विराटनगर । महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुने खेलाडीलाई एक कार्यक्रमको बिच कोसी प्रदेश खेलकुद विकास बोर्डले बिदाइ गरेको छ। मोरङको बुढिगंगा गाउँपालिका ३ मा रहेको जनप्रिय माविमा भएको कार्यक्रमबाट महिला कबड्डी खेलाडीलाई बिदाइ गरिएको हो । कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव परशुराम बस्नेतले १२ जना खेलाडी सहित अफिसियललाई बिदाइ गरेका हुन् । मधेस प्रदेशको सप्तरीमा २०८१ वैशाख २९ देखि ज्येष्ठ १ गतेसम्म महिला राष्ट्रिय कबड्डी प्रतियोगिता हुँदै छ ।
खेलकुद विकास बोर्डका सदस्य सचिव बस्नेतले प्रतियोगिता एउटा पुरस्कार र मेडल जित्ने जस्तो देखिए पनि त्यो एउटा गर्वको विषय हुने भएकोले खेलाडीलाई उत्साहित भएर प्रतियोगिता जित्न आग्रह गरे । उनले खेल एउटा खेलाडीको जीवन चलाउनेसँग पनि जोडिएकोले अब खेलाडीलाई खेलको माध्यमबाट राम्रो जीवन शैली जिउने वातावरण बनाउनु पर्नेमा जोड दिए । हरेक वर्ष हुने कबड्डी प्रतियोगिता यो वर्ष सप्तरीमा सुरु भएको हो । कार्यक्रममा भुवनेश्वर मण्डल, हरिप्रसाद भट्टराई, रोहित कोइराला लगायत एक दर्जन बढी खेलसँग सम्बद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो ।