सुनसरी । नेकपा (एमाले) धनकुटाको आठौँ जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ ।

अधिवेशनले एमाले नेता कार्यकर्तामा सरगर्मी बढेको छ । जिल्लाका पार्टी नेता कार्यकर्ताले नेतृत्वका लागि दौडधुप बढाएका छन् भने कार्यकर्तामाझ आफ्नो आकांक्षा व्यक्त गर्न थालेका छन् ।

एमाले धनकुटाको जिल्ला नेतृत्वका लागि अहिलेसम्म दुई जनाले आफ्नो आकांक्षा व्यक्त गरेका छन् । जिल्ला नेतृत्वका लागि हालका उपसचिव शिव आङ्ला पार्टी अध्यक्ष हुने दाउमा छन् भने जिल्ला सचिवालय सदस्य निरेन तामाङले पनि अध्यक्षका लागि आकांक्षा व्यक्त गरेका छन् ।

यस्तै उपाध्यक्ष, सचिव र उपसचिवमा पनि एक दर्जन बढी आकांक्षी रहेका छन् । उपाध्यक्ष सचिव र उपसचिवमा चिन्तन तामाङ, भीम राई, पर्शुराम नेपाल, शेरबहादुर लिम्बू, टंकबहादुर चुहान, मनोज राई, नैन विश्वकर्मा, सावित्रा राई, मनकुमारी तितुङ (तारा) लगायत आकांक्षी रहेको बताइएको छ ।

अधिवेशनले एकजना अध्यक्ष, एक जना उपाध्यक्ष, एक जना सचिव र एकजना महिला सहित दुई जना उपसचिव सहित ९० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ ।

उपाध्यक्ष युवराज ज्ञवालीले उद्घघाटन गर्ने अधिवेशन जेठ १३ गते चल्ने बताइएको छ ।