विराटनगर । कोशी प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदै छ । नेकपा एमाले र नेकपा माओवादी सहितका ५२ जना प्रदेश सभा सदस्यले माग गरे अनुसार कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको मिति तोकेका थिए ।  विशेष अधिवेशनमा नेकपा एमाले र नेकपा माओवादी सहितका सांसदले सङ्कल्प प्रस्ताव प्रदेश सभामा पेस गर्दै छन्  ।   मुख्यमन्त्री केदार कार्कीको सरकार अल्पमतमा रहेको देखाउने गरि सङ्कल्प प्रस्ताव प्रदेश सभामा पेस गर्ने तयारी  रहेको छ।  नेकपा एमालेका सांसद रेवती रमण भण्डारीको प्रस्तावमा नेकपा माओवादीका सांसद गणेशप्रसाद उप्रेती र एमाले सांसद  किशोरचन्द्र दुलालको समर्थनमा कोशी प्रदेश सभा सचिवालयमा पेस भएको सङ्कल्प प्रस्ताव प्रदेश सभामा पेस हुने  प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।  सकल्प प्रस्ताव प्रदेश सभा सचिवालयमा वैशाख ३ गते नै दर्ता भएको भए पनि त्यसको संशोधन सहित पुनः ५ गते दर्ता भएको छ ।  प्रदेश सभामा दर्ता भएको सङ्कल्प प्रस्ताव प्रदेश सभामा पेस हुने र त्यस बारेमा छलफल हुने कार्यसूची रहेको  प्रदेश सभा सचिवालयले जनाएको छ।