विराटनगर । विराटनगर महानगर क्षेत्रभित्र लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना मार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै लग्ने कामको थालनी भएको छ । महानगर क्षेत्रका १८० जना लैङ्गिक हिंसा प्रभावितलाई कोष मार्फत  सेवा प्रदान गरिएको विराटनगर महानगरपालिकाले जनाएको छ। 
विराटनगर महानगरपालिकाको लागत साझेदारी, युएनएफपीएको सहयोगमा आइपास नेपाल र भिएसओको साझेदारीमा महानगर क्षेत्रभित्र विगत ३ वर्षदेखि परियोजना सञ्चालित छ ।  
सन् २०२३ मा कोशी अस्पताल अन्तर्गतको एकद्वारा सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिएका ४३१ जना लैङ्गिक हिंसा प्रभावितमध्ये १८० जना (४२ प्रतिशत) महानगर क्षेत्रभित्रका रहेको आइपासका प्रदेश संयोजक सरोज भुसालले जानकारी दिए । अन्य विराटनगर आसपासका पालिकाबाट आएका लैङ्गिक हिंसा प्रभावितले सेवा लिएको पाइएको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा शुक्रबार परियोजनाअन्तर्गत सन् २०२३ को रोकथाम र प्रतिकार्यतर्फको वार्षिक प्रगति र सन् २०२४ को जुनसम्मको कार्य योजना प्रस्तुत गरिएको थियो । स्थानीय परियोजना सल्लाहकार समितिको बैठकमा कार्य योजना प्रस्तुत गरिएको हो । 
प्रतिवेदनअनुसार रोकथाम तर्फ ८६ जोडी तथा नजिकका परिवारजनलाई सहभागी गराई परिवार संवाद गरिएको जनाइएको छ । परिवार संवादमा ५८२ जनाको सहभागिता रहेको थियो । सहभागीहरूबाट लैङ्गिक हिंसा रोकथाम, सामाजिक मूल्यमान्यता, हिंसाको असर तथा प्रभावबारे जानकारी प्राप्त भई उनीहरूको सम्बन्धमा सकारात्मक सुधार तथा परिवारमा घरेलु हिंसा न्यूनीकरण भएको भिएसओका लैङ्गिक विशेषज्ञ सुनिलकुमार साहले बताए । कार्यक्रममा भिएसओ र कोकनका तर्फबाट कृष्ण राईले रोकथामतर्फको प्रगतिका बारेमा प्रतिवेदन प्रस्तुत गरे ।  विराटनगर महानगरको १, ६, १२, १४ र १५ वडामा विगत ३ वर्षदेखि परियोजना सञ्चालन भइरहेको महानगरको महिला तथा बालबालिका शाखाकी प्रमुख मञ्जु लोहनीले जानकारी दिईन् । कार्यक्रममा मेयर नागेश कोइरालाले महानगरका अन्य वडामा पनि सेवा विस्तार गर्न सरोकारवाला संस्थालाई आग्रह गर्नुभयो । परियोजना सञ्चालनमा आएपछि लैङ्गिक विभेदमा आधारित हिंसा निकै कमी आएको उपमेयर शिल्पा निराला कार्कीले बताइन्  ।  प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले परियोजनालाई अझै वृहत रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।