विराटनगर । कोशी प्रदेश सभामा पेस भएको सङ्कल्प प्रस्ताव पारित भएको छ।   कोशी प्रदेश सरकार अल्पमतमा रहेको भन्ने सन्देश दिन कोलागि  प्रदेश सभामा सङ्कल्प प्रस्ताव पेस गरिएको थियो । सङ्कल्प प्रस्तावमाथि भएको मत विभाजनमा सभामुख अम्बरबहादुर विष्टले  बहुमत सदस्य रहेकोले सङ्कल्प प्रस्ताव पारित भएको घोषणा गरेका थिए ।   सभामुखबाट  हुन्छ र हुन्न भन्ने मत निर्णायार्थ पेस भए पनि विपक्षी सङ्कल्प प्रस्ताव पेस गर्ने नेकपा एमाले र नेकपा माओवादी केन्द्रले  सङ्ख्या नै किटान गर्नु पर्ने प्रस्ताव राखेका थिए । एमाले र माओवादी केन्द्रले राखेको प्रस्ताव उपर  सत्ता पक्षीय दल नेपाली काँग्रेसका प्रमुख सचेतक गोपाल तामाङले निर्णायार्थ प्रस्तुत भएको विषयलाई मत विभाजन गर्नु नपर्ने बताएका थिए । लगत्तै नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले समेत सोही विषय दोहोर्‍याएका थिए । प्रदेश सभा नियमावलीमा भएको व्यवस्था भन्दै सभामुख विष्टले मत विभाजनको लागि संसद् सचिवालयलाई निर्देशन दिएका थिए । 

प्रस्तावकको माग अनुसार हुन्छ, हुन्न र तटस्थ बस्छु भन्ने सांसदहरूको मत विभाजन गर्दा हुन्छ भन्ने सांसदहरू ५२ जना भएका छन् भनेँ हुन्न भन्ने प्रस्तावमा सत्ता गठबन्धनका कोही सांसद उठेनन् । दुई पटकसम्म सभामुखले आग्रह गर्दा समेत सङ्कल्प प्रस्ताव पारित हुनुहुन्न भन्नेमा काँग्रेस सांसदहरू नउठेपछि, तटस्थ बस्छु, मत दिन्न भन्ने प्रस्तावमा उठ्न आग्रह गर्दा ३ जनाले मतमा तटस्थ  बस्छु भन्ने प्रस्तावमा उपस्थिति देखाएका छन् ।  बहुमत सदस्यले सङ्कल्प प्रस्ताव पारित गरियोस् भन्ने प्रस्तावमा मत दिएपछि सो प्रस्ताव पारित भएको घोषणा गरिएको थियो । संविधानको धारा १८३ को उपभारा (३)  अनुसार बोलाइएको अधिवेशन आजैदेखि अन्त्य भएको सभामुख विष्टले घोषणा गरेका छन्  ।