विराटनगर । नेकपा एकीकृत समाजवादी  पार्टी संसदीय दल कोशी प्रदेशका नेता राजेन्द्रकुमार राईले सङ्कल्प प्रस्तावमा आफ्नो समर्थन हुन नसक्ने बताएका छन्  । शुक्रवार प्रदेश सभाको संविधानको धारा १८३ को उपधारा ९३० बमोजिमको अधिवेशनको दोस्रो बैठकको सङ्कल्प प्रस्तावमाथिको छलफलमा सरकार हट्ने की रहने भन्ने मूल छलफलको विषय रहेकोले सरकार हट्दा पनि कानुन सङ्गत र बस्दा पनि कानुन सम्मत रूपमा  प्रक्रिया पुर्‍याएर हुनु पर्ने बताए । सरकार अल्पमतको हुन नसक्ने दाबी गरेका राईले  संविधानको धारा १६८ (५) अनुसारको सरकार अजम्मरी समेत नहुने स्पष्ट पारे । 
‘सरकार हट्ने या राख्ने कुरा कानुनी र व्यवहारिक रूपमा हुनु पर्छ, उनले भने, प्रक्रियाको कुरालाई ध्यानमा राखेर  कानुनी विषयलाई ध्यान दिइनु पर्छ ।’ ३० दिन भित्र विश्वासको मत लिनै पर्छ भनिएपछि सङ्कल्प प्रस्ताव आवश्यक नै नभएको तर्क गरे ।  एमालेको सरकार ३ पटक अल्पमतमा परेर ढलेको  स्मरण गराउँदै  दोस्रो हैसियतमा रहेको दल  नेपाली काँग्रेसले समेत बहुमत हुँदा हुँदै पनि प्रक्रियागत कुरामा समस्या हुँदा हट्नु परेको बताए ।