संखुवासभा -चीनसँग सीमाना जोडिएका १४ वटा व्यापारिक नाका खुलेका छन् । शनिवार एक कार्यक्रमका बीच संखुवासभाको किमाथांकासहित १४ वटा व्यापारिक नाका खुलेको घोषणा गरिएको हो । कोरोनाका कारण २०७६ माघ ५ देखि बन्द रहेका नाका पाँच वर्षपछि एकैसाथ खुलेका हुन् ।

नाका खुलेसँगै परराष्टमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलीले संखुवासभाको किमाथांका हुँदै चीनको तिब्बत स्वायत्त क्षेत्रसम्म पुगेर अवलोकन गरेका छन् ।

त्यहाँका उपाध्यक्ष सिलाङ निमा र परराष्टमन्त्री श्रेष्ठले एक समारोहकाबीच शनिबार १४ वटै व्यापार नाका पुनःसञ्चालन भएको घोषणा गरेका हुन् । परराष्ट्रमन्त्री श्रेष्ठले १४ वटै नाका खुल्ने घोषणा शनिवार एकै साथ भएको बताए ।

तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीसंग बोल्दै मन्त्री श्रेष्ठले कोभिड महामारीका कारण देखाउँदै चीन सरकारले बन्द गरेका ती नाका नेपाल र चीनका उच्च राजनीतिक नेतृत्वबीचको वार्ता, संवाद र सहमतिबाट करिब चार वर्षपछि पुनः सञ्चालनमा ल्याएको बताए ।

सीमा क्षेत्रका जनताको अन्तरक्रिया, व्यापार र सास्कृतिक क्षेत्रमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले शनिबारदेखि दार्चुला, डोल्पा, मुस्ताङ, गोरखा, दोलखा, ताप्लेजुङ र संखुवासभाको किमाथांकाका सीमा जोडिएका नाका खुलेको बताए । चिनियाँ पक्षले अन्य सातवटा नाका निश्चित समयभित्र खुलाउदै जाने उनले बताए ।

किमाथांकासहित नेपाल–चीन सीमामा रहेका १४ वटै व्यापार नाका पुनः सञ्चालनको उद्घाटन समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री श्रेष्ठको नेतृत्वमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृह र परराष्ट्र मन्त्रालयका सहसचिव, भोटखोला गाउापालिकाका अध्यक्ष वाङछेदर भोटे, प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का र जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत सहभागी थिए ।