इटहरी । आगोले पोलेका बिरामीहरूको उपचार गराउनका लागि भनेर प्रदेश सरकारले डीपीआर नै सम्पन्न नभएको अस्पताललाई डेढ करोड रुपैयाँ अनुदान दिने सहमति गरेको छ ।
प्रदेशमा आगोले जलेर बिरामी भएका बिरामीहरूको उपचार गराउन भन्दै कोशी प्रदेश सरकारले इटहरी मोडल अस्पताललाई डेढ करोड रुपैयाँ अनुदान दिने सहमति गरेको हो ।
सो रकम दिने बारेमा माघ ३ गते नै प्रदेश सरकारले सहमति पत्रमा हस्ताक्षर गरिसकेको छ। डेढ करोड अनुदान दिने सहमति पत्रमा माघ ३ गते बुधवार हस्ताक्षर भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की इन्ट्रेसमा कुनै पूर्वाधार नभएको अस्पताललाई अनुदान दिइएको हो ।
सो अस्पताल जनस्वास्थ्य सरोकार ट्रस्ट(फेक्ट)ले सञ्चालन गर्ने बताइएको छ । ट्रस्टले कीर्तिपुरको बर्न अस्पताल सञ्चालन गर्दै आएको छ । यस्तै सो संस्थाले काठमाडौँ मोडल अस्पताल समेत सञ्चालन गर्दै आएको छ ।
कीर्तिपुरमा जस्तै इटहरीमा पनि बर्न अस्पताल सञ्चालन गर्ने भनेको अस्पतालको अहिले सम्म डीपीआर नै पास भइसकेको छैन । वातावरणीय प्रभाव मूल्याङ्कन रिर्पोेट र माटोको परीक्षण मात्रै सम्पन्न गरेको अस्पताललाई प्रदेश सरकारले बिरामीको उपचारका लागि भनेर अनुदान दिएको हो ।
इटहरी उप महानगरपालिका वडा नम्बर १८ मा बन्ने भनिएको अस्पतालको भवन निर्माणको प्रक्रिया सुरु नभएको इटहरी उप महानगर पालिकाले जनाएको छ ।
ट्रस्टले पटक पटक उक्त अस्पताल निर्माणका लागि प्रदेश सरकारसँग आर्थिक सहयोग माग्दै आएको थियो । तर अरू सरकारले अनुदान नदिएपछि निर्माणको प्रक्रिया सुरु गर्न सकेको थिएन । मुख्यमन्त्री कार्की नेतृत्वमा सरकार गठन भए लगत्तै उनले आफ्नै पहलमा जलन अस्पताल निर्माणका लागि बजेट विनियोजन गरेर प्रक्रिया सुरु गरेका हुन् ।
प्रदेश सरकारले ट्रस्टसँग सम्झौता गरेर तीन महिनाभित्र उक्त अस्पताल निर्माण सुरु गर्न १ करोड ५० लाख बजेट दिन सम्झौता गरेको छ ।
४० करोड लागतमा निर्माण हुने उक्त अस्पतालका लागि आवश्यक थप बजेट दिने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका छन् ।
२०६६ सालमै इटहरीमा ५० सैयाको बर्न अस्पताल र ओठ तालु फाटेका बिरामीहरूको उपचारका लागि विशेषज्ञ सेवा दिने भन्दै कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सो अस्पतालको कम्पाउन्ड वालको शिलान्यास गरेका थिए ।
कम्पाउन्ड वालको शिलान्यास भएकै बेला इटहरीका विभिन्न सामाजिक सङ्घ संस्था राजनीतिक दलका नेताहरूसँग पटक पटक भएको छलफलमा तत्कालै अस्पताल निर्माणको काम सुरु गर्ने बताइएको थियो ।
निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको सङ्गठन प्याब्सनका तत्कालीन सुनसरी अध्यक्ष जगदिसप्रसाद ओलीले अस्पताल सुरु गरिहाल्ने भनिएको भए पनि अहिले सम्म अस्पताल सञ्चालनमा आउन नसकेको बताए ।
सामाजिक सङ्घ संस्थाका हिसाबले इटहरीमा अस्पताल बन्ने भएपछि आफूmले पनि सहयोग गरेको ओलीले सम्झिए । उनले भने,‘के कारणले अस्पतालको भवन निर्माणको काम समेत हुन सकेन मलाई थाहा भएन । अहिले फेरी अस्पताल सञ्चालन गर्ने भन्ने सुन्दै छु । अस्पताल चाँडै सुरु होस् ।’
६६ सालमा अस्पताल बनाउने भन्दै विभिन्न राजनीतिक दलहरूसँग समेत अस्पताल सञ्चालकहरूले छलफल गरेका थिए ।
वाताबरणी प्रभाव मूल्याङ्कन रिपोट विनै शिलान्यास
६६ सालमै अस्पताल बनाउने भनेर कम्पाउन्ड वालको शिलान्यास गरे पनि अस्पताल सञ्चालनका लागि पुरा गर्नु पर्ने मापदण्डका विषयमा भने ट्रस्टले काम गरेन ।
प्रदेश सरकार बनेपछि भने तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७४ साल फागुन १६ गते सो अस्पतालको शिलान्यास गरेका थिए । तर शिलान्यास भएको ६ वर्ष बित्दा समेत अस्पतालको विस्तृत अध्ययन प्रतिवेदन बन्न सकेको छैन । भवन निर्माणको कुरा त परै जाओस् प्रदेश सरकारले अनुदान दिने फाइनल भएपछि माटोको परीक्षण सम्पन्न गरेको छ ।
स्थानीय पूजा घिमिरेले अस्पताल बनाउने भनेर केही दिन अघि स्थानीयसँग छलफल गरेको बताइन् । उनले भनिन्,‘अस्पताल बनाउने भनेर आउने जाने भइरहेको छ । तर अस्पताल बन्छ भनेर घर बनाएको बर्षौ भयो अस्पताल बनेन । ’अस्पतालको नाममा रहेको जग्गामा अहिले स्थानीय छतरु चौधरीले रेखदेख गर्दै आएका छन् ।
इटहरी उप महानगर पालिकाका तत्कालीन मेयर द्धवारीकलाल चौधरीले अस्पताल बनाउने भन्दै सहयोगका लागि आएको बताए ।
उनले सम्झिए,‘सहयोग चाहियो भन्दै आउनु भएको थियो । मैले सकेको सहयोग गर्छु भनेको थिए । शिलान्यास भएपछि उहाँहरू सम्पर्कमा आउनु भएन ।’
के उद्देश्यले शिलान्यास गर्नु भयो ? त्यसपछि किन काम रोकियो यस बारेमा मलाई जानकारी छैन । उनले भने, ‘अहिले प्रदेश सरकारले अनुदान दिने भन्ने सुन्दै छु । अनुदानकै पैसाले भवन बनाउने जस्तो देख्दै छु ।’
जग्गाको भाउ बढाउन चलखेल !
मधेस आन्दोलनपछि इटहरीमा जग्गाको कारोबार उच्च थियो । माओवादीको सशस्त्र आन्दोलनका कारण समस्यामा परेकाहरूका लागि पनि इटहरी सुरक्षित स्थल बनेको थियो । इटहरीमा बसोबास गर्न चाहनेको सङ्ख्या बढेसँगै इटहरीमा ६३ सालपछि जग्गाको कारोबार उच्च थियो ।
तत्कालीन पकली गाविस वडा नम्बर ५ मा विराटनगरका स्व.डागेन्द्र आचार्यले इँटा भट्टा सञ्चालन गर्थे । माटो सकिएर बालुवा आउन थालेपछि उनले जग्गा बेच्ने योजना बनाए ।
सो योजनामा साथ दिन आइपुगे महेन्द्र सिटौला, शालिग्राम दाहाल कृष्ण प्रसाईँहरू । महेन्द्र सिटौला सहितको समूहले जग्गा किन्ने भएपछि डागेन्द्र पनि पार्टनरको रूपमा मिसिए । सोही बेला महेन्द्र सिटौलासँग अस्पताल बनाउँछौ भन्दै आइपुगे अस्पताल सञ्चालकहरू ।
सिटौलाले भने,‘उहाँहरूले गज्जबको योजना सुनाएपछि हामीले १० कट्ठा अनुदानमा दियौ । उहाँहरूले २ विगाह जग्गा ६८ लाखमा किन्नु भयो । हामीले १० कट्ठा जग्गा उहाँहरूलाई अनुदानमा दियौ । ’
जग्गा दिएपछि अस्पतालले पूर्व पश्चिम सडक खण्डको पकली स्थित भवानी टोलमा इटहरी मोडल अस्पतालको बोर्ड समेत ६६ सालमै राख्यो । बोर्ड राख्नु भन्दा अगाडि सम्म कट्ठाको ७ देखि ८ लाख रुपैयाँमा किनबेच हुँदै थियो । स्थानीयका अनुसार बोर्ड राखेपछि भने धुरै ६० हजारमा बिक्री हुन थाल्यो ।
इनरुवाबाट बसाई सरेर आएकी पूजा घिमिरेले आफूले धुरको ८५ हजारका दरले जग्गा किनेको बताइन् । उनले भनिन् अस्पताल बन्ने भएपछि जग्गा किनेर घर बनाए । तर अहिले सम्म अस्पताल बनेन । जग्गा बिकाउन अस्पताल बनाउने भनिएको रहेछ ।
हामी चाँडै काम सुरु गर्छौ ट्रष्ट
इटहरी मोडल अस्पताल सञ्चालन गर्ने जन स्वास्थ्य सरोकार ट्रस्टका कैलाश खाकी श्रेष्ठले समयमै अस्पताल निर्माणको काम थाल्ने बताए । उनी ६६ सालदेखि नै अस्पताल सञ्चालनको प्रक्रियाको काम हेर्ने विराटनगर स्थित कर्मचारी हुन् ।
उनले विभिन्न कारणले समयमा अस्पताल निर्माणको काम सुरु हुन नसकेको स्वीकार गरे । उनले भने, ‘हामी गैर नाफा मूखी संस्था हौ । हामीसँग जलनमा काम गर्ने जनशक्ति र औजार उपकरण छन् अव हामी चाँडै अस्पतालको काम अगाडि बढाउँछौ । ’
केही दिनमै अस्पतालको विस्तृत अध्ययन प्रतिवेदन तयार हुन्छ । भवन निर्माणको लागि इजाजत लिने प्रक्रिया थाल्छौ । खाकीले भने, हामीमा कुनै समस्या छैन । प्रदेशमा जलनको उपचार गर्न र बिरामी बचाउन नै आउन खोजेका हौ । उनले ५ वर्ष भित्रमा अस्पताल सञ्चालन भइसक्ने बताए ।