विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको उपाधि साबिक उप विजेता सरस्वती स्कुलले जितेको छ । विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा आइतबार भएको फाइनल खेलमा सरस्वती स्कुलले आदर्श वालिका स्कुललाई ७२ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो । नेपाल क्रिकेट फाउन्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा भएको प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १६ ओभरमा ६ विकेट गुमाई १ सय ४३ रनको योगफल बनाएको छ । सरस्वतीकी प्लेयर अफ द फाइनल  प्रेरणा पासवानले  ७२ रनको योगदान दिँदा कृतिसा धामीले १७ रनको योगदान दिइन् । आदर्श वालिकाकी कञ्चन राय, सीमा राय र सिम्रिक राजवंशीले समान १–१ विकेट लिइन् ।
१ सय ४४ रनको विशाल लक्ष्य पछ्याएको आदर्श वालिकाले १५ दशमलव २ बलमा  सबै विकेट गुमाई ६९ रनमा सीमित भयो । वालिकाका कुनै पनि ब्याटरले दोहोरो अङ्कलाई छुन सकेनन्  । सरस्वतीकी कृतिसा धामीले ४ विकेट लिँदा पूर्णिमा राजवंशी  र अञ्जली मण्डलले १–१ विकेट लिइन् । प्रतियोगितामा प्लेयर अफ द सिरिज सरस्वतीकी कृतिसा धामी घोषित हुँदा उत्कृष्ट ब्याटर आदर्श वालिकाकी शकुन्तला सहनी र उत्कृष्ट बलरमा सरस्वतीकी चाँदनी यादव घोषित भइन् ।
विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि विराटनगर महानगर पालिकाकी उप–मेयर शिल्पा निराला कार्कीले  पुरस्कार तथा ट्रफि वितरण गरे ।
प्रतियोगितामा विराटनगरका सामुदायिक स्कुल आदर्श, आदर्श वालिका, महेन्द्र, सरस्वती, सत्यनारायण र मिल्स स्कुलका महिला खेलाडीहरूले भाग लिएका थिए