विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।

हिजो बसेको प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको बैठकले आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्ने र त्यसलाई निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो । 

समितिको बैठकमा कांग्रेसले सरकारको वैधानिकताबारे सर्वोच्चमा मुद्दा विचाराधीन भएको भन्दै प्रस्ताव पर सार्न आग्रह गरेको थियो । तर बैठकले कांग्रेसको प्रस्ताव अस्वीकार गर्दै कार्यसूची तय गरेको हो । कांग्रेसको आज बस्ने संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीले राखेको प्रस्तावका विषयमा के गर्ने भन्ने निर्णय गर्नेछ ।

कार्की वैशाख २७ गते कोशीको मुख्यमन्त्री नियुक्त हुनुभएको हो । यसैबीच चार जना प्रदेशसभा सदस्य रहेको एकीकृत समाजवादीले विश्वासको मतको प्रक्रियामा सहभागी नहुने जनाएको भने ६ जना प्रदेशसभा सदस्य रहेको राप्रपाले आज संसदीय दलको बैठक बसेर निर्णय गर्ने जानकारी गराएको छ । 

एमालेका ४०, माओवादी केन्द्रका १३ र जसपाका एक जना प्रदेश सभा सदस्य रहेकाले मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने निश्चित छ । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमत पाउन ४७ सदस्यको समर्थन चाहिन्छ ।