विराटनगर । माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धकै बलमा मुलुकमा लोकतन्त्र र गणतन्त्र स्थापना भएको दावी गरिन्छ । शान्ति सम्झौतापछि माओवादी पटक पटक सरकारमा पुग्यो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले पनि मुलुकको प्रधानमन्त्री छन् । तर, उनलाई सरकारको नेतृत्वमा र मुलुकको बागडोर सम्हाल्ने तहसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाहरू भने अनेक सङ्कट भोगिरहेका छन् । माओवादीले सरकारको नेतृत्व गरिरहँदा त्यही पार्टीका पूर्वलडाकुले भने आफ्नो उपचारमा आर्थिक अभावको सामना गर्नु परिरहेको छ ।  
प्रभावकारी उपचार नपाएर उनीहरू छटपटाइरहेका छन् । माओवादी युद्धमा होमिएर जेलनेल, आक्रमण तथा यातना भोग्दै मुलुकको व्यवस्था परिवर्तनका लागि लडेका पूर्वलडाकुहरू यति बेला विभिन्न अभाव र सङ्कटको सामना गरिरहेका छन् । 
तीमध्ये एक हुन्, माओवादीका पूर्वलडाकु सङ्खुवासभाको पाँचखपन नगरपालिका–२ श्याबुनका ४५ वर्षीय टेकनाथ जनप्रेमी दाहाल । उनी अहिले अस्पतालको शय्यामा रोग, अभाव र सङ्कटसँग जुधिरहेका छन् । आर्थिक अभावकै कारण समस्याग्रस्त र तनावपूर्ण अवस्था उत्पन्न हुँदा उनले प्रभावकारी उपचार पाउन सकेका छैनन् । भूमिगत भएर माओवादी सशस्त्र युद्धमा होमिएका उनी उपचारका क्रममा खर्चको अभाव झेलिरहेका छन् । 
टेकनाथ जनप्रेमीलाई उपचारका लागि माघ २६ गते विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । दमका बिरामी उनलाई ६ दिनसम्म आइसियुमा राखियो । अवस्था सामान्य बन्दै गएपछि फोक्सो वार्डमा सारियो । अहिले फोक्सो वार्डको बेड नम्बर ३० मा छन् । उपचार जारी छ । तर, स्वास्थ्य अवस्था थप बिग्रँदै गएको छ । 
‘म बाँच्छु कि बाँच्दिनभन्दा पनि तत्काललाई उपचार गराउने पैसा भएन,’ टेकनाथले भने, ‘अस्पतालमा कति दिन बस्नुपर्ने हो टुङ्गो छैन ।’ परिवारको आम्दानीको स्रोत नहुँदा अभाव र सङ्कटसँगै रोगले पनि शिथिल बनाएर लगेको गुनासो उनी गर्छन् । परिवारले आफन्तसँग  ऋण गरेर उनलाई उपचारका लागि विराटनगर ल्याएका थिए । ऋण गरेर ल्याएको पैसा पनि सकिएपछि समस्या भएको उनले सुनाए । 
उपचारका लागि लिएको ऋण कसरी तिर्ने होला भन्ने चिन्ता भइरहेका बेला थप उपचारका लागि रकम अभाव भएको हो । ‘उपचार खर्च कति लाग्ने हो भन्ने टुङ्गो छैन । ५ लाख रूपैयाँ जतिको बिल भइसक्यो,’ टेकनाथ भन्छन्, ‘ऋण सापटी नै भए पनि अहिलेसम्म त आफन्तहरूले दिएका थिए । अब आफन्तले पनि सहयोग गर्न सक्ने अवस्था छैन ।’ 
उनका अनुसार उपचार र औषधि उधारोमा चलिरहेको छ । ल्याबमा परीक्षण गरेको ७० हजार रुपैयाँ मात्रै तिरेको टेकनाथ बताउँछन् । उनकी पत्नी पार्वता थापा ‘कल्पना’ पनि माओवादीकी पूर्वलडाकु हुन् । पत्नी पार्वतासँगै जेठान बलबहादुर थापामा टेकनाथको उपचारमा संलग्न छन् ।  
‘म बिरामी छु । काम गर्न सक्दिन । श्रीमतीले सामान्य खेती किसानी र बस्तुभाउ गरेर परिवारको सङ्कट टार्थिन्,’ उनले भने, ‘पारिवारिक अवस्था निक्कै तनावपूर्ण छ । त्यहाँमाथि रोगले कमजोर बनाउँदै लग्यो । म थलिएपछि झन् बिजोग भएको छ ।’ ज्वाइँ टेकनाथको उपचारमा खर्चको अभाव भएको र ऋण गरेर ल्याएको पैसा सकिसकेको बलबहादुरले सुनाए । 
‘थप उपचार उधारोमा हुँदैछ । अस्पतालले पैसा जम्मा गर्नु भनिरहेको छ,’ उनले भने, ‘तर, रकम बुझाउन सकिएको छैन । ५ लाखभन्दा बढीको बिल उठिसकेकाले कसरी तिर्ने होला भन्ने तनाव छ ।’ ज्वाइँको उपचारमा पार्टी र सरकारले बेवास्ता गरेको गुनासो बलबहादुरको छ । उनका अनुसार बहिनी–ज्वाइँलाई घर व्यवहार र जीविका चलाउनै मुस्किल भइरहेका बेला थप सङ्कट आइपरेको हो । ‘माओवादीमै लागेका कारण ज्वाइँको स्वास्थ्यमा समस्या भएको हो,’ उनी भन्छन्, ‘तर, पार्टी र सरकारले वास्तै गर्दैन ।’ 
टेकनाथकी पत्नी पार्वता पनि सहयोद्धा पतिको सहज उपचार गराउन नसकेर पीडामा छन् । पार्टी र सरकारले सहयोग नगरेको तथा व्यक्तिगत हिसाबबाट मात्रै सहयोगको आश्वासन आएको उनले बताइन् । उनले आफू र पति नै माओवादीको जनमुक्ति सेनामा आबद्ध भएर युद्ध लड्दै पार्टीलाई योगदान दिएको बताइन् । 
‘हाम्रो आर्थिक अवस्थाले उपचार खर्च धान्न सक्दैन । भएको रकम सबै सकियो । आफन्तसँग ऋण गरेर ल्याएको पनि बाँकी छैन,’ पार्वता भन्छिन्, ‘थप उपचारमा समस्या भयो । अझै कति खर्च थपिँदै जाने हो भन्ने थाहा छैन । आईसीयू हुँदै नर्मल बेडमा उपचाररत श्रीमानलाई अस्पतालले डिस्चार्ज दिएपछि कसरी बाहिर निकाल्ने भन्ने चिन्ताले पिरोलेको छ ।’ आफूहरुजस्ताको साथ पाएर युद्धमा लडेको पार्टीले सरकारको नेतृत्व गर्दा पनि विगतमा दिएको योगदानलाई बिर्सिनु एकदमै पीडादायी रहेको उनको गुनासो छ । 
पार्वताका अनुसार घरमा वृद्ध सासू ससुरा छन् । ‘सासू बिरामी हुनुहुन्छ । ससुरा पनि केही गर्न सक्नु हुन्न,’ उनले भनिन् । खर्च धान्न नसक्दा छोरीहरूलाई माइतीले र छोरालाई फुपूले राखेर पढाइरहेको पार्वता बताउँछिन् । पार्टीले राज्यसँग लड्दा हतियार बोकेर युद्धमा होमिए पनि अहिले समस्यामा पर्दा बेवास्ता गरिरहेको गुनासो उनको छ । युद्धमा दिएको योगदानलाई अवमूल्यन गरिएको र कैयौं पूर्वलडाकु तथा कार्यकर्ता समस्यामा परेको पार्वता बताउँछिन् । 
कोशी प्रदेशका सामाजिक विकास मन्त्री एवं माओवादी नेता राजेन्द्र कार्की टेकनाथलाई भेट्न नोबेल अस्पतालमा पुगेका थिए । उनले टेकनाथको उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 
उपचाररत टेकनाथले पनि मन्त्री कार्की र माओवादीका केही कार्यकर्ताबाहेक आफूलाई भेट्न अस्पतालमा अरु कोही नआएको गुनासो पोखे । कार्कीले भने स्वयं अस्पताल आएर सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए । पार्टीले आफूजस्ता धेरैले दिएको योगदानलाई बिर्सिएको गुनासो टेकनाथको छ । 
सङ्खुवासभाको खाँदबारी नगरपालिकाका पूर्व मेयर एवं एमाले नेता मुरारी खतिवडाले दाहालको उपचारमा समस्या भइरहेको बताए । उपचारमा सहयोग गर्न उनले सबैलाई आग्रह गरेका छन् । पूर्व मेयर खतिवडाले दाहालको उपचारमा सहयोग गर्न सबैमा आह्वान गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत बैंक खाता नम्बर सार्वजनिक गरेका छन् । ‘उहाँ (दाहाल)ले माओवादीलाई लामो समयदेखि योगदान दिनु भयो । पछि पार्टी एउटै हुँदा नेकपामा आबद्ध भएर भूमिका खेल्नु भयो,’ उनले भने, ‘अहिले उपचार खर्च अभाव भएको छ । सहयोग गरिदिनु हुन सबैमा अनुरोध गर्छु ।’ 

खतिवडाले गरिब र विपन्नको उपचारलाई राज्यले जतिसक्दो चाँडो सहज बनाउनुपर्ने पनि बताए ।