला समूहका ८ जना गरी ४७ जना सदस्यले प्रदेश प्रमुखको अगाडी स-शरीर उपस्थित भएर हस्ताक्षर गरेका छन्  । उनी कोशी प्रदेशको आठौँ मुख्यमन्त्री हुन् ।  नेपाली काँग्रेस भित्र भाँडभैलो भएपछि उनी ८ जना सांसद सहित नेकपा एमालेसँग सहकार्य गर्न गएका थिए । नेकपा एमालेले ४७ जना पुर्‍याउने वातावरण बनाएर आउने जो कोहीलाई सहयोग  गर्ने बताउँदै आएको थियो । यस अघि कोशी प्रदेशमा शेरधन राई, भीम आचार्य, राजेन्द्र राई एक एक पटक मुख्यमन्त्री भए भनेँ हिक्मतकुमार कार्की र उद्धव थापा दुई पटक मुख्यमन्त्री हुने अवसर पाए । संविधानको धारा १६८ (५) अनुसार कार्की कोशी प्रदेशको आठौँ मुख्यमन्त्री हुन् । 

कार्कीको राजनीतिक इतिहास 
 विद्यार्थी राजनीतिबाट काङ्ग्रेसको राजनीतिमा आएका केदार कार्की कोशी प्रदेशको आठौँ मुख्यमन्त्रीको रूपमा नियुक्त भएका छन् । अघिल्लो प्रदेश सभामा ३ जना मुख्यमन्त्री भएका थिए । कोशी प्रदेशमा पछिल्लो प्रदेश सभाको एक बर्षको अवधिमा ५ औ मुख्यमन्त्री नियुक्त भएका छन् । यो अवधिमा २–२ पटक हिक्मत कार्की र उद्धव थापा मुख्यमन्त्री बनेका छन् । दुवै पटक मुख्यमन्त्रीमा नियुक्त भएका काङ्ग्रेस संसदीय दलका मुख्यमन्त्री बनेका उद्धव थापालाई भने अदालतले बरखास्त गरेको थियो । हिक्मत भने पहिलो पटक माओवादी र जसपाले साथ छाड्दा विश्वासको मत पाउन नसकी पद मुत्त भएका थिए भने दोस्रो पटक विश्वासको मत पाउन नसक्ने भएपछि राजीनामा दिएका थिए । संबिधानको धारा १६८(३) अन्तरगत मुख्यमन्त्री भएका हिक्मत कार्कीले असोज २० गते मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।उनले राजीनामा दिएसँगै प्रदेश प्रमुखले संबिधानको धारा १६८(५) अन्तरगत सरकार गठनको आव्हान गरेका थिए । सो धारा अन्तरगत केदार कार्कीले एमालेको सहयोगमा मुख्यमन्त्रीको दावी पेस गरेका थिए । काङ्ग्रेसबाट प्रदेश सभा सदस्य निर्वाचित भएका केदारले काङ्ग्रेसको निर्णयको विरुद्धमा विद्रोह गर्दै काङ्ग्रेसका ८ प्रदेश सभा सदस्य सहित एमालेसँग मिलेर मुख्यमन्त्रीको दावी पेस गरेका हुन् । काङ्ग्रेसका ८ र एमालेका उप सभामुख सहित ४० सदस्यले केदारलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । कोशी प्रदेश सभामा बहुमत पुर्‍याउन ४७ सदस्य आवश्यक पर्दछ । एमालेबाट कोशी प्रदेशको उप सभामुखले सभा चलाएको अवस्थामा पनि उनको पक्षमा ४७ सदस्य पुग्ने छन् । कोशी प्रदेशमा ४७ प्रदेश सभा सदस्य बहुमत हो । सभामुख पद रित्त रहेको अवस्थामा पनि कार्कीले विश्वासको मत पाउने छन् । मुख्यमन्त्री दावी गर्दा ८ जनाले मात्रै हस्ताक्षर गरेपनि कार्कीको् पक्षमा थप काङ्ग्रेसका प्रदेश सभा सदस्यहरू खुलेका छन् । काङ्ग्रेसले भने माओवादीका इन्द्रबहादुर आङ्वोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । को हुन् केदार ? केदार कार्कीको जन्म २०३० साल पुस ७ गते आमा स्व.ईश्वरी र पिता प्रेमबहादुर कार्कीको कोखबाट भएको हो । कार्की विद्यालय कालदेखि नै राजनीतिमा होमिएका हुन् । उनी जनता उच्च माध्यमिक विद्यालय मधेसामा २०४४ सालमा नेपाल विद्यार्थी सङ्घको सभापति भएका थिए । विद्यालय स्तरको शिक्षापछि उनको उच्च शिक्षा विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट सुरु भयो । उनी सो क्याम्पसमा २०५२ सालमा नेविसङ्को क्याम्पस एकाइका सभापति भएका थिए । यसपछि उनी २०५९ सालमा नेवि सङ्घ क्षेत्रीय सभापति भए । यसपछि उनी जिल्ला सभापतिमा निर्वाचित भएका थिए । २०६३ सालमा भने उनी नेवि सङ्घको केन्द्रीय सदस्यको भएका थिए । उनी काङ्ग्रेसको केन्द्रीय सदस्यमा भने पराजित भए । उनले स्नातकोत्तर सम्मको शिक्षा हासिल गरेका छन् । नेपालमा सङघियता कार्यान्वयनमा गएसँगै पहिलो प्रदेश सभामा मोरङको क्षेत्र नम्बर ६ को २ बाट प्रदेश सभामा निर्वाचित भएका थिए । नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका कार्की संसदीय दलको प्रमुख सचेतकमा नियुक्त भए । कार्की २०७८ कार्तिक दोस्रो प्रदेश सभाको निर्वाचन सम्म कोशी प्रदेशको को आन्तरिक मामिला तथा कानुन मन्त्रीको भए । राजनीतिका साथसाथै नेता कार्की सामाजिक र शैक्षिक गतिविधिमा पनि संलग्न छन् । उनी पूर्वाञ्चल विश्वविद्यालयमा पूर्व सिनेट सदस्य हुन् ।