सुनसरी - विभागीय टिम त्रिभुवन आर्मी क्लब १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कपको फाइनल प्रवेश गरेको छ । इटहरी रङ्गशालामा बुधवार राती सम्पन्न पहिलो सेमिफाइनल खेलमा साबिक विजेता सगरमाथा क्लब मोरङमाथि पेनाल्टी सुट आउटमा २-१ गोलको जीत हात पार्दै आर्मी उपाधि नजिक पुगेको हो । निर्धारित समयमा दुवै टिमले गोल रहित बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुट आउटमा धकेलिएको थियो ।
आर्मीको जिताउन गोलकिपर बिकेश कुथुले सगरमाथाको ३ वटा प्रहारलाई बिफल तुल्याए । उनले विजय भुजेल, स्टेफन समीर बिनोङ र प्रिसोको प्रहार रोकेका थिए । दिवाकर चौधरीको प्रहार भने गोलमा परिणत भएको थियो । विमल घर्ती मगरको प्रहार आकासिएको थियो । आर्मीका फत्तेमान घले र रिपु भुलानले गोल गरे । नवयुग श्रेष्ठको प्रहार बारमा लागेर बाहिरिएको थियो । जीतेन्द्र कार्कीको प्रहार सगरमाथाका गोलकिपर प्रिसोले रोके ।
बुधवारको खेलको म्यान अफद म्याच गोलकिपर कुथु घोषित हुँदै नगद १० हजार पाए । बिहीबारको अन्तिम सेमिफाइनल खेल गत वर्षको उपबिजेता चर्च ब्वाईज युनाइटेड काठमाडौँ र आयोजक राष्ट्रिय जागृति क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
आयोजक पाहुना टोली कञ्चनजंगा फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो भने चर्च ब्वाइजले न्यु रोड टिम एनआरटीलाई पराजित गर्दै आयोजकसँगको सेमिफाइनल भिडन्त पक्का गरेको थियो ।
शनिवार हुने फाइनल खेलको विजेताले नगद १० लाख रुपैयाँ हात पार्नेछ । उपबिजेताले ५ लाख रुपैयाँमा चित्त बुझाउनुपर्नेछ ।
तस्बीर - गुरु ढकाल, सञ्चारपाटी