विराटनगर ।  नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले   कोशी प्रदेश सभा  अपेक्षित रूपमा प्रभावकारी बन्न सकेको बताएका छन् । कोशी प्रदेशको पाँचौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै आङ्बोले संसद् भित्र जनताका मुद्दामा बहस र छलफल गर्नु पर्नेमा त्यस्तो हुन नसकोको स्वीकार गरे ।  ‘जनताको समस्या र गुनासाहरू प्रदेशसभामा उठ्न नसकेको धेरै भयो, उनले भने, त्यसको कारण भनेको प्रदेशमा देखिएको राजनीतिक अस्थिरता  नै हो ।’
बहुमतले सरकार चलाउने र अल्पमतले खबरदारी गर्ने परम्परा अनुसार नै   तत्कालीन मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनु पर्ने या राजीनामा दिनु पर्नेमा दुवै  नगरेकोले प्रक्रियागत रूपमा अघि बढ्दा यहाँसम्म आई पुगेको आङ्बोले बताए । 
विश्वासको मत लिने प्रक्रियामा नेपाली काँग्रेस सहभागी नभएको बारेमा आङ्बोले आज लिने विश्वासको मतले संवैधानिक बाधा व्यवधान नगर्ने  दाबी गर्दै  लोकतन्त्रको हिस्सेदारको रूपमा रहेको दलले  लोकतान्त्रिक प्रणाली र प्रक्रियालाई अस्वीकार गर्ने कुरालाई सहज रूपमा लिन नसकिने बताए ।  नेपाली कांग्रेको नाममा कोशी प्रदेश प्रमुख विरुद्ध गराइएका प्रदर्शनी, जुलुस र पुत्ला दहको उनले आलोचना गरे । 
‘प्रदेश प्रमुख विरुद्ध जुलुस निकाल्ने, पुत्ला जलाउने कुरालाई सामान्य रूपमा लिइनु हुँदैन, उनले भने,  यदि कानुनी रूपमा चित्त नबुझ्दा अदालतमा जाने संवैधानिक अधिकार हुँदा हुँदै  सडकमा पुत्ला जलाउने विषय भर्त्सना योग्य छ ।’ प्रदेश प्रमुखलाई विवादमा पार्ने, पुत्ला जलाउने कुरा सङ्घीयता विरोधी काम भएको समेत स्पष्ट गारे । 
'प्रजातन्त्रको जननी ठान्ने, संसदीय व्यवस्थाको आदर्श ठान्ने  नेपाली काँग्रेसका सांसदको मुख्यमन्त्रीले विश्वासको मत  लिनु पर्दैन ?' भन्दै आङ्बोले  प्रश्न गरे ।  सरकार कसरी बनाउने भन्ने खेलाडी सांसद नै रहेकोले प्रदेश सभा भित्रको सरकार बनाउने   विषय संविधानले नै स्पष्ट ब्याख्या गरेकोले  ति सबै कुराहरूमा सांसदहरू नै अब्बल हुने भएकोले अहिलेको सरकारको संवैधानिक र वैधताको विषय उठाउन नसकिने बताए । 
कोशी प्रदेश विकास निर्माणमा अब्बल भएको भए पनि पछिल्लो गतिविधिका कारण   पुँजीगत  खर्च हुन नसकेको तथा कर सङ्कलनको अवस्था पनि कमजोर रहेको बताए ।  कोशी प्रदेश अहिलेसम्म काम गर्ने कुरामा अब्बल रहँदै आएको भए पनि बिचमा देखिएका समस्यालाई समाधान गर्दै  आगामी दिनमा त्यो गुमेको साख जोगाउने काम काबिल मुख्यमन्त्री हिक्मत कार्कीबाट हुनेमा आफू विश्वस्त रहेको बताए ।  तत्कालीन मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पनि नलिएको र राजीनामा पनि नदिएपछि कोशी प्रदेश प्रमुख परशुराम  खापुङले  नयाँ सरकार गठनकोलागि आव्हान गरे लगत्तै कार्कीले  प्रदेश प्रमुख विरुद्ध प्रदर्शन गराएका थिए । प्रदेश प्रमुख विरुद्ध  जुलुस लगाउने, पुत्ला जलाउन लगाउने कामको नेतृत्व केदार कार्कीले गरेको आरोप लाग्दै आएको छ।