विराटनगर । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघले विराटनगरमा २ दिने प्राविधिक तथा प्रशिक्षक प्रशिक्षण तालिम आयोजना सुरु गरेको छ ।
शनिवार एक कार्यक्रमका बिच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले २ दिने सेमिनारको उद्घाटन गरेका हुन् । मन्त्री लिम्बूले कार्यक्रमको उद्घाटन गर्दै खेलकुदलाई तीन तहको सरकारले विशेष प्राथमिकतामा राखेर खेलको विकास गर्न जरुरी देखिएको बताए । खेलाडीको मनोबल उच्च राख्न सरकार तयार रहेको छ । खेलाडीहरूले देश विदेशमा गएर आफ्नो साथै देशका नाम राख्ने काम गरेको छन् । यसले पनि सरकार तथा सरोकारवाल पक्षको ध्यान आकर्षण गरेको उनले बताए ।
क्रिकेट खेलका खेलाडीहरू विश्वकप खेल्न जाँदै छन् । सरकारले खेल र खेलाडीप्रति गम्भीर भएर लागेकोले नै राम्रो खेल्दै देशको नाम राख्न सफल भएको मन्त्री लिम्बूले बताए । अब सरकारले खेलमा विशेष ध्यान दिँदै देशका विभिन्न स्थानमा नयाँ अन्तर्राष्ट्रिय स्तरका रङ्गशाला बनाउन डिपिआर लगायतका काम थालिसकेको छ ।
अन्तर्राष्ट्रिय स्तरका खेलमा पदक तथा विजयी हुने खेलाडीहरूलाई पुरस्कार तथा सेवा सुविधा दिने भनेर खेल नीतिहरू संशोधन गरेको बताउँदै, मन्त्री लिम्बूले भने, ‘खेल नीति संशोधन गरेर ठिक्क पारेर राखेको छौँ । त्यसलाई अर्थ मन्त्रालयले समेत स्वीकृति दिएर काम अघि बढी सकेको छ ।’
नेपाल इन्टरनेशनल तेक्वान्दो महासङ्घका केन्द्रीय प्रवीणकुमार कार्कीले खेल र खेलाडीको स्तर वृद्धिका लागि तीन तहको सरकार मिलेर योजना ल्याए अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने बताए । उनले पछिल्लो खेलकुदका घटनाक्रमले सरकार खेलप्रति गम्भीर भएर लाग्नु पर्ने देखिएको बताए । सरकारको न्यून बजेट र खेल नीतिमा खेल्दै खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा देश नाम राख्न सफल भएको बताए ।
सरकारले विगतको जस्तो खेल क्षेत्रलाई हेला नगरी पर्याप्त बजेटका साथै खेल र खेलाडीहरूलाई सेवा सुविधा प्रदान गरे अझ अन्तर्राष्ट्रिय स्तरका खेलमा उच्च खेल प्रदर्शन गर्दै पदक ल्याउन सक्नेमा कुनै शङ्का नभएको अध्यक्ष कार्कीले बताए ।
२ दिनसम्म हुने सेमिनारमा २ सय ६५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । कलर बेल्टमा प्राविधिक अभिमुखीमा २ सय १५ जना तथा प्रशिक्षक प्रशिक्षणतर्फ ४५ जना रहेका छन् । उनीहरूले सैद्धान्तिक, व्यवहारिक, नयाँ खेलका नियमका साथै कसरी खेलाडीहरू प्रशिक्षण दिने भन्ने विषयमा प्राविधिक ज्ञान दिइने छ । सेमिनार आइतबारसम्म हुने आयोजकले जनाएको छ ।