विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरूले राजीनामा दिएको पाँच दिनपछि जिम्मेवारी तोकेका छन्  । लामो समयसम्म अन्योल सिर्जना गराएको भन्दै चौतर्फी आलोचना भएपछि कार्कीले  नेकपा माओवादीका मन्त्रीहरूले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।  सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले मन्त्रालयहरूको जिम्मेवारी तोक्न सकेका थिएनन् । 
नेकपा माओवादी केन्द्रले ३ वटा मन्त्रालयको नेतृत्व गरेको थियो ।  सामाजिक विकास मन्त्रालयमा राजेन्द्र कार्की, पर्यटन वन तथा वातावरण मन्त्रालयमा गणेश उप्रेती र सिचाई तथा ऊर्जा मन्त्रालयबाट नारायणबहादुर बुर्जा मगरले मन्त्री पदबाट राजीनामा दिएका थिए । राजीनामा दिएपछि ती मन्त्रालयको नेतृत्व कसले गरेको छ भन्ने अन्योल लामो समयदेखि मन्त्रालयका कर्मचारीहरूमा रहेको थियो । लामो समयसम्म पनि मन्त्रालयको जिम्मेवारी तोक्न नसकेको भन्दै मुख्यमन्त्री कार्कीको आलोचनाको बिच उनले जिम्मेवारी आफैँले राखेको पत्र प्रदेश प्रमुखकोमा पठाएका छन्  ।  काम गर्नै नजानेर अलमलमा परेको आरोप लाग्दै आएको मुख्यमन्त्री कार्कीले ५ दिनपछि जिम्मेवारी तोकेका हुन्  । 
सरकारबाट बाहिरिएपछि नेकपा माओवादी केन्द्र र नेकपा एमाले सहितका ५२ जना प्रदेश सभा सदस्यहरूले कोशी प्रदेशका प्रमुख परशुराम खापुङ  समक्ष विशेष अधिवेशनको माग गरेका छन् । त्यसैको आधारमा कोशी प्रदेश सभाको विशेष अधिवेशन वैशाख ६ गतेलाई बोलाइएको छ ।
437706503_957811475994304_6903054316975486778_n