विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक सङ्घ (झी पुचः) ले विराटनगरमा दुई दिने तमुज्याँ कार्यक्रम गर्ने भएको छ।  शुक्रवार (भोली) र शनिवार (पर्सी) दुई दिने कार्यक्रममा पहिलो दिन अन्तरक्रिया तथा छलफल सहितको चौथो नेवा: महोत्सव उद्घाटन गर्ने र दोस्रो दिन पनि सोही महोत्सव हुने भएको हो । झी पुचः ले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी पहिलो दिन कोशी प्रदेश भित्रका प्राज्ञिक बुद्धिजीवी विज्ञ एवम् नेवा: सङ्घ संस्थाका प्रतिनिधिहरूको भेला गरी भाषा संस्कृतिको संरक्षण, प्रवर्द्धन र संवर्द्धनको लागि समसामयिक विषयमा छलफल  अन्तरक्रिया गरिने जानकारी गराईएको छ। सङ्घका अध्यक्ष भविश श्रेष्ठले दिउँसो १ बजेदेखि विज्ञहरूसँग अन्तरक्रिया हुने र दिउँसो ४ बजेदेखि ८ बजेसम्म नेवा: महोत्सव हुने जानकारी दिए । 
विराटनगर १० स्थित बङ्गलामुखी  मार्गमा रहको झी पुच: मार्गमा हुने कार्यक्रमलाई भव्य बनाउने गरी सबै तयारी पुरा भएको उनले जानकारी दिए ।  ‘अन्तरक्रिया पछि नेवा महोत्सव सुरु गर्ने हाम्रो योजना रहेको छ, श्रेष्ठले भने, महोत्सवमा विभिन्न नेवा: तथा अन्य जातीय परिकारका फुड स्टल, स्वदेशी हस्तकलाका स्टल, सांस्कृतिक कार्यक्रम, ,स्टेज प्रस्तुति सहितको कार्यक्रम हुने छ ।’ नेपाल भाषा तथा सांस्कृतिक सङ्घले सामूहिक गाईजात्रा, व्रतबन्ध, बेल विवाह, शंख्वधन साख्वा स्मारक तथा मार्ग निर्माण, लाखे नाच, झी पुच: जातीय सङ्ग्रहालय स्थापना सहितको सांस्कृतिक कार्य गर्दै आएको सङ्घका महासचिव सुभाष अमात्यले जानकारी दिए ।   हरेक वर्ष नेवा: नेवा महोत्सव गर्दै आएकोमा यो वर्ष चौथो  महोत्सव गर्न लागिएको उनले बताए । दुई दिने कार्यक्रमलाई सफल बनाउन आयोजकले सबैलाई आग्रह गरेको छ।