विराटनगर । सहारा एनिमल केयरसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले सडक तथा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु गरेको छ । 
विराटनगर–५ स्थित सहारा एनिमल केयरमा शनिवारदेखि पोथी कुकुरको बन्ध्याकरण सुरु गरिएको हो । विभिन्न वडाबाट सामुदायिक कुकुरलाई सो स्थानमा ल्याएर बन्ध्याकरण गरिने महानगरका मेयर नागेश कोइरालाले बताए । यसरी बन्ध्याकरण गरिएका कुकुरलाई रेबिज खोपसमेत लगाइनेछ । मेयर कोइरालाले सामुदायिक कुकुरको त्रासबाट महानगरवासीलाई मुक्त गर्ने बताए । उनले सामुदायिक कुकुरका कारण मोर्डिङ वाक, इभिनिङ वाकमा समस्या भएको गुनासो आउने गरेको सुनाए । उनले सडक तथा सामुदायिक कुकुरको सङ्ख्या वृद्धि नहोस् भनेर यसअघि पनि महानगरको अग्रसरतामा बन्ध्याकरण गरिएको उहाँको भनाइ थियो । 
वडा नम्बर ५ मा डा. रश्मि थापाको नेतृत्वमा १० कट्ठा जमिन लिजमा लिएर कुकुरका लागि अस्पताल सुरु गरिएको छ । सोही स्थानमा आगामी असार पहिलो हप्तासम्म पोथी कुकुरको बन्ध्याकरण गरिनेछ । असारसम्म करिब २ सय कुकुरको बन्ध्याकरण गरी रेबिजको खोप लगाउने लक्ष्य राखिएको महानगरको पशुपंक्षी शाखाका प्रमुख शुभ नारायण यादवले जानकारी दिए । कुकुरको बन्ध्याकरणका लागि महानगरले चालु आर्थिक वर्षका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको थियो । नियन्त्रणमा लिएको कुकुरलाई अस्पतालमा एक दिन राखेर मात्रै बन्ध्याकरण गरिनेछ । बन्ध्याकरणपछि पनि पोसिलो खानेकुरा खुवाएर दुई दिन राखिनेछ । सवारी साधनबाट जोगाउन बन्ध्याकरण गरिएका कुकुरको घाँटीमा टल्किने बेल्टसमेत बाँधिने डा. रश्मि थापाले जानकारी दिए । 
विराटनगरलाई जनावरमैत्री सहर बनाउन आफूले अभियान सञ्चालन गरेको डा. थापाले बताए । उद्घाटन समारोहमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपाने, पशुपंक्षी शाखाका प्रमुख शुभ नारायण यादव, सहारा एनिमल केयरकी प्रमुख डा. रश्मि थापालगायतले मन्तव्य  व्यक्त गरे ।