विराटनगर । कोसी प्रदेशमा  पहिलो पटक राष्ट्रिय डोरी तान प्रतियोगिता हुने भएको छ । नेपाल डोरी तान सङ्घ र कोसी प्रदेश डोरी तान सङ्घको आयोजनामा राष्ट्रिय डोरी तान प्रतियोगिता हुन लागेको हो । कोसी प्रदेश डोरी तान सङ्घले शनिवार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारेमा जानकारी गराएको हो । कोसी प्रदेश डोरी तान सङ्घकी अध्यक्ष रिता न्यौपानेले यही फागुन १८ र १९ गते राष्ट्रिय डोरी तान प्रतियोगिता सुरु हुने जानकारी गराइन् ।   
विराटनगरको  महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन कोसी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्रकुमार कार्कीले गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको  थियो । नेपालको पुरानो खेल भए पनि लामो समयदेखि ओझेलमा परेको डोरी तान खेललाई प्रवर्द्धन र विकास गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको दाबी छ ।  
प्रतियोगितामा सात प्रदेशका ७ वटा टिम तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाकाको विभागीय टोली सहित १० टिमले प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष न्यौपानेले जानकारी दिइन् । प्रतियोगितामा विजेता टोलीलाई नगद १ लाख र उपविजेता टोलीले ५० हजार प्राप्त गर्नेछन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङको उपस्थितिमा  समापन कार्यक्रममा  विजेतालाई नगद सहित मेडल, सिल्ड र प्रमाणपत्र प्रदान गरिने उनको  भनाई छ । 
doritan

२०६४ सालमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको डोरी तान सङ्घले यो बिचमा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरू समेत जितिसकेको आयोजकको दाबी छ । आयोजक नेपाल डोरी तान सङ्घका उपाध्यक्ष सुवास पोखरेलले  सङ्घले दोस्रो पटक राष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागेको जानकारी दिए । उनका अनुसार, गत वर्ष राष्ट्रिय प्रतियोगिता काठमाडौँमा भएको थियो । प्रतियोगिताको माध्यमाबाट यो खेललाई प्रवर्द्धन गर्दै देश भरी नै पुर्‍याउने गरी अहिले सङ्घले काम गरिरहेको बताए।  अहिले ४४ जिल्लामा सङ्घ बनेर  गतिविधिहरू भइरहेको पोखरेलको भनाई छ।   प्रतियोगिता सम्पन्न गर्नको लागि करिब १९ लाख लाग्ने अनुमान आयोजकको छ।