विराटनगर । कोशी प्रदेश सरकारले खेलकुद विकास बोर्डको उपाध्यक्षमा पूर्व प्रदेश सभा सदस्य  बिन्दिया कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। शुक्रवार विहान बसेको मन्त्री परिषद्को बैठकले  कार्कीलाई  उपाध्यक्षमा  र सदस्यमा मदन खड्का र गौरीमान राईलाई नियुक्त गर्ने निर्णय भएको स्वास्थ्य मन्त्री प्रदीप सुनुवारले जानकारी दिए । परिवार भित्र कै सदस्यलाई बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो । यस अघि बोर्डको उपाध्यक्षमा जीनाजंग कार्कीलाई नियुक्त गरिएको थियो ।  मुख्यमन्त्री केदार कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा  प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त भएकी जीना अमेरिकाबाट नफर्किएपछि  उनको कार्यकाल नसकिँदै बिन्दियालाई नियुक्त गरेका हुन् । 
त्यस्तै मन्त्री परिषद्को शुक्रवारको बैठकले नै प्रदेशका प्रत्येक जिल्लाका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको छ ।  १४ वटै जिल्लाका १÷१ जना उत्कृष्ट महिला उद्यमीलाई पुरस्कृत गर्ने निर्णय भएको  मन्त्री सुनुवारले बताए । यस्तै, प्रदेश सरकारले २०८१ सालमा ५ दिन सार्वजनिक बिदा दिने मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको उनले बताएका हुन् ।

बैठकले प्रदेश सभाका २ जना सदस्यलाई कूटनीतिक राहदानीका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।  आर्थिक मामिला तथा योजना मन्त्रालयको वित्तीय समानीकरण अनुदान निर्धारण गरी बाँडफाँड गर्ने, बेरुजु न्यूनीकरण तथा फर्छ्यौटसम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा विकास साझेदार पोर्टल ‘डिपि पोर्टल’ प्रयोगमा ल्याउने निर्णय भएको मन्त्री सुनुवारले बताए ।