विराटनगर । विराटनगर महानगरपालिका नेपालकै ठुलो सहर हो । कोशी प्रदेशको राजधानी रहेको सहर भएकोले पनि यसको छुट्टै महत्त्व रहेको छ । यो नेपालकै ठुलो औद्योगिक, व्यवसायी, शैक्षिक र स्वास्थ्य केन्द्रित सहर हो । यो नगरमा मात्र हैन आसपासका क्षेत्रमा ठुलो सङ्ख्यामा कलकारखाना, उद्योग, व्यवसायसँगै विराटनगर एक पारवहन र वाणिज्यको केन्द्रीकृत सहर हो । भारत तथा तेस्रो मुलुकबाट आयात निर्यात हुने सामान यही सहर भएर नेपालका विभिन्न मागमा पुग्छन् ।
(स्थानीयले बिरोध गरेर धान रोप्दै गरेको पुरानो अस्तब्यस्त बसपार्क)
यही औद्योगिक, व्यवसायी र राजनीतिक रूपमा मिलेर बनेको सहर विराटनगरको बिचमा अवस्थित छ, विराटनगर टर्मिनल बसपार्क । विराटनगर महानगरपालिका वडा नम्बर ११ मा अवस्थित बसपार्क कुनै समय अस्तव्यस्त बसपार्कको रूपमा चिनिने गरेकोमा अहिले यसले मुहार नै फेरेको यातायात व्यवसायी यादव घिमिरेको भनाई छ।
प्रमुख औद्योगिक सहर, पूर्वी नेपालमा सबैभन्दा बढी सवारी चाप हुने विराटनगरमा बसपार्कको हालत हेर्ने हो भने सिङ्गै सहरको इज्जतमा हिलो छ्याप्ने खालको थियो ।
(स्थानीयले बिरोध गरेर धान रोप्दै गरेको पुरानो फोेटो)
व्यवस्थित बसपार्क अभावमा सवारीका साधना व्यवस्थापनमा लामो समयदेखि समस्या हुँदै आयो ।उपमहानगरपालिका हुँदा विराटनगर १५ मा रहेको हालको बसपार्क हिउँद याममा धुलाम्य र वर्षा याममा हिलाम्य हुँदा यातायात व्यवसायीले विरोध नै गर्नु पर्ने अवस्था आयो । यातायात व्यवसायी, यातायात मजदुर, बसपार्क टोल विकास संस्था सहित स्थानीयले विरोध गरेर बसपार्कमा धान समेत रोपेर विरोध गरेको सम्झन्छन् विराटनगर बसपार्कका यातायात मजदुर भिम अधिकारी । उनी त्यो बेला निक्कै अप्ठ्यारो गरी अहिलेको अवस्थामा आएको बताउँछन् ।
काठमाडौँ, पोखरा, नेपालगन्ज, धनगढी, महेन्द्रनगरदेखि पूर्वी पहाडी जिल्ला इलाम, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा लगायतका जिल्लाबाट दैनिक रूपमा सार्वजनिक सवारी साधनहरू यही टर्मिनल बसपार्क भएर भित्रने र बाहिरिने गर्छन् । पछिल्लो समय विकासको गतिसँगै करिब ७ वर्ष अगाडी विराटनगर बसपार्कलाई व्यवस्थित बनाउनु पर्छ भन्ने धारणाको विकास भयो ।
अढाई दशक अगाडि निर्माण भएको यो बसपार्क स्तरोन्नति गर्न विराटनगर महानगरपालिका र नगर विकास कोषसँगको साझेदारीमा बसपार्क निर्माणको कामले गति लिएको सुनौलो पूर्व नेपाल यातायात प्रा.लि.का उपाध्यक्ष उत्तम चौलागाईले बताए । निर्माण सुरु भएको झन्डै दुई वर्ष पछि विराटनगर बस पार्कले पूर्णता पाएको थियो ।
२०७३ फागुनमा नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले शिलान्यास गरेर सुरु भएको विराटनगर बसपार्कको काम २०७५ कात्तिकमा निर्माण सम्पन्न भएको थियो । कोशी प्रदेशका पहिलो मुख्यमन्त्री शेर धन राईले बसपार्कको उद्घाटन गरेका थिए । निर्माण सम्पन्न भएपछि यसको हस्तान्तरण र व्यवस्थापनको चुनौती महानगरपालिकामा देखियो । विराटनगर महानगरपालिका आफैँले गर्ने की कुनै समिति मार्फत सञ्चालन गर्ने भन्ने छलफल पछि विराटनगर बस पार्क व्यवस्थापन समितिले बसपार्क सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिइएको विराटनगर महानगरपालिकाका तत्कालीन मेयर भिम पराजुलीले बताए ।
नगर विकास कोषको ८ करोड ४७ लाख ऋण सहयोगमा महानगरपालिकाले बसपार्क निमार्णको काम सुरु गरेको थियो । १ बिगाहा १२ कट्ठा क्षेत्रमा निर्माण गरिएको बसपार्कमा साना ठुला गरी ६० वटासम्म बस राख्न सकिन्छ । व्यवस्थापन समितिले बसपार्कलाई नेपालकै नमुना टर्मिनल बसपार्कको रूपमा विकास गरेको छ । टर्मिनल भवनको भुईँ तलामा काउन्टरहरू राखिएको छ, पहिलो तल्लामा रेस्टुरेन्ट, लगेज रुम र प्रशासन कक्षको व्यवस्था गरिएको छ। व्यवस्थित टिकट काउन्टर, सपिङ सेन्टर, यात्रुहरूका लागि प्रतिक्षालय, ब्यागेजहरु राख्ने स्थानको व्यवस्थाले बसपार्क व्यवस्थित छ भनेर चिनाउने प्रयास भएको छ। बस टर्मिनलको भुईतल्लामा आउट र इन डोर छन् । सुरक्षाको लागि सिसी क्यामेरा, प्रहरी बिट तथा ट्राफिक बिटको व्यवस्थाले यात्रुले सुरक्षित महसुस गरेका छन् ।
बसपार्क व्यवस्थापन समितिले बसपार्कको सुरक्षा र बसहरूको ब्यवस्थापनको लागि सुरक्षा गार्ड, सुरक्षाका लागि बसपार्क भ्यु टावर बनाइएको छ, त्यसमा विश्वकर्मा बाबाको मन्दिर समेत बनाइएको छ । यात्रुको जानकारीका लागि गन्तव्य पहिचान बोर्ड, व्यवस्थित सफा शौचालय, हरियाली तथा फूलबारीले कुनै बगैँचामा गएको महसुस हुन्छ ।
यात्रु सचेतना अभियान, सरसफाइ अभियान लगायतका गतिविधि, निरन्तरको माइकिङले यात्रुलाई सचेत बनाउने मात्र हैन, सवारीको व्यवस्थापन सहित मजदुरलाई अनुशासित राखेको छ । बसपार्क व्यवस्थापन समितिले यस बसपार्कलाई सफा राख्नका लागि निरन्तर अभियानहरू सञ्चालन गर्दै आएको छ ।
गाडी धुनको लागि डिपबोरिङ मार्फत एकै पटकमा ५ वटासम्म बसहरू धुन सकिने गरि व्यवस्था मिलाइएपछि बस सरसफाइको काममा सजिलो भएको यातायात मजदुर माइकल थापाले बताए । बसपार्कमा बस मर्मत गर्न निस्किएका फोहोर व्यवस्थापनको काम पनि अहिले यातायात मेकानिकले नै गर्नु पर्ने यातायात मेकानिक कृष्णबहादुर मगरले बताए ।
विराटनगर बसपार्कबाट दैनिक करिब ३५० को हाराहारीमा सवारी साधनको आवागमन हुने गरेको छ । लामो दुरीमा चल्ने सार्वजनिक सवारी साधन करिब ५० को सङ्ख्यामा रहेका छन् भने छोटा दुरीका सवारी साधन करिब तीन सय बढी चल्ने गरेका छन् ।
विराटनगरको नयाँ टर्मिनल बसपार्क ५ वर्षका लागी पब्लिक प्राइभेट पार्टनरसिपमा सम्झौता भएर सञ्चालनमा आएको छ । विराटनगर महानगरपालिका र बसपार्क व्यवस्थापन समितिको साझेदारीमा ५ वर्षका लागी ( पी.पी.पी ) मोडेलमा काम सुरु भएको थियो । २०७५ माघ १६ गते उद्घाटन भएको बसपार्क चैत १ गतेदेखि समितिले आफ्नो स्वामित्वमा काम सुरु भएको थियो । करिब डेढ महिना जति विराटनगर महानगरपालिका आफैले सञ्चालन गरेपछि पब्लिक प्राइभेट पार्टनरसिप कोलागि प्रस्ताव अघि बढेको थियो । बसपार्क टोल विकास संस्थाको अगुवाइमा बस व्यवसायी, मजदुर सङ्घ, सङ्गठनका प्रतिनिधि तथा वडाका जनप्रतिनिधिको संयुक्त साझेदारीमा अहिले बसपार्क सञ्चालनमा रहेको बसपार्क व्यवस्थापन समितिका अध्यक्ष पदम श्रेष्ठले बताए । यसको संस्थागत व्यवस्थापनको काम बसपार्क व्यवस्थापन समिति आफैँले गर्दै आएको उनको भनाई छ।
अहिले बसपार्क नेपालकै नमुना टर्मिनल बसपार्कको रूपमा स्थापित भएको छ। नेपालकै नमुना बसपार्क बनाएको भन्दै नगर विकास कोषले विराटनगर महानगरपालिकालाई पुरस्कृत तथा सम्मानित गरिसकेको छ । विराटनगर बसपार्क अहिले नमुना मात्र हैन देशकै व्यवस्थित बसपार्कको रूपमा विकास भएको दाबी विराटनगर महानगरपालिकाको छ । विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले विराटनगरको विकासको एउटा नमुना बसपार्कले दिएको बताइन् । घरबाट समेत लगानी गरेर बसपार्कलाई यहाँसम्म ल्याएको देखिन्छ, उनले भनिन्, बसपार्क व्यवस्थापन समितिको नेतृत्वको अग्रसरता र अरूको सहयोगले बसपार्क साँच्चीकै व्यवस्थित भएको छ।
देशमा सङ्घीयता कार्यान्वयन हुन भन्दा पहिला बनेको योजना अनुसार अहिलेको विराटनगर टर्मिनल बसपार्क निर्माण भएर यो अवस्थामा आई पुगेको वडा नम्बर ११ का अध्यक्ष तिर्थेन्द्र न्यौपाने बताउँछन् । सङ्घीयतासँगै विराटनगर प्रदेशको राजधानी भएको छ, गतिविधिहरू बढ्दै जाँदा विराटनगरमा सार्वजनिक सवारीको चाप बढ्दै गएको छन् । विकासको गतिसँगै विराटनगरमा ५ वर्ष अघि निर्माण पुरा भएको बसपार्क अब साँघुरो भयो भन्न थालिएको समितिका अध्यक्ष श्रेष्ठको भनाई छ ।
त्यही साँघुरोका बिचमा बसपार्कलाई सुन्दर बनाउन जति काम भएका छन् व्यवस्थित र सौन्दर्यीकरणमा अझै धेरै काम गर्न सकिने समितिको ठम्याई छ । यसको दिगो ब्यवस्थापनकोलागि स्थानीय तह विराटनगर महानगरपालिका सहित, प्रदेश र सङ्घीय सरकारले ध्यान दिनु पर्ने अवस्था छ ।
ठेक्का प्रक्रियाबाट भन्दा पनि समुदायको साझेदारीमा काम गर्न सकियो भने सहज व्यवस्थापन हुन सकिने रहेछ भन्ने उदाहरण विराटनगर बसपार्क व्यवस्थापन समितिले दिएको छ।