इटहरी । इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले कार्यभार सम्हालेर काम सुरु गरेको २ वर्ष पुरा हुनै लागेको छ । 
सुरुका केही समय कर विवादमा फसेको इटहरी उपमहानगरपालिकाले पछिल्ला दिनमा गरेका कामले नगर बासीको ध्यान तान्न सफल भएको छ । यो अवधिमा उपमहानगरपालिकाले धेरै काम गर्‍यो ।
कामको लिस्ट लामै होला । तर आम सर्वसाधारण नगर बासीले उपमहानगरको कामलाई कसरी मुल्यांङकन गरेका छन्  त ?
हामीले २ बर्से कार्यकाललाई कसरी सम्झनुहुन्छ भनी नगरबासीहरुलाई सोधेका छौँ । जस मध्ये अधिकांशले मुख्य ५ काम सम्झिएको प्रतिक्रिया दिए । 
खोला पैनी सफाइ, इटहरी अस्पतालको सुधार, विद्यालय खाजा कार्यक्रम तथा शैक्षिक गुणस्तर सुधार, नागरिक सहायता कक्ष र पूर्वाधार विकासको काम नगर बासीले रुचाएका ५ काम हुन् । 
हामीले कुराकानी गरेका मध्ये धेरैले मुख्य रूपमा यी ५ कामलाई जोडेर प्रतिक्रिया दिए । दैनिक जनजीवनसँग जोडिएको र प्रत्यक्ष अनुभव गर्न पाएकाले राम्रो लागेको उनीहरूको भनाई छ । 

खोला पैनी सफाइ 

khola paini

खोला पैनी सफाइको कामलाई अधिकांश नगर बासीले राम्रो काम भनी प्रशंसा गरेका छन् । वर्षामा डुबानको पिडा भोग्दै आएका नगर बासीले खोला सफा भएपछि डुबान नहुने अपेक्षा गरेको बताए । 
अघिल्लो कार्यकालमा चर्चा मात्रै भएको तर काम नहुँदा नगर बासीले यस पटक पनि काम हुन्छ भन्ने सोचेका थिएनन् । तर उनीहरूको सोचाई विपरीत खोला सफाइ भइरहेको छ । यस कारण पनि उनीहरूको ध्यान तानिएको हो । 
इटहरी वडा नम्बर २ निवासी राधिका तिम्सिनाले खोला सफाइको काम राम्रो लागेको प्रतिक्रिया दिइन् ।
‘नयाँ मेयर आएपछि खोलानाला सफाइ देखी टेङ्ग्रा खोला सफाइ समेत भयो, बाटो सडक पनि बनेको छ । राम्रै काम भएको देखेका छौँ । ’ तिम्सिनाले भनिन्, ‘मेयर सावले स्कुल पनि सुधार गर्छु भन्नु भएको छ । त्यो पनि राम्रै लागेको छ ।’
‘खोला सफा भएपछि डुबान हुँदैन की भन्ने लागेको छ ’ उनले थपिन् । 
‘बाढी आउला भन्ने डर सधैँ हुन्छ , तर यो वर्ष खोला सफा गरेको छ । बाढी नपस्ला कि भन्ने लागेको छ । हेरौँ के हुन्छ ।’ इटहरी ४ कि विमला भट्टराईले भनिन् । 
नगरपालिकाले गरेको राम्रो काम उनलाई यही खोला पैनी सफाइ नै लागेको बताइन् ।
प्रतिक्रिया व्यक्त गर्ने अन्यले पनि यो विषयलाई भन्न छुटाएनन् । टेङ्ग्रा खोलाले दिएको दुःख सम्झिएका नगर बासीलाई यो कामले निकै खुसी बनाएको छ ।  
उपमहानगरपालिकाले भर्खरै खेती खोला पनि सफा गर्न खोलाको क्षेत्राधिकारको जग्गा खाली गर्न सूचना जारी गरेको छ । यसले पनि नगर बासीलाई हौसाएको छ । अब धेरैलाई खेती खोलाको पनि सफाइ हुने विश्वास बढेको छ । त्यहाँ पनि खोलाको जग्गामा बनाइएका घर भत्किएलान् भन्ने लागेको छ ।  

इटहरी अस्पतालको सुधार 

इटहरी वडा नम्बर ९का बद्री शर्माले अचेल नियमित रूपमा स्वास्थ्य जाँचका लागि इटहरी अस्पताल जाने गरेको बताए । पहिले बिमाको रेफर लिन मात्रै जाने उनी अहिले भने इटहरी अस्पतालमै चेकजाँच गर्ने गरेको बताए । विशेष गरी नियमित रूपमा डाक्टर भेटिने,ब्लड,सुगर,ई सिजी, एक्स रे, लगायतका चेकजाँच पनि हुन थालेपछि ठुलो समस्या आए मात्रै धरान विराटनगर जानु परेको उनले सुनाए । 
यस्तै इटहरी ९ कै श्याम घिमिरेले अस्पतालमा सुधार आएको आफूले प्रत्यक्ष अनुभव गरेको बताए ।
‘अहिले अस्पतालको सेवाको स्तर वृद्धि भएको छ । सेवा वृद्धि भएपछि अहिले मानिसहरू अस्पतालमा चेकजाँचका लागि जाने गरेको मैले अनुभव गरेको छु ।’ उनले भने । 
यी २ जनाले जस्तै अनुभव सुनाउने अन्य नगर बासीले पनि इटहरी अस्पतालमा सुधार आएको प्रत्यक्ष अनुभव गरेको प्रतिक्रिया दिए ।  
अस्पतालमा के कति सुधार आएको छ, २ अघि र पछिको अवस्था तुलना गर्दा सजिलै थाहा हुने नगर बासीको भनाई छ । 
अस्पतालमा आएको सुधारको सङ्केत त्यहाँ हुने भिडभाडले पनि गर्छ । भीड बढेपछि अझै प्रभावकारी व्यवस्थापनको माग हुन थालेको छ । 
स्वास्थ्य उपचारको सुधार प्रत्यक्ष देख्न र अनुभव गर्न पाएको र स्वास्थ्य क्षेत्रमा हुने खर्च कटौती समेत भएको नगर बासीले बताएका छन् । 
दैनिक जनजीवनसँग जोडिएको स्वास्थ्य क्षेत्रमा आएको सुधारले नगर बासीको ध्यानाकर्षण गर्न सफल भएको देखियो । 

विद्यालय खाजा कार्यक्रम, शैक्षिक गुणस्तर सुधार 

सामुदायिक विद्यालयमा सुरु भएको विद्यालय खाजा कार्यक्रमलाई पनि नगर बासी अभिभावक र विद्यार्थीले राम्रो काम भनेका छन् । उपमहानगरले गरेका काम मध्ये राम्रो काम विद्यालय खाजा कार्यक्रम रहेको प्रतिक्रिया दिएका छन् । 
सुरुवातमा केही विवादास्पद कुरा आए पनि अहिले भने प्रभावकारी रूपमा सञ्चालन भइरहेको उपमहानगरपालिकाले जनाएको छ । 
विद्यालयमा अनियमित भएका विद्यार्थीलाई नियमित बनाउन र विद्यालय जान उत्प्रेरित गर्न  विद्यालय खाजा कार्यक्रम सफल भएको सरस्वती जब्दी मा.वि की शिक्षिका प्राथना त्रितालले बताइन् । विशेष गरी विपन्न समुदायका विद्यार्थीहरूलाई धेरै राहत भएको शिक्षिका त्रितालको भनाई छ । 
यो कार्यक्रम सुरु भएपछि सामुदायिक विद्यालयमा उल्लेख्य मात्रामा विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको उनले जानकारी दिइन । 
अर्को तर्फ विद्यालयमा अङ्ग्रेजीको पठनपाठनले गर्दा बोर्डिङ स्कुलका विद्यार्थीहरू पनि सामुदायिक विद्यालयमा आकर्षित भएको उनले बताइन् । यसले सामुदायिक विद्यालयहरू पनि सुधार भएको आफूले प्रत्यक्ष अनुभव गरेको उनको भनाई छ । 
अघिल्लो शैक्षिक सत्रबाट उपमहानगरपालिका आफैले कक्षा ६ सम्म विद्यालय खाजा कार्यक्रम सुरु गरेको थियो । खाजा कार्यक्रम यो शैक्षिक सत्रबाट थप व्यवस्थित गर्ने उपमहानगरले जनाएको छ । 
विद्यार्थीहरूलाई पौष्टिक आहारा खुवाउन सामुदायिक विद्यालयमा खाजा कार्यक्रम सुरु गरिएको थियो । सामान्य चिउरा भुजा खाने विद्यार्थीहरूले अहिले सात दिन सात थरिका पौष्टिक खानेकुरा खान पाएका छन् । 
पौष्टिक खाजा खुवाउने कार्यक्रमले विद्यालयमा विद्यार्थी ड्रप आउट हुने समस्या समाधान भएको छ । विद्यार्थीहरू सबै जसो दिन विद्यालय जान थालेका छन्, भने पुरा दिन कक्षामा बसेर पढ्न थालेका छन् । 
इटहरी ६का नवराज सुवेदीले शैक्षिक क्षेत्र सुधारका लागि मेयर हेमकर्ण पौडेलले सुरु गरेको अभियानले राम्रो प्रभाव पारेको बताए । विद्यालय खाजा कार्यक्रमसँगै सामुदायिक विद्यालय सुधारका लागि सुरु गरिएका पहलले पूर्णता नपाईसके पनि निरन्तरता भए सफल हुने देखिएको उनले बताए । 
शैक्षिक क्षेत्र सुधार गर्न यो वर्ष लागु गर्ने गरी मेयर हेमकर्ण पौडेलले २७ बुँदे सङ्कल्प पत्र जारी गरेका छन् ।
निजी विद्यालयको व्यवस्थापन गर्न शुल्क निर्धारण गर्ने विषयलाई पनि नगर बासीले राम्रो काम भनी प्रतिक्रिया दिएका छन् । भर्ना शुल्क लिन नपाउने नियमलाई अभिभावकहरूले राम्रो भने छन् । 
यसै शैक्षिक सत्रबाट सबै विद्यालयमा एउटै पोसाकको निर्णयले सामुदायिक विद्यालयका विद्यार्थीहरू उत्साहित भएका छन् । 
एउटै पोसाकको विषय निजी विद्यालयले विवाद सृजना गर्दै अदालत सम्म मुद्दा परेको थियो । तर अदालतबाट पनि अन्तरिम आदेश नआएपछि उपमहानगरले लागु गर्ने बताउँदै आएको छ । यो विषयले पनि नगर बासी अभिभावक र विद्यार्थीहरूलाई आकर्षण गराएको छ । 
IMG_3042


नागरिक सहायता कक्ष र प्रशासन सुधार 

सेवा लिन पुगेका नगर बासीले पहिले कहाँ जाने अलमल हुने तर सहायता कक्ष स्थापना पछि सजिलो भएको बताएका छन् । सेवा लिन पुगेका जो कोही सेवाग्राही नागरिक सहायता कक्षमा एक पटक पुग्ने र अलमल भए सोधपुछ गरी काम गर्ने गरेका छन् ।
नागरिक सहायता कक्षमा निःशुल्क चिया कफीको विषयले नगर बासीमा राम्रै चर्चा पाएको छ ।  
उपमहानगरपालिकाको नागरिक सहायता कक्षमा भेटिएका सेवाग्राही रमेश बस्नेतले काम सकेर कालो कफी खाएर बसेको बताए ।  कर्मचारीले सजिलै काम गरिदिएको बताएका बस्नेतले काम सकेर कफी खान आएको बताए । बाहिर सुने जस्तै रहेको पाइएको उनले बताए । 
शाखा महाशाखामा कर्मचारी भेटिने,हुने भिडभाड हटेपछि सेवाग्राहीले परिवर्तनको महसुस गरेका छन् । प्रदान गरिने कतिपय सेवालाई अनलाइन बनाइएको छ । नगर बासीले घरमै बसाबसी सेवा लिन सक्ने वातावरण तयार छ ।
घर नक्सालाई अनलाइन बनाइएको छ । जसले गर्दा पहिले जस्तो फाइल बोकेर धाउनुपर्दैन । भिडभाडमा लाइन लाग्नु पर्दैन । कर तथा राजश्व तिर्न मोबाइल तथा अनलाइनबाट सजिलै तिर्न सकिने भएकाले नगर बासीले सेवामा सुधार आएको महसुस गरेका छन् । 

पूर्वाधार विकास 

पूर्वाधारको क्षेत्रमा सडक, पुल निर्माणमा पनि उपमहानगरले राम्रै काम गरेको नगर बासीले बताएका छन् । पुरानो बसपार्कलाई नयाँ आधुनिक निर्माण सुरु भएको,आकाशे पुल, आधुनिक सभा हल बन्न ठेक्का लागेको विषयलाई पनि राम्रो काम भनी उनीहरूले प्रतिक्रिया दिएका छन् । 
इटहरी चोकमा बन्ने भनिएको आकाशे पुल चाँडै समयमै पुरा भएको हेर्न चाहेको प्रतिक्रिया दिएका छन् । 
स्थानीय श्याम घिमिरे इटहरीमा अत्यन्तै आवश्यक देखिएको आकाशे पुल निर्माण गर्ने विषय आफूलाई राम्रो लागेको बताए । 
आकाशे पुल तोकिएको समयमै निर्माण सम्पन्न भए इटहरीको ट्राफिक व्यवस्थापनमा सुधार आउने घिमिरे बताए ।