सुनसरी । सुनसरीमा जारी झडप पछि जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु जारी गरेको छ। सुनसरीको हरि नगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका वडा नम्बर १ र ७ मा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको केही घण्टा नबित्दै कर्फ्यु लगाएको हो ।  स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम आज साँझ ५ बजेदेखि लागु हुने गरि अर्को सूचना जारी हुँदासम्मलाई प्रशासनले कर्फ्यु लगाएको हो ।   कायममुकायम प्रमुख जिल्ला अधिकारी बेदराज फुयलले जारी गरेको कर्फ्यु आदेशमा  अत्यावश्यक काममा सुरक्षा निकायको समन्वयमा बाहेक आबत जावत गर्न, भेला हुन, सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा र्‍याली भेला तथा प्रदर्शन कुनै पनि कार्य नगर्न नगराउन भनिएको छ । इनरुवा नगरपालिका क्षेत्र, हरि नगर गाउँपालिका क्षेत्र, देवानगंज गाउँपालिका क्षेत्र, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यु जारी गरेको हो ।  
हरि नगरको भुटाह बजार बिहानैबाट तनावग्रस्त बनेको छ । शुक्रवार मध्यान्न १२ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि भन्दै जारी गरिएको निषेधाज्ञा साँझदेखि क्षेत्र बढाएर कर्फ्यु लगाएको हो ।  आदेश विपरीत गतिविधि गरे  स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही हुने प्रशासनले जनाएको छ। 
karfyu
बिहीबार एसइई परीक्षाको क्रममा हरि नगर गाउँपालिका वडा नम्बर १ मा रहेको बालकृष्ण माविमा भएको कुटपिट पछि दुई समुदायका बिचमा तनाव बढेको थियो । दुवै समूहका स्थानीयहरू झडपमा उत्रिएपछि शुक्रवार बिहानैबाट अवस्था तनावग्रत भएको हो । 
बिहीबार साँझ स्थानीय जीवन मेहतामाथि कुटपिट भएको थियो । कुटपिट पछि दुवै समूहका बिचमा झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।   प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ ।  प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारी घाइते भएको स्थानीय सञ्चारकर्मी जुगेश बाबुले जानकारी दिए ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुडा प्रहार गरेपछि प्रहरीले गोली चलाएको हो ।   सो क्रममा १६ जना प्रहरी र ७ जना प्रदर्शनकारी घाइते भएको जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ओम भटराइले जानकारी दिए ।