विराटनगर । एसईई  परीक्षा सकिएको दिन, फलामे ढोका भनेर मेरो मानसपटलमा हजुरआमा र अरू क-कसले हो मेरो दिमागमा  हाली दिएका थिए, खुवै मेहनत गरेर रात दिनको तयारी गरेँ, परीक्षा पनि राम्रै भयो ।आज त टाउकोबाट एक मनको भारी बिसाए जस्तै छ । फ्री भएको महसुस भई रहेको थियो, हजुरआमाको स्वास्थ्य परीक्षण गर्न  विराटनगरकै नाम चलेको अस्पताल जाने कुरा सुनेर बाबासँग मलाइ पनि जान मन लागेको कुरा सुनाएँ ।बाबाले दिएको स्वीकारले उत्साहित हुँदै हतार हतार कपडा लगाएर पछि लागेँ ।

लामो समयको स्कुले जीवन, कहीँ कतै जान नपाइने पढाइ छुट्ने चिन्ता, आज हलुङ्गो मन लिएर पुगेँ अस्पताल, जहाँ मेरो बाबाकोपनि सपना डुलिरहेको छ,छोराले डाक्टर पढेर बिरामीको सेवा गरेर नेपाल नै बसेको हेर्ने।अझ हजुरआमाको त नातिलाई डाक्टर बनाएर आफ्नो उपचार नातिबाट गराउने कम्ता रहर छ र !

उपचारमा जाँदा विभिन्न किसिमको चेक जाँच गर्नुपर्ने भएकोले होला, हामी चिया समेत नखाई बिहान आठ बजे नै घरबाट निस्केका थियौँ । घर वाट मात्र १५ मिनेटकै दुरीमा  अस्पताल भएकोले होला चेक पछि मात्र खाना खाने सल्लाह थियो हाम्रो ।

भर्खरै हिजो मात्र छाडेको विद्यालयको सभा कै झल्को आउने गरी अस्पतालमा करिब १५० जना जति मानिस उभिरहेका थिए। बाबालाई सोधेपछि थाहा भयो,ओपीडी पुर्जा काट्ने आठ / दश वटा लाइनमा बिरामी घण्टौँ देखि उभिएका रहेछन् ।पुर्जा काट्न कति पैसा पर्छ मैले बाबालाई सोधेँ। नि:शुल्क हो बाबु, बाबाले भन्नु भयो।अनलाईन पुर्जा काट्ने व्यवस्था मिलाउन सकिँदैन र ? मैले जिज्ञासु हुँदै सोधेँ। किनकि मेरो भविष्यको रोजाइ पनि आईटी इन्जिनियरिङ  भएको हुँदा यत्रो अस्पतालले बिरामीहरूलाई स-शरीर उपस्थित गराइ घण्टौँ लाइनमा उभ्याएको देख्दा  मन नै मानेन।

मलाइ अझ उदेक त त्यति वेला लाग्यो करिब ४५ मिनेट लाइनमा उभिएपछि पुर्जा हात पर्‍यो।सानो तिनो युद्ध जिते जतिकै महसुस गरी सिधै डाक्टर भेट्न कार्डियोलोजी विभाग तिर लाग्यौँ  । डाक्टरको नेम प्लेट झुन्ड्याइएको कोठा छेउमा बसेकी महिलालाई पुर्जा थमाएँ । जवाफ आयो ३० जना पछाडि हुनुहुन्छ, करिब एक डेढ घण्टा पछि आउनु।  हरे ! त्यति लामो समय कसरी बिताउने हो, चिन्ता लिँदै थिएँ, मनमा एक पटक अन्यत्र पनि घुम्ने इच्छा जागेर आयो ।बाबा र हजुरआमालाई त्यही छोडेर फिजिसियन भए तिर गएँ । माछा बजारको भिड वा सो सरहकै हुलबाट बल्ल अगाडि बढेँ । डाक्टरको कोठामा पस्न दिन आग्रह गरे टाढैबाट हेर्न मात्र पाइने भन्दै महिलाले सुटुक्क भित्र पस्न दिइन् । मनमनै धन्यवाद दिँदै कुनामा उभिएर हेरेँ।  बिरामीले बोल्न र समस्या बताउन नपाउँदै खै के कुन्नि लेख्नमा व्यस्त देखिन्थे, मानौँ उनीहरू भगवान् हुन वा जादुगर हेर्ने बित्तिकै  सबै समस्या बुझी हाल्छन् । अर्को अचम्मको कुरा त डाक्टरको कुर्सी छेउमा बसेका अर्का एक जना पनि बिरामीको पुर्जा हेर्दै बिरामीहरूलाई सोध्दै हतार हतार लेख्न व्यस्त देखिन्थे । पुर्जामा चेक गर्न भए भरकै टेस्ट लेखिदिएका रहेछन्। मलाइ अबोध बिरामीमाथि खेलबाड गरेको देख्दा मन नै बेचैन भयो । पहिलो पटक सेवा प्रदायक निकायमा पुगी  सरकारको उपस्थिति देख्दा अनेकौँ प्रश्न मेरा मनमा उब्जिए तर सबै प्रश्न अनुत्तरित नै रहे।

करिब एक घण्टा समय बिताएर पुनः हजुरआमा भएका ठाउँमा पुगेँ । पालोआउन अझ अत्तो  पत्तो छैन,  न त बस्ने ठाउँ छ । अस्पतालको अस्तव्यस्त  व्यवस्थापन देखेर छक्क पर्दै मैले सामाजिक किताबमा पढेको सम्झिएँ। ज्येष्ठ नागरिक, असक्तलाई पहिलो प्राथमिकता दिनुपर्छ भनेको त स्कुलमा पढ्न र परीक्षामा उत्तर लेख्नका लागि मात्र पो हो कि जस्तो लाग्यो।

समय हेरेँ (भरखरै परीक्षामा समय हेर्न चाहिन्छ भनेर नया घडी किनेको ) १२ बज्न लागेको थियो  भित्रबाट बोलावट भयो हामी तीन जना नै एकैपल्ट भित्र पस्यौ। हेर्दा म भन्दा पाँच सात वर्ष मात्र सिनियर देखिने   एकजना डाक्टर देखिए । । तर छेउको अर्को कुर्चीमा बसेका व्यक्तिले पुर्जा आफूतिर तानेर के भएर आउनु भएको भनी प्रश्न गरे। मलाइ डाक्टर बाहेक समस्या सुनाउन मन थिएन तर आमाले समस्या सुनाउनु भो । समस्या थियो एक साता देखि दुवै खुट्टा सुन्निएका। ति डाक्टर हुन कि सिक्न आएका सिकारु हुन हामीले स्कुलमा श्रुति लेखन लेख्दा सरले भनेको सुनेर लेखेजस्तै फटाफट लेख्न थाले र भने यसमा लेखिएको चेक गरी रिपोर्ट लिएर आउनु । पुर्जा पाएपछि अनुमान लगाएँ, ती पनि डाक्टर नै रहेछन् ।  मात्र एघार वटा टेस्ट लेखिदिए  तर नाम नभएका बेनामे डाक्टर किनकि उनले लेखेको ठाउँमा त सामुन्ने बसेकै डाक्टरको पो छाप लगाए ।

पुर्जा पाएपछि विल कटाउन जानु पर्ने र फेरि लाइनमा बसेर करिब १५ मिनेटमा पालो आयो, रु १३ हजार बुझाउनु पर्ने भयो । पैसा बुझाई विल लिएर रगतको नमुना दिएर इसिजि र इको गराइयो। त्यसपछि  यूयसजि गर्न निस्किएँ ।  विल दिएर पालो सोध्नु भो बाबाले, जवाफ आयो करिब १ घण्टा पछि पालो आउँछ। टन्न पानी पिएर आउनु। यूयसजि गर्न पिसाब लाग्नु पर्ने रहेछ । पानी पिउँदै पालो कुर्दै बस्यौँ। मैले सोधे, ' सिस्टर ७५ वर्षको बिरामीलाई पनि पालो नै कुर्नुपर्ने ?'  धेरै पटकको अनुरोध पछि २ जना पछि बोलाउने जवाफ दिइन् । मक्ख परेर बस्यौँ । अफसोस पालो आउने बेलामा भित्रबाट जवाफ आयो, 'अव लन्च ब्रेक भो  २ बजे पछि आउनु ।'

भोको पेट, बुढो शरीर उठ्न पनि नसकी मलाइ भरोसा लिएर आमा बिस्तारै उठेर भन्नुभयो, 'भो अव घर जाउँ चेकसेक गराउँदिन आफै निको हुन्छ ।' नरमाइलो मान्दै हजुरआमालाई सम्झाउँदै भनेँ, 'आमा  चेक त गराउनुपर्छ । बरु बाहिर गएर केही खाएर आउँ।]  बाहिर गएर खाजा खाएर एक घण्टा बिताएर आयौँ । आमालाई पिसाबले च्याप्यो तर डाक्टर आएनन्। बाध्य भएर पिसाब फेर्नु भो हामीलाई त पिसाब थाम्न गाह्रो हुन्छ आमाको त ७५ वर्षको शरीर। अब केही समयपछि डाक्टर त आए तर पिसाब आएन। दिक्क मान्दै फेरि पानी पिएर १ घण्टा पछि बल्ल युयसजि गराइयो ।

अव बिहानदेखिका रिपोर्ट भेला गरियो, रिपोर्ट सबै भेला गर्दा चार बजेछ  । पुनः पालो कुर्दै डाक्टरको चार बजेर  तीस मिनेट जाँदा दर्शन पाइयो र रिपोर्ट देखायौ । डाक्टरले आमाको अनुहार हेरेर मुस्कुराउँदै भन्नु भो, 'आमा तपाईँलाई केही भा छैन । एक पटक हाड जोर्नी र नसा रोग विशेषज्ञलाई देखाउनुस् है ।'  फेरि भोलि अर्को डाक्टरलाई देखाउने सल्लाह गर्दै घर फर्कँदै गर्दा मेलै बाबालाई सोधेँ, 'बाबा अव म के पढूँ?' आमाले हतास स्वरमा भन्नुभयो, “भो अव तँ डाक्टर नपढ।”

सुब्रत बराल, विराटनगर ३ , सुब्रत एसईई दिएर बसेका विद्यार्थी हुन् ।