विराटनगर । कोशी प्रदेश सभाका सांसदहरूले  प्रदेश सभामा आएका सांसद बाहिर हाजिर गरेरै भाग्ने गरेको बताएका छन्  । कोशी प्रदेश सभाको शून्य समयमा बोल्दै सांसदहरूले प्रदेश सभा भित्र सांसदहरू नछिरी बाहिरैबाट हाजिर गरेर हिँड्ने गरेको बताए ।  सोलुखुम्बुका प्रदेश सभा सदस्य गम्बु शेर्पाले संसदीय ओज र गरिमामा समेत आँच आउने गरी सांसदहरू बाहिरैबाट हाजिर गरेर हिँड्ने गरेको सुनाए । ‘प्रदेश सांसद हाजिर गरेर बाहिरैबाट भाग्ने गरेका छन्, सभाको ओज र गरिमाको हिसाबले ठिक हैन, शेर्पाले भने, संसदीय पत्रकार मञ्चले पनि यसमा कडा निगरानी गरिदिनु पर्‍यो ।’ उनले स्थानीय तहको जनप्रतिनिधि र कर्मचारीहरुकोलागि सञ्चालन गर्ने अभिमुखीकरण गोष्ठी, सेमिनार र कार्यक्रमहरू विराटनगर र इटहरीमा मात्र हुने गरेको बताए । इटहरी र विराटनगरमा मात्र तालिम कार्यक्रमहरू सञ्चालन हुँदा विकट क्षेत्रका पालिकाका जनप्रतिनिधि र कर्मचारीहरू तालिममा सहभागी हुन नसक्ने भएकोले त्यस्ता खालका तालिमहरू सोलुखुम्बु, ओखलढुङ्गा र  खोटाङलाई नै पायक पर्ने गरी ओखलढुङ्गामा गर्न माग गरे । सबै खालका डिभिजन कार्यालयहरू ओखलढुङ्गामा रहेकोले प्रदेश सरकारले दिने तालिम पनि त्यहीँ गर्नुपर्ने बताए ।
सोलुखुम्बुकै अर्का सांसद बुद्धिकुमार राज भण्डारीले सङ्घीय सरकारले सडक निर्माणको लागि ठेक्का लगाएर बजेट नै नपठाएको बताए । ‘सोलुखुम्बु पर्यटकीय क्षेत्र हो यसलाई प्राथमिकतामा राखेर सङ्घीय सरकारले काम गर्नु पर्नेमा त्यस्तो गरेको छैन, बहुबर्षिय सडक निर्माणको काम ठेक्का लगाएको भए पनि बजेट नहाल्दा रोकिएको छ ।’ राज भण्डारीले हिमाल र पहाडलाई हेरेर प्रदेश सरकारका तालिम गोष्ठी सञ्चालन गरिनु पर्नेमा जोड दिए । कर्मचारीको सजिलोका लागि मात्र  इटहरी र विराटनगरमा तालिम हुने गरेको बताए ।  
झापाका प्रदेश सांसद तिलचन पाठकले  प्रदेश सरकारले क्षमता भएका व्यक्तिलाई समेत चिन्न नसकेको बताए ।  आदर्श माविको कक्षा १० मा बढ्ने सविन  बास्कोटा अहिलेको नयाँ वैज्ञानिकको रूपमा उदाई रहँदा पनि सरकारले उनलाई प्रोत्साहन गर्न नसकेको सुनाए । घरको सम्पत्ति बेचेर उनले विभिन्न आौजारहरु बनाउँदै गरेको यस्ता क्षमता भएका प्रतिभाशाली विद्यार्थी जन्मिएको अवस्थामा यस्ता व्यक्तिलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउन सरकारलाई आगह गरे ।  उनले कोशी प्रदेश सभामा मुख्यमन्त्रीलाई चिन्न नै गाह्रो हुन थालेको बताए । 
अर्का प्रदेश सांसद मिना श्रेष्ठले झापामा निर्माण पुरा भएको प्रादेशिक आयुर्वेदिक अस्पताल अस्तव्यस्त अवस्थामा रहेको बताइन्  । २५ करोडको लागतमा भव्य संरचना निर्माण भएको छ, तर सञ्चालनको अवस्था कहालीलाग्दो देखियो, उनले भनिन्,  ५० शय्याको यो अस्पताल क्लिनिकको जस्तो छ, सामान्य एकसरे मेसिन नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ।’  बिमा कार्यक्रम समेत सञ्चालनमा नभएको, अस्थायी करार र ज्यालादारी गरी १९ जना कर्मचारी रहेको भए पनि एउटा कुर्सी समेत नभएको उनले प्रदेश सभामा जानकारी गराइन् । 

‘अस्पतालले निःशुल्क उपलब्ध गराउनु पर्ने औषधी पनि नभएको  पाइयो, ठुलो रकम खर्च गरेर निर्माण भएको अस्पताल  किन प्रयोग विहीन अवस्थामा पुर्‍याएको हो, उनले भनिन्, यो प्रादेशिक आयुर्वेदिक अस्पतालमा सरकारको किन ध्यान पुग्न सकेन ?’ अस्पताल विकास समिति र अस्पताल प्रशासनले समेत प्रादेशिक आयुर्वेदिक अस्पतालको बारेमा ध्यान दिन नसकेको उनको भनाई छ ।