विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्कल्प प्रस्ताव ल्याउँदा राम्रोसँग पढी बुझी ल्याउनु पर्नेमा त्यस्तो नभएको बताए । सङ्कल्प प्रस्तावमाथि उठेको प्रश्नको जवाफ दिने क्रममा शुक्रवार  प्रदेश सभामा कार्कीले  सङ्कल्प सबैको हुने भएकोले त्यसमा बहुमत र अल्पमतको कुरा नहुने स्पष्ट पारे । ‘भोक लाग्यो, अनिकाल लाग्यो, पानी परेन, ढुङ्गामा छिनोले छेडेर धान रोप्छु भनेर फलाउँदा फल्छ की फल्दैन मैले महसुस गरेको छैन, उनले भने, मानिसले त्यस्तो गर्नु हुँदैन, गर्छ भन्ने लाग्दैन ।’ 
आफू मुख्यमन्त्री हुँदा आफूलाई दलको लेटर प्याड, दलको परिचय कुनै पनि नखोजिएको भन्दै आफू एक्लो सांसदको रूपमा मुख्यमन्त्री भएको उल्लेख गरे । एक जना मात्र व्यक्ति मुख्यमन्त्री खोजिएको अवस्थामा आफू ४७ जना सांसदको हस्ताक्षरमा मुख्यमन्त्री भएको बताए । 
१६८ (५) को व्याख्या अनुसार सिफारिस भएर नियुक्त भए पनि विश्वासको मत संविधान सम्मत लिएकोले संविधान बाहिर  कोही पनि नहुने र आफू पनि नरहेको उल्लेख गरे । संसदीय प्रक्रिया र संविधानलाई मान्ने पार्टीको सदस्य, त्यो पार्टीबाट निर्वाचित सांसद तथा संविधानले परिकल्पना गरेको मुख्यमन्त्रीले संविधान र कानुनलाई मान्दिन भन्ने अवस्था आउन नसक्ने बताए ।  ‘संविधानको धारा भन्दा बाहिर पोखरी तिर जान्न, उनले भने, आहाल बसेको पोखरीको पानी ल्याएर  सांसदमा कीटाणु नछरौँ, म त्यस्तो गर्दिन ।’  उनले सङ्कल्प प्रस्ताव फिर्ता लिन समेत प्रतिपक्षीलाई आग्रह गरे ।
मुख्यमन्त्री बन्न ठुलो जोखिम मोलेर संविधान बचाउन र संसद् बचाउ कोलागि तथा राजनीतिक रूपमा जनतामा रहेको नैराश्यता तोड्नकोलागि आएको उनको जिकिर छ ।  ‘मुर्दा बन्न जान्छु भन्ने मान्छेले जीवित चुनौती लिएको थिएँ, उनले भने, हामी नयाँ तरिका नयाँ ढङ्गले जान सकेनौँ, उही पुरानो ढङ्गले अघि बढ्दा, उत्ताउलो बन्दा सङ्घीयताका विरोधीलाई उचालेर फाइदा पुगिरहेको त छैन ?’
उनले घुमाउरो भाषामा सांसदहरू तलब र भत्ताको लागि मात्र भएको बताएका छन् । सरकारले टन्न तलब दिने अनि २ दिन घुन्नकोलागि भत्ता पनि पाउने सांसदले जनताको आवाजलाई पनि सम्बोधन गर्नु पर्ने बताए ।  

मुख्यमन्त्री कार्कीले आफूले पहिचानवादीसँग  वार्ता गरेको, बच्चालाई निःशुल्क उपचार गराएको विषयलाई आफ्नो ठुलो उपलब्धिको रूपमा प्रदेश सभामा स्थापित गर्न खोजेका थिए । ‘प्रदेशमा जसले कर तिर्‍यो उसैको पैसामा उनीहरूको बच्चालाई उपचार गराउने वातावरण प्रदेश सरकारले फिर्ता  गर्ने प्रयास गरेको छ, उनले भने, मानवीय विकासले मात्र भौतिक विकास सफल हुन्छ भनेर मानवीय विकासमा लागेका छौँ ।’