झापा। केपी ओली रोड रेस प्रतियोगिता यो वर्ष झापामा सम्पन्न भएको छ। नेपाल खेलकुद महासङ्घ कोसी प्रदेशको आयोजनामा भएको प्रतियोगितामा १५ किलोमिटर दौड  गरिएको थियो । 
बिर्तामोडको चारपानेदेखि सुखानी सहिद पार्कसम्म आयोजना भएको  केपी ओली रोड रेसमा  प्रथम, द्वितीय र तृतीयलाई नगद पुरस्कार वितरण गरिएको खेलकुद महासङ्घका अध्यक्ष परशुराम बस्नेतले जानकारी दिए । पुरुष तर्फ प्रथम दिनेशकुमार यादव, द्वितीय सन्दीप बस्नेत र  पवन कार्की भए । त्यस्तै महिला तर्फ राममाया बुढा, पुष्पा भण्डारी र फुलमती राना क्रमशः प्रथम द्वितीय र तृतीय भए । प्रथमलाई ५१ हजार, द्वितीयलाई ३१ हजार र तृतीय पुरस्कार पुरस्कार २१ हजार प्रदान गरिएको उनले बताए ।    खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष खेलकुद महासङ्घले केपी ओली रोड रेस आयोजना  गर्दै आएको बस्नेतले बताए । पहिलो रोड रेस विराटनगरमा गरेको महासङ्घले दोस्रो संस्करण सहिदहरूको सम्झनामा झापाको बिर्तामोडदेखि सुखानीसम्म गरेको हो । 
puraskar
सुखानीका सहिदको सम्झनामा यो वर्षको प्रतियोगिता त्यस क्षेत्रमा केन्द्रित गरिएको खेलकुद महासङ्घले जनाएको छ। कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष  युवराज ज्ञवाली, एमाले सचिव योगेश भट्टराई, नेकपा एमाले स्थायी कमिटी सदस्य तथा खेलकुद महासङ्घका इन्चार्ज कर्णबहादुर थापा लगायतको उपस्थितिमा विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरी, इलाम अध्यक्ष  महेश बस्नेत लगायत एमालेका नेता, कार्यकर्ताहरूको सहभागिता रहेको नेपाल खेलकुद महासङ्घ कोसी प्रदेशका अध्यक्ष राजकुमार थापाले जानकारी दिए ।