इटहरी । प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगितामा अप्सरी बेगमले ह्याट्रिक गरे पनि कोशी प्रदेश उपविजेतामै सिमित भएको छ । 
आज भएको फाईनल खेलमा कोशीलाई ११ रनले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० कपको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा जम्मा १०३ रन मै सिमित रह्यो ।  कोशीकी कप्तान रुविना क्षेत्रीले सर्वाधिक ६२ रन बनाईन । यस्तै काजल श्रेष्ठले २२, अप्सरी बेगमले ८, लकिता राजवंशीले ६ र सवनम राईले अविजित २ रन बनाए । 
एपीएफका लागि सीता राना मगर र करुणा भण्डारीले १÷१ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ११४ रन बनाउँदै कोशीलाई जितका लागि ११५ रनको टारगेट दिएको थियो । 
खेलमा एपीएफकी इन्दु बर्माले सर्वाधिक ५३, ज्योति पाण्डेले २७, रोमा थापाले १४ रन बनाए । सरिता मगर ९ र करुणा भण्डारी २ रनमा अविजित रहे ।
बलिङ तर्फ कोशीका लागि अप्सरी बेगमले प्रतियोगिताकै पहिलो ह्याट्रिक विकेट लिइन् । अलिसा खडियाले २ विकेट लिइन् । रुविना क्षेत्री र निशा शाहले १÷१ विकेट लिए ।

कोशीले पहिलो क्वालिफायर्समा एपीएफसँग ५२ रनले पराजित हुँदै दोस्रो एलिमिनेटरमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । यसै प्रतियोगितामा कोशी तेस्रो पटक एपीएफसँग नै पराजित भएको हो ।