इटहरी । पूर्वी तराईका जिल्लाहरुमा छठ पर्वको तयारी तिब्र पारिएको छ । पूर्वी तराईका जिल्लाहरु झापा, मोरङ र सुनसरीका बिभिन्न नदी, पोखरी तथा तलाहरुमा घाटहरूको सरसफाइ तथा सजावटको कामलाई तिब्रता दिइएको आयोजकहरुले जनाएका छन ।
नदी, तलाउ तथा पोखरीहरुलाई सजाएर झकिझकाउ बनाउनुका साथै बिगतका वर्ष झै यस वर्ष पनि छठलाई भव्य बनाउन पोखरी र जलासयको सरसफाई लगायतका काममा स्थानीय बिभिन्न संघसंस्था जुटेका हुन् ।
तराई मधेशमा सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गरिएको छठ पर्वमा सुनसरी र मोरङको सिमानास्थित बुढी खोलामा २ लाख भक्तजनहरु भित्राउने गरि तयारी तिब्र पारिएको छ ।
झण्डै एक किलोमिटर क्षेत्रफलमा ५ सयवटा पूजा घाट निर्माण गरिएको आयोजक छैठपर्व सेवा समिती इटहरीले जनाएको छ । २४ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छठपर्वमा आयोजना हुने कार्यक्रमको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्धघाटन गर्ने बताइएको छ ।
चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन शुक्रबार ब्रतालु नुहाएर चोखो हुन्छन् र छठको ब्रत बस्ने संकल्प गर्छन् । यसलाई ’नहा खाय’ भनिन्छ । दोस्रो दिन शनिबार उपबास बसी साँझ चन्द्रमालाई साक्षी राखेर सूर्यदेबलाई आह्वान गरिन्छ । त्यसलाई खरना मनाउने भनिन्छ ।
तेस्रो दिन आइतबार पर्वमा प्रयोग हुने विभिन्न किसिमका परिकारहरू घरमै बनाएर साँझ पवित्र जलाशयमा गएर पूजाआजा गर्दै अस्ताउँदो सूर्यको अर्घ्य दिने चलन छ । यसलाई ‘संझियाघाट’ भनिन्छ । महत्वपूर्ण र अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ समापन गरिन्छ ।।