सुनसरी । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मुख्यमन्त्री साझेदारी विकास मञ्च गठन गर्न प्रस्ताव गरेका छन् ।  विराटनगरमा जारी अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले सातै प्रदेशका मुख्यमन्त्री सदस्य रहने गरी कोष बनाउन प्रस्ताव गरेका हुन । 

प्रदेशहरूबीच सहकार्य र साझेदारीलाई प्रवर्द्धन गर्न छुट्टै कोष स्थापना गर्नुपर्ने उनको सुझाव थियो। उनले अन्तरप्रदेश लगानी बैंकको अवधारणालाई पनि स्वागत योग्य भएको बताए।

प्रदेशका मन्त्रालयमा संघीय सरकारले सचिव पठाउने अभ्यासले प्रदेशको स्वायत्ततामा समस्या सिर्जना गरेको उल्लेख गर्दै उनले संविधानका अनुसूचीमा व्यवस्था गरिएका अधिकारअनुसार प्रदेशलाई जिम्मेवारी हस्तान्तरण गर्न माग गरेका छन् ।

त्यस्तै मुख्यमन्त्री यादवले प्रदेशमा शान्तिसुरक्षा कायम गर्न प्रहरीको भूमिका प्रभावकारी हुन नसकेको भन्दै यसमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याए।

मानव–हात्ती द्वन्द्व न्यूनीकरणको विषय उठाउँदै मुख्यमन्त्री यादवले कोशी र मधेश प्रदेशले संयुक्त योजना निर्माण गरी कार्यान्वयनमा अघि बढ्नुपर्नेमा जोड दिए।