लक्ष्मी उप्रेती ।
मेचीनगर : पूर्वी नाका काँकडभिट्टा हुँदै हुने अलैँची र छुर्पीको निर्यातमा उच्च वृद्धि भएको छ । अलैँची निर्यात ९ दशमलव ८६ प्रतिशत र छुर्पी ३ सय ५० दशमलव ४९ प्रतिशतले निर्यातमा वृद्धि भएको तथ्याङ्कले देखिएको छ।
नेपालबाट बाहिरिने कुल वस्तु निर्यात घटी रहेको बेला पूर्वी काँकडभिट्टा नाकाबाट अलैँची र छुर्पीको निर्यात भने भने बढेको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाको अभिलेख अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो चार महिनामा गत आर्थिक वर्ष २०७९÷०८० को सोही अवधिको तुलना काँकरभिट्टानाकाबाट अलैँचीको निर्यात ९ दशमलव ८६ प्रतिशत र छुर्पी ३ सय ५० दशमलव ४९ प्रतिशतले बृद्धि भएको हो ।
चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म यो नाका भएर २ अर्ब १५ करोड ६० लाख ९४ हजार रुपैयाँ बराबरको १७ लाख ३७ हजार १ सय १० मेट्रिक टन अलैँची निर्यात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९ दशमलव ८६ प्रतिशत अर्थात् १९ करोड ३५ लाख १ हजार रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा भने नेपालले १ अर्ब ९६ करोड २५ लाख ९३ हजार रुपैयाँ बराबरको २४ लाख ४१ हजार १ सय ९९ मेट्रिक टन अलैँची निर्यात गरेको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी एवम् भन्सार अधिकृत गणपति कँडेल जानकारी दिए । परिमाणको तुलनामा अलैँची निर्यात कम भए पनि मूल्यमा भने बृद्धि भएको छ । पूर्वी नाका हुँदै निर्यात भएका मुख्यतः दश वस्तुहरूमा अलैँची र छुर्पी पनि पर्दछ ।
पछिल्लो समय मुलुकबाट अलैँची निर्यात बढ्दै गएको भन्सार अधिकारीहरूको भनाई छ । नेपाली अलैँचीको मुख्य बजार भारत रहे पनि पछिल्लो समय अन्य मुलुकमा समेत निर्यात हुने क्रम बढेको छ । नेपाली अलैँची भारत, पाकिस्तान, जर्मनी, इटाली, अमेरिकालगायत देशमा निर्यात हुने गरेको छ । नेपाली अलैँचीको सबैभन्दा ठुलो बजार भनेको छिमेकी मुलुक भारत नै हो । मसला तथा घरेलु औषधिको रूपमा प्रयोग गरिने अलैचीका लागि भारतमै ९९ प्रतिशत नेपाली पुग्ने गरेको बताइएको छ । अधिकांश अलैँची भारततर्फ निकासी हुने गरेकाले भारतमा उत्पादित अलैँचीले नेपाली बजारमा प्रभाव पार्ने गरेको छ । पूर्वी पहाडी जिल्लाका किसानको प्रमुख नगदे बाली अलैँची मुख्य आम्दानीको स्रोतमा मानिन्छ ।
भारत र भुटानमा अलैँचीको उत्पादन घटे पछि पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग उच्च रहेको व्यवसायीको भनाई छ । अलैँची निर्यातकर्ता ओमकृष्ण बिमलीका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारको मागलाई नेपाली अलैँची उत्पादनले धान्न सकिरहेको छैन ।
नेपालका ४३ जिल्लामा अलैँची उत्पादन हुँदै आएको र उत्पादनको दुई प्रतिशत मात्रै आन्तरिक खपत हुने गरेको अनुमान छ । नेपालमा १८ हजार हेक्टर जमिनमा अलैँची खेती हुँदै आएको भए पनि ३५ देखि ४० हजार हेक्टरमा खेती गर्न सकिने बताइएको छ ।
पूर्वी काँकडभिट्टा नाका हुँदै हुने छुर्पीको निर्यात अघिल्लो आर्थिक वर्ष २०७९÷०८० को चार महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८०÷ ०८१ को सोही अवधिमा ३ सय ५० दशमलव ४९ प्रतिशतले निर्यात बढेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीको भनाई छ ।
हिमाली तथा पहाडी जिल्लामा पशुपालनबाट उत्पादित छुर्पीको विदेश निर्यात बढेसँगै विदेशी मुद्रा आर्जनमा राज्यलाई टेवा पुगेको छ । पूर्वी नेपालमा उत्पादित छुर्पीको निर्यात बर्सेनि बढ्न थालेको छ । पछिल्लो तथ्याङ्क अनुसार विश्वका फिनल्यान्ड, फ्रान्स, अमेरिका, क्यानडालगायत १९ वटा देशमा नेपाली छुर्पी पुगेको छ ।
विदेश छुर्पी निर्यात बापत भन्सार कार्यालयले ४८ करोड ७८ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको छ । सो अवधिमा २ लाख ४३ हजार ६ सय ९३ किलो छुर्पी निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १० करोड ८२ लाख ९४ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात भएको कार्यालयसँग तथ्याङ्क छ । गत आर्थिक वर्ष साउनदेखि कात्तिक महिनासम्म ६० हजार ७ सय ६५ किलो छुर्पी विदेश निर्यात भएको थियो ।
नेपाली छुर्पीको निर्यात हुने मुख्यतः देश अमेरिका र क्यानडा रहेका छन् । अन्य देशको तुलनामा यी देशमा सबैभन्दा बढी छुर्पी निर्यात हुने गरेको भन्सार विभागले जनाएको छ । सबैभन्दा कम छुर्पी इजरायल पुग्ने गरेको छ । त्यहाँ रहेका नेपालीले कोसेलीको रूपमा लैजाने गरेको अनुमान छ । अघिल्लो आर्थिक वर्ष २०७९÷०८० को चार महिना र चालु आर्थिक वर्ष २०८०/०८१ को सोही अवधिको तुलनामा ३७ करोड ९५ लाख ६३ हजार ४ सय रुपैयाँ बराबर बढीको छुर्पी विभिन्न देशमा निर्यात भएको भन्सार अधिकृत कँडेलले जानकारी दिए ।