विराटनगर । इलाम क्षेत्र नम्बर २मा सार्वजनिक भएको मत परिणाम   अनुसार फाकफोकथुम गाँउपालिकको ६ वटा वडाको मत गणना सकिदा एमालेका उम्मेदवार सुहांग नेम्बांग १ हजार १ मतले अगाडि छन् । ८हजार ५९ मत गणना हुँदा नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्काले २ हजार ७८२ मत पाएका छन् । जुन काँग्रेसले गरेको अपेक्षा भन्दा कम मत हो । इलाम क्षेत्र नम्बर २ अन्तरगत पर्ने फाकफोक थुम गाउँपालिका काँग्रेसको प्रभाव क्षेत्र मानिन्छ  । सो पालिकाबाट काँग्रेसले लिड गर्ने अपेक्षा गरेको थियो ।  
२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा फाकफोकथुम गाउँपालिकाको ७ वडामध्ये ४ वटामा काँग्रेस र बाँकी ३ वटा एमालेले जितेको थियो ।
पालिकाको अध्यक्ष र उपाध्यक्ष भने एमालेले जितेको थियो । २०७९को निर्वाचनमा एमालेले यो पालिकाबाट ३२७ मतले अग्रता लिएको थियो । उप निर्वाचनमा भने ६ वटा वडा गन्दा १ हजारले मतले एमालेले अग्रता लिएको छ  । मत गणनाको रुझान चलिरहँदा अपेक्षा गरे भन्दा कम मत आएको काँग्रेसका नेताहरूले प्रतिक्रिया दिएका छन् । इलाम काँग्रेसका सचिव पूर्णप्रसाद गौतमले प्रारम्भिक नतिजा भएकाले कोही उम्मेदवार उत्साही हुन पर्ने र कोही निराश हुनु पर्न अवस्था नरहेको बताएका छन् ।  उनले भने, अहिले नै निराश भइहाल्नु पर्ने अवस्था होइन तर हामीले फाकफोकथुममा यति धेरै मतान्तर होला भन्ने अनुमान भने गरेका थिएनौ ।
उनले गठबन्धनका कारण पनि यस्तो नतिजा आएको हुन सक्ने बताए । उनले फाकफोकथुममा कम मत आए पनि चुनाव जित्ने दाबी गरे । 
काँग्रेसका अर्का एक नेताका अनुसार फाकफोक थुमबाट काँग्रेसलाई अत्यन्तै कम मत आएको बताए । उनले नेपाल प्रेससँग भने मेरो नाम कोट नगर्नु तर यो हामीले सोचे भन्दा एकदमै कम मत हो । उनले यो निर्वाचनमा काँग्रेसले लिड गर्ने अपेक्षा राखेको बताए ।  
एमाले इलामका नेता बुद्धि खनालले भने अघिल्लो निर्वाचनमा भन्दा यस पटक फाकफोकथुमबाट एमालेलाई बढी मत आएको बताए । उनले फकाफोकथुमबाट आएको नतिजाले एमाले उत्साहित भएको बताए ।उनले यो नतिजासँगै ३ हजार मतले चुनाव जित्ने दाबी गरे । 

इलामको उप निर्वाचनमा काँग्रेस भित्र आन्तरिक कलह स्पष्ट देखिएको थियो । यसको परिणाम पनि कम मत आएको हुन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि फाकफोकथुममा अपेक्षा गरे भन्दा कम मत आएको जनाएको छ । 
इलाम क्षेत्र नम्बर २ मा ४२ वटा वडा रहेका छन् । १ लाख १५ हजार ८८९ मतदाता रहेका थिए । ती मध्ये ६९ हजार २८७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।