विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालय स्तरदेखि नै बालबालिका र महिला बेचबिखनविरुद्ध अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्  । माइती नेपाल मोरङले महानगरपालिकामा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सामाजिक सञ्जालको बढ्दो प्रयोग, बेरोजगारी समस्या, देखासिकी लगायतका कारणले बालबालिका र महिला बेचबिखनमा पर्ने गरेको बताए । 
विद्यालय स्तरदेखि नै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सकिए बेचबिखनलाई न्यूनीकरण गर्न सकिने उनको दाबी छ ।  हप्ताको एक दिन सबै विद्यालय र कलेजमा बेचबिखनविरुद्धको अभियान सञ्चालन गर्न सके अहिले देखिँदै आएको समस्या न्यूनीकरण गर्न सकिने उनको भनाई छ ।  त्यसका लागि प्याब्सन, एन–प्याब्सन, हिसान लगायत जति पनि सङ्घसंस्थाहरू छन् उनीहरूसित चाँडै नै छलफल गरेर अभियान सञ्चालन  गर्ने बताए ।  माइती नेपालसित महानगरपालिका सहकार्य गरेर कार्य गर्न तत्पर रहेको समेत सुनाए ।
कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण बालबालिका र महिलाको बेचबिखन बढ्दै गएको बताइन् ।  मानव बेचबिखनको जोखिममा बढी बालबालिका भएका कारण अभिभावकहरू पनि चनाखो हुनु जरुरी रहेको कार्कीको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले बेचबिखनमा संलग्नलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिइन् । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साह, मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की, राष्ट्रिय अनुसन्धान मोरङ प्रमुख तिलक प्रसाईँ, एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा पन्त लगायतले बेरोजगारी समस्या र देखासिकीले बालबालिका र महिलाहरू चाँडै गलत व्यक्तिहरूको प्रलोभनमा पर्ने गरेको बताए  । 
माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले विराटनगरस्थित रानी नाकाबाट १७४ जना बालबालिका र महिलाको उद्धार गरेको जानकारी गराए ।  २०२३ मार्चदेखि २०२४ को फ्रेबुअरी सम्म माइती नेपालले ४२ जना बालिकासहित १७४ जनाको उद्धार गरेको पोखरेलको भनाई छ। 
पोखरेलले एक वर्षको अवधिमा १८ वर्षभन्दा मुनि उमेर समूहका ४२ र १८ वर्षभन्दा माथिका १३२ जनाको उद्धार गरी अभिभावकको जिम्मा लगाएको जानकारी दिए ।  उनीहरू रोजगारी र साथी भेट्न जान लागेको बहानामा रानी सीमा नाका पुगेका थिए । उद्धार गरिएका मध्ये मोरङका ५४ जना रहेको पोखरेलले बताए ।  त्यसमध्ये विराटनगर महानगरपालिकाभित्रका ११ जना बालिकाको उद्धार गरिएको उनको भनाइ थियो । 

माइती नेपालकी  गीताञ्जली शर्माले सामाजिक सञ्जालको प्रयोगमार्फत दलालहरुले बालबालिका र महिलासम्म पहुँच विस्तार गर्ने गरेको सुनाइन् । दलालहरूले राम्रो जागिर दिने प्रलोभन देखाएर बालबालिका र महिलालाई भारत पु¥याउने गरेको उनको भनाई छ ।