सुनसरी ।  सुनसरीको धरानमा भएको हत्यामा प्रेममा देखिएको विवाद रहेको पाइएको छ। धरान उप–महानगरपालिका– १६ की २१ बर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्ने क्रममा प्रेमको विषयलाई लिएर हत्याको अवस्थामा पुगेको जनाएको छ। 
गत चैत ७ गते धरानको वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुल बिच रहेको खोल्सामा पहिचान नखुलेको महिला मृत अवस्थामा फेला परेको थियो ।  जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, प्रदेश प्रहरी कार्यालय धरानबाट गएको प्रहरी टोली र वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक डाक्टर  सहितको टोली घटनास्थलमा खटिगई घटना सम्बन्धमा प्रारम्भिक अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा उक्त शव धरान उप–महानगरपालिका– १६ की २१ बर्षीया सुमना श्रेष्ठको रहेको खुल्न आएको थियो । मृतकको पहिचान खुलेपछि प्रहरीले थप अनुसन्धान थालेको थियो । 

घटनाको प्रकृति हेर्दा मृतक सुमना श्रेष्ठको हत्या भएको देखिए पछि प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान थालेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।  प्रहरीले गहिरो अनुसन्धान पश्चात् हत्यामा संलग्न धरान उप–महानगरपालिका– १७ का १९ वर्षीय सविन भन्ने बाबुराम भुजेललाई पक्राउ गरेको हो । मृतक श्रेष्ठ र भुजेल बिच करिब २ वर्ष देखि फेसबुक मार्फत प्रेम सम्बन्ध रहेको र बिस्तारै सम्बन्धमा खटपट हुँदै गए पछि चैत्र ६ गते भुजेल मृतक श्रेष्ठलाई भेट्न धरान आएको प्रहरीले जनाएको छ ।  भेटघाट गरी आफ्नै स्कुटरमा श्रेष्ठलाई राखी स्कुटर चलाउन सिकाउँदै जाने क्रममा उनीहरूको बिच फेसबुक प्रयोगको विषयमा विवाद भएपछि भुजेलले श्रेष्ठको खुकुरीले घाटी रेटी हत्या पश्चात् खोल्सामा फाली भागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । श्रेष्ठको हत्या गरी फरार रहेका भुजेललाई धनकुटा नगरपालिका– ९ मुलघाटबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।  घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।