विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्रीको निवास खाली गर्न आनाकानी गरेका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १६८९५० अन्तरगत नयाँ सरकार गठनको आव्हान गरेपछि वैशाख २७ गते मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त भएका छन् ।
नयाँ मुख्यमन्त्रीको रूपमा हिक्मत कार्की आएको एक साता हुँदा पनि केदार कार्कीले मुख्यमन्त्रीको निवास खाली गरेका छैनन् ।
मुख्यमन्त्रीका लागि विराटनगर स्थित कोशी प्रजेक्टमा निवासको व्यवस्था गरिएको छ । निवर्तमान मुख्यमन्त्रीले निवास खाली नगर्दा मुख्यमन्त्री हिक्मत कार्की भने आफू बस्दै आएको पहिलेकै निवासमा बस्दै आएका छन् ।
प्रदेश प्रमुखले नयाँ सरकार गठनको आव्हान गरेसँगै हिक्मत कार्की एमालेका ३९ जना प्रदेश सभा सदस्य र माओवादीका १३ जना प्रदेश सभा सदस्यको समर्थनमा वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
उनले वैशाख ३१ गते विश्वासको मत पाएका छन् । उनलाई एमाले, माओवादी, जसपा र एकीकृत समाजवादीका ५७ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएका छन् ।
मुख्यमन्त्रीमा नियुक्त भएर विश्वासको मत लिँदा समेत निर्वतमान मुख्यमन्त्री कार्कीले मुख्यमन्त्रीको निवास खाली गरेका छैनन् ।
मन्त्री तथा मुख्यमन्त्रीबाट हटेपछि निवास खाली गर्ने परम्परा रहेको छ । तर निर्वतमान मुख्यमन्त्री केदार कार्कीले भने सरकार गठनको प्रक्रिया प्रति नै आप्पत्ती जनाउँदै मुख्यमन्त्रीको सरकारी निवास खाली गर्न आनाकानी गरेका हुन् ।
नि वर्तमान मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आव्हान गरेको प्रक्रियामा आप्पत्ती जनाउँदै सर्वोच्चमा २७ गते नै रिट दर्ता गरेका छन् । रिटका विषयमा जेठ ९ गते सर्वोच्चले सुनुवाइ तोकेको छ । सर्वोच्चको फैसला नआएको भन्दै उनले मुख्यमन्त्रीको निवास खाली गरेका छैनन् ।
कोशी प्रदेशमा निर्वतमान मुख्यमन्त्री कार्की अल्पमतमा परेको सन्देश सङ्कल्प प्रस्ताव मार्फत प्रदेश प्रमुख समक्ष प्रदेश सभा सचिवालयले पठाएको थियो । वैशाख ७ गते पास भएको थियो । सङ्कल्प प्रस्तावको पक्षमा ५२ जना उभिएका थिए ।
सङ्कल्प प्रस्ताव मार्फत २५ गते भित्रमा विश्वासको मत लिन या मार्ग प्रशस्त गर्न निर्देश गरेको थियो । तर निवर्तमान मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएपछि प्रदेश प्रमुख खापुङ्ग नेपाल सरकारका मुख्य महान्यायाधिवक्ता राय बमोजिम नयाँ सरकार गठनको आव्हान गरेका थिए ।
निर्वतमान मुख्यमन्त्रीका जन सम्पर्क सल्लाहकार लिलाबल्लब घिमिरेले कार्की विराटनगर भन्दा बाहिर रहेकाले निवास खाली नभएको बताए । उनले भने उहाँ बाहिर हुनुहुन्छ । बाहिर रहेकाले निवास खाली गर्न ढिलाइ भएको हो।
फिर्ता भएन सवारी
निवर्तमान मुख्यमन्त्री कार्कीको सचिवालयमा रहेकाहरूले प्रयोग गरेका सवारीका साधन पनि फिर्ता नगरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार उनका स्वकीय सचिव दिवस राजवंशीले ००४६ नम्बरको स्कुटर फिर्ता गरेका छैनन् । यस्तै ६२७ नम्बरको कार समेत फिर्ता भएको छैन । यस्तै तत्कालीन कृषि मन्त्री राम खत्रीले प्रयोग गर्दै आएको ०३२ नम्बरको स्करपियो समेत फिर्ता नभएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।