विराटनगर । नेपाली काँग्रेस संसदीय दलको बैठकले संविधान र कानुनले दिएको अधिकारसम्म मात्र सरकारलाई सहयोग गर्ने नीति लिएर अघि बढ्ने भएको छ । बुधवार संसदीय दलको कार्यालयमा बसेको बैठकले  सङ्कल्प प्रस्तावलाई फेस गरेरै जाने निर्णयमा नेपाली काँग्रेस पुगेको हो । 
२१ जना प्रदेश सभा सदस्यले दलको बैठकमा सरकारको आलोचना तथा अब सरकारलाई कसरी बचाएर लग्ने भन्ने बारेमा धारणा राखेका थिए । दलको बैठकले सरकार टिकाउनको लागि पहिलो चरणमा बहुमत जुटाउने प्रयास गर्ने र प्रदेश सभामा पेश हुने सङ्कल्प प्रस्तावको सन्दर्भमा संवैधानिक र कानुनी व्यवस्थासम्म सरकारको पक्षमा उभिने निर्णय भएको नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले बताए ।  ‘सङ्कल्प प्रस्ताव दर्ता हुने भएपछि फेस गरेरै जाने निर्णय भएको छ, उनले भने, सरकार टिकाउन आवश्यक बहुमत जुटाउने बारेमा पनि सक्दो पहल गर्ने बारेमा छलफल भएको छ।’
प्रदेश सभा सदस्यहरूले आफ्नो धारणा राख्ने क्रममा सरकारको नेतृत्व गर्ने व्यक्तिले सही निर्णयहरू गर्न नसक्दा अहिलेको अवस्था आएको भन्दै मुख्यमन्त्री केदार कार्कीको आलोचना गरेका थिए । 

संवैधानिक अधिकारको प्रयोग गर्दासम्म मुख्यमन्त्री कार्कीलाई सहयोग गर्ने काँग्रेस दलको निर्णय भए पनि मुख्यमन्त्री कार्कीको भूमिका असंवैधानिक हुँदै गए उनलाई साथ दिन नहुने मत काँग्रेस भित्र बलियो देखिएको छ । मुख्यमन्त्री कार्कीले पदकोलागि असंवैधानिक कदम समेत चाल्न सक्ने संशय काँग्रेसका नेताहरूमा देखिएको श्रोतको दाबी छ ।