सुनसरी । उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याउँदै क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।   

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले बुधबार जिल्ला अदालत काठमाडौंको फैसलालाई उल्ट्याउँदै सन्दीपलाई बलात्कार मुद्दामा सफाइ दिएको हो ।

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार प्रमाण नपुगेको भन्दै जिल्ला अदालत काठमाडौंको फैसला उल्टाएको हो । उनले भने, 'न्यायाधीद्वयको इजलासले सन्दीप लामिछानेविरुद्ध प्रमाण नपुग्ने भन्दै जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याएको छ । सन्दीप लामिछाने निर्दोष रहेको फैसला गरेको छ ।'

काठमाडौं जिल्ला अदालतले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्षको कैद र ५ लाख जरिवानाको सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध लामिछाने र जाहेरीकर्ता उच्च अदालत पाटन गएका थिए ।

पछिल्लो फैसलासँगै लामिछानेलाई टि-२० विश्वकप खेल्ने पहिलो ढोका खुलेको छ । क्यानले निलम्बन फुकुवा गरेर आइसीसीको सहमति लिएपछि उनले विश्वकप खेल्न पाउनेछन् ।