विराटनगर । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र प्रसाद अधिकारी नियुक्त भएका छन् । आज बसेको मन्त्रीपरिषद्को बैठकले झापा बिर्तामोडका अधिकारीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए । 
अधिकारी मेची बहुमुखी क्याम्पसमा अर्थशास्त्र विषयको उपप्राध्यापक हुन् । उनले नेपाली अर्थतन्त्रमा मुद्रा आपूर्ति र मूल्य स्तर बिचको सम्बन्ध विषयमा विद्यावारिधि पुरा गरेका छन् ।
प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश २०७५ को दफा ३ को उपदफा (२) खण्ड (ख) बमोजिम अधिकारीलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको जनाइएको छ । आयोगको अध्यक्ष भने मुख्यमन्त्री रहने व्यवस्था छ । 
उपाध्यक्षमा नियुक्त भएका डा अधिकारीलाई आजै मुख्यमन्त्री हिक्मतकुमार कार्की पद तथा गोपनीयताको शपथ गराउने तयारी गरेका छन् । प्रदेशको आर्थिक सम्बृद्धि, सन्तुलित विकासका लागि दूरगामी सोचसहितको विकास नीति तर्जुमा गर्न, नीति कार्यान्वयनमा सहजीकरण, अनुगमन र मूल्याङ्कन लगायतका विषयमा आयोगले काम गर्ने कार्यक्षेत्र रहेको छ ।