विराटनगर । संसदीय अभ्यासमा संसदीय समितिहरूलाई मिनी संसद्को रूपमा लिने गरिन्छ । कोशी प्रदेश सभामा पनि त्यस्ता समितिहरू छन् । कुनै समिति प्रभावकारी रूपमा काम गर्दै अघि बढेको छ भने कतिपय संसदीय समितिहरूको बैठक नै बस्न सकेको देखिँदैन । बैठक बसिहाले पनि प्रभावकारी बन्न नसकेको आरोप लाग्दै आएको छ। प्रदेश सभा भित्रको  अर्थ समितिले मङ्गलवार व्यवसायीसँग  सुझाव सङ्कलन सहितको कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा धरान, इटहरी, विराटनगर सहित मोरङ र सुनसरीका उद्योगी व्यवसायीलाई बोलाइएको थियो । बिहान ११ बजेदेखि सुरु हुने भनिएको संसदीय समितिको बैठक केही विलम्ब गरी सुरु भयो । कार्यक्रममा आउनु पर्ने उद्योगी व्यवसायी आउन नै ढिला गरेपछि छलफल पनि ढिलै सुरु भएको थियो । 
प्रदेश सभाको अर्थ समितिले बोलाएको बैठकमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटसँग जोडिएर छलफल गर्ने  उद्देश्य  समितिको देखिन्थ्यो । यस अघि कोशी प्रदेश सरकारका विभागीय मन्त्रालयका सचिवहरूलाई बैठक बोलाएर  नीति, कार्यक्रम र बजेटको बारेमा पूर्व तयारी छलफल समितिले गरिसकेको थियो । समितिले मङ्गलवारको व्यवसायीसँगको छलफल  यस अघिको बैठककै सिलसिलाको रूपमा बोलाएको  संसद् सचिवालयले जानकारी गराएको थियो । 
अर्थ समितिको ज्येष्ठ सदस्यको रूपमा रहेका समितिका सभापति रोहितबहादुर कार्कीले बैठक सुरु गरेपछि व्यवसायीका कुरा समितिले सुन्न थाल्यो ।  त्यही क्रममा उपस्थित धेरै व्यवसायीहरूले आफ्ना कुरा राख्दै जान थाले । आफ्ना अप्ठेराहरू समितिलाई सुनाए । आगामी बजेट नीति तथा कार्यक्रममा समेटिनु पर्ने कृषि, पर्यटन, उद्योग तथा व्यवसायलाई प्रवर्द्धन गर्ने कुरालाई सामान्यतया व्यवसायीले समस्याको रूपमा राखे । कृषि उत्पादनमा वृद्धि, आयातमा प्रतिस्थापन, करको नाममा लिइने दोहोरो तेहेरो कर हटाउनु पर्ने,  स्वास्थ्य, शिक्षालाई पर्यटनसँग जोडेर लाग्नु पर्ने, पहुँचको आधारमा अनुदान नदिई उत्पादनमा अनुदान दिनु पर्ने व्यवसायीको माग छ ।
aartha samiti
त्यही क्रममा प्रदेश सभा सदस्यले आफ्ना भनाई राख्ने र व्यवसायीहरू सँग प्रश्न गर्ने क्रम सुरु भएपछि व्यवसायीले संसदीय मर्यादाको उल्लङ्घन गरेको आरोप लागेको छ। सभापति कार्कीले समितिका सदस्य तथा प्रदेश सभा सदस्य छविलाल चुडाललाई बोल्ने समय दिए । सांसद चुडालले बोल्दै गर्दा विराटनगरका होटेल व्यवसायी  पुण्य भट्टराईले बोल्नै अवरोध गरे । बोल्दा बोल्दै गरेका सांसदलाई रोक्ने कुरालाई संसदीय मर्यादा बाहिरको विषय भएको भन्दै होटेल व्यवसायी भट्टराईको आलोचना भएको छ। संसदीय समितिहरूमा सभापतिले समय दिएपछि मात्र बोल्नु पर्ने, पालैपालो बोल्नु पर्ने र तोकिएको समय सीमा भित्र बोलिसक्नु पर्ने भए पनि कतिपय कुराहरू व्यवसायीले नबुझेको संसद् सचिवालयले जनाएको छ ।  व्यवसायीले ऋण ठुलो मात्रामा लिने र त्यो अन्यत्र लगानी गर्दा पनि अहिलेको अवस्था आएको प्रदेश सभा सदस्य चुडालको भनाइमा होटेल व्यवसायी भट्टराईले सांसदलाई नै रोक्ने प्रयास गरेका थिए । समितिका सभापतिको रुलिङ र अन्य व्यवसायीको कुरा समेत भट्टराईले मानेनन् । 
लगत्तै समितिका सदस्य तथा  नेपाली काँग्रेस संसदीय  दलका प्रमुख सचेतक गोपाल तामाङले व्यापारी इमान्दार बन्न आग्रह गरे । ‘जुम्लाको ओखर देखाउने अनि अफगानिस्तानको ओखरलाई भारत निर्यात मात्र गरेर हुँदैन, तामाङले भने, निजी क्षेत्र पनि माफियाको रूपमा जकडिन पुगेको छ।’  निजी क्षेत्रलाई कृषिमा अनुदान दिएको छ, दिइएको अनुदानको विषयलाई लिएर अहिले अनुदान नै फरक मोडेलमा गएको बताए ।  उनले सबै कुरा आयातमा मात्र केन्द्रित हुने तर आफ्नै स्वदेशी उत्पादन नहुने खालका गतिबिधिहरुको कारण अहिले निजी क्षेत्रलाई हेर्ने दृष्टीकोणहरु परिवर्तन हुँदै गएको तामाङको भनाई थियो ।  तामाङको भनाई सकिन नपाउँदै उद्योगी देवकीनन्दन अग्रवालले व्यवसायीलाई माफिया भनिएको भन्दै असन्तुष्टि जनाए । उनले  व्यवसायीलाई माफिया भनिएको भन्दै आफ्नो मन दुखेको गुनासो गरे । ‘व्यवसायी भनेका व्यवसायी नै हुन्, उनले भने, व्यवसायीलाई माफिया भनिनु भएन, माफिया भनेका माफिया नै हुन् ।’
प्रदेश सभा सदस्य तारादेवी  ढकालले  संसदीय समिति भनेको सबैको कुरा सुन्ने थलो भएकोले  यसलाई ‘ककस’ जस्तो नबनाउन आग्रह गरिन् । संसदीय समितिले सम्बन्धित सरोकारवालाहरुसँग छलफल गर्ने र आएको सुझावलाई कार्यान्वायनको लागि प्रदेश सरकारलाई सुझाव दिने  भएकोले संसदीय समितिको बैठक भित्र ‘ककस’को जस्तो भूमिका नदेखाउन सहभागी ब्यवसायीहरुलाई आग्रह गरिन् ।   अर्थ समितिले बोलाएको छलफलमा सहभागी हुन पुगेका व्यवसायीहरू आफ्ना कुरा राख्ने र हिँड्ने क्रम पनि निरन्तर चल्दै आएको थियो ।