विराटनगर । सरकारले विराटनगरमा रहेको बैजनाथपुर अन्तराष्टिय क्रिकेट रंगशालालाई राजनीति गर्ने थलोको रुपमा मात्र अघि सारेको छ। विराटनगर महानगरपालिका वडा नम्बर १९ स्थित बैजनाथपुर क्रिकेट रंगशाला अहिले अलपत्र अबस्थामा रहेको छ। रंगशालाभित्र धानखेती हुँदै आएको छ भने गाई बाँध्ने गौचरनको रुपमा प्रयोथ हुने गरेको छ। २०७३ पुस ८ मा आयोजना भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष क्रिकेट प्रतियोगिता पश्चात कुनैपनि राष्ट्रियस्तरको खेल हुन सकेको छैन ।
सातौँ राष्ट्रिय खेलकुदमा बनाइएका केही खेल संरचना संरक्षणको अभावमा काम नलाग्ने अवस्थामा पुगेका छन् । क्रिकेट मैदानको पिचमा झार पलाएको छ । रंगशालाको नाममा रहेको १५ बिघा १५ धुर क्षेत्रफलभित्र बनेका खेल संरचनाहरू बेवारिसे अबस्थामा पुगेका छन् । खेल मेदानमा निर्माण भएका विकेट प्रविधिको पिचसहित स्कोर बोर्ड, साइड स्क्रिन लगायतका संरचनाको रेखदेख र संरक्षण हुन सकेको छैन ।
नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी टी–२० विश्वकप क्रिकेटमा छनौट भएपछि बल्ल सरकारले विराटनगरको बैजनाथपुर रंगशालासहित तीन वटा रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गर्ने घोषणा गरेको छ ।
कात्तिक २३ बसेको मन्त्रिपरिषद् बैठकले बैजनाथपुर क्रिकेट रंगशालासहित राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने निर्णय गरेपछि यो रंगशाला निर्माण हुनेमा क्रिकेटप्रेमीलाई केही आशा जगाएको छ । तर कहिलेदेखि निर्माण सुरु हुने र कहिले सकिने भन्ने अन्यौल भने कायमै छ ।
सरकारको गौरबको आयोजनामा परेको रंगशाला अहिले आएर प्रयोग बिहिन अबस्थामा छ । नियमित खेल हुन सके रंगशाला आफै बन्दै जाने भभएपनि क्रिकेट मैदानभित्र अत्यावश्यक केही मर्मतसम्भारको काम गर्दा प्रतियोगिताहरू खेलाउन सकिने अवस्था रहेको जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद बाबुले बताए ।
बैजनाथपुर क्रिकेट रंगशाला निर्माणमा अहिलेसम्म राष्ट्रिय खेलकुद परिषद्देखि प्रदेश सरकार र स्थानीय सरकारको समेत करोडौं रुपैयाँ खर्च भइसकेको छ । प्रत्येक जसो सरकारले बैजनाथपुर रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिता हुने गरी निर्माण गर्ने आश्वासन दिन छाडेका छैनन् । रंगशाला राजनीति गर्ने मैदान बन्दै गएको छ । संघीय सरकारको खेलकुद मन्त्री मोरङकै डिगबहादुर लिम्बु छन् भने कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नै हुन् । उनीहरुले समेत रंगशालाको गतिबिधि बढाउने काममा चासो नदिएको आरोप लाग्दै आएको छ।
खेलकुद गतिविधिका लागि क्रिकेट संघ मोरङले तालिका नै बनाएर क्यानलाई दिइसकेको सचिव अशोक रेग्मीले जानकारी दिए । उनले पनि रंगशालामा सिजन मिलाएर खेलहरू खेलाउनुपर्नेमा जोड दिएको छ ।
सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणापछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले समेत स्थलगत अनुगमन गरेका छन् । हाल राखेप अन्तरगत नै रहेको यो रंगशाला निर्माण गर्न सरकारले अहिले डिपिआरको काम अघि बढाएको सदस्य सचिव घिसिङलाई उदृत गर्दै अनुगमनमा सहभागी एक सदस्यले बताए ।
संघीय सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले बैजनाथपुर रंगशालाको नामै परिवर्तन गराइदिए । नेपाली कांग्रेस मोरङका सभापतिसमेत रहेका लिम्बुले चालु आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नम्बर २७१ मार्फत बैजनाथपुर रंगशालालाई गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा परिणत गराई दिएका हुन् ।