विराटनगर ।  पहिचान पक्षधरका साझा उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाव जित्न अव गाहे हुने बताएका छन् ।  थेगिमले कोर एरियाबाट पनि लिड गर्न नसकेपछि अव चुनाव जित्न गाहे भएको बताए । उनले चुनाव जित्न नसके पनि पहिचानका पक्षमा माहौल बनेको टिप्पणी गरे । इलाम क्षेत्र नम्बर २ अन्तरगत चुलाचुली गाउँपालिका पहिचानवादीहरूको कोर एरियाको रूपमा मानिन्थ्यो । सो पालिकाको ५ वटा वडाको अन्तिम मत परिणाम आउँदा उनले ३०९५ मत पाएका छन्  ।

जबकि सोही पालिकामा एमालेले ३२६४ मत पाएको छ । एमालेका सुहांगको अहिले सम्मको मत परिणाम अनुसार ७६७७  मत छ भने थेगिमको ४०५८ मत आएको छ । सुहांग भन्दा ३६१९ को मत अन्तरले पछि परेपछि थेगिमले सोचे जस्तो नभएको प्रतिक्रिया दिए । उनले भने, धेरै नै फरक पर्‍यो । हाम्रो अपेक्षा चुलाचुलीमा धेरैले लिड गर्छौ भन्ने थियो । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको समेत मत नआएकाले पनि एमालेको मतान्तर बढी भएको बताए । उनले भने इमान्दारहरुले मत दिए चुनाव हो चुनावमा अरू कुराले पनि फरक पार्दो रहेछ । थेगिमले मांसेबुंगले मात्रै आफूलाई जित निकाल्न गाहे हुने बताए ।  

फाफोकथुनम गाउँपालिकामा पहिचान पक्षधरका साझा उम्मेदवार डकेन्द्र सिंह थेगिमले ९६३ मात्रै मत पाएका थिए । यो उनको आफ्नो पालिका समेत हो  । तर पहिचानवादीहरूले आफ्नो कोर एरियाको रूपमा ठानेको चुलाचुली गाउँपालिकामा आएपछि भने डकेन्द्रलाई दोस्रो मत आएको छ । पहिलो मत एमालेका सुहांग नेम्वांगले प्राप्त  गरे ।