विराटनगर । अत्यधिक गर्मी बढ्न थालेपछि विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयहरूलाई सिलिङ पङ्खा उपलब्ध गराएको छ । 
विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित ६१ वटा सामुदायिक विद्यालयहरूलाई सिलिङ पङ्खा उपलब्ध गराएको महानगरले जनाएको छ । सोमबार महानगरपालिकामा आयोजित कार्यक्रममा कार्यवाहक मेयर मधुबाबु तिवारी र सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिहरूलाई पङ्खा हस्तान्तरण गरे । 
केही दिनयता विराटनगरमा अत्यधिक गर्मी बढेको छ । जसका कारण पङ्खा नहुँदा विद्यालयमा अध्ययनरत विद्यार्थीहरू प्रभावित हुँदै आएका छन्  । चालु आर्थिक वर्षको विनियोजित बजेटबाटै पङ्खा खरिद गरेर विद्यालयलाई वितरण गरिएको कार्यवाहक मेयर तिवारीले जानकारी दिए । 
विराटनगर महानगरपालिकाले सबै सामुदायिक विद्यालयका कक्षाकोठामा पङ्खा जडान गर्ने जनाएको थियो ।  चालु आर्थिक वर्षको बजेटमा पङ्खा खरिदका लागि बजेटसमेत विनियोजन गरिएको थियो । पहिलो चरणमा महानगरले एकै पटक ५ सय थान पङ्खा वितरण गरेको छ । 
शैक्षिक प्रशासन महाशाखाका अधिकृत सुशील दाहालका अनुसार प्रति विद्यालय ५ देखि २० थानसम्म सिलिङ पङ्खा उपलब्ध गराइएको छ । सामुदायिक विद्यालयमा एक हजार पङ्खाको आवश्यकता रहेको तर बजेट अभावका कारण तत्काल ५ सय पङ्खा वितरण गरिएको दाहालको भनाइ छ । तत्काललाई पाँच सय पङ्खा उपलब्ध गराएसँगै विद्यालयहरूलाई जडान गर्न भनिएको छ । शैक्षिक प्रशासन महाशाखा अन्तर्गत आर्थिक वर्ष २०८०/०८१ को बजेटमा विनियोजित २० लाख रकम अनुरूप सामुदायिक तथा धार्मिक विद्यालयले पङ्खा पाएका छन् ।
कार्यवाहक मेयर तिवारीले पङ्खा वितरण गर्नुको उद्देश्य विद्यार्थीलाई गर्मी याममा पठनपाठनमा सहजीकरण गराउने रहेको बताउनुभयो । उहाँले महानगरले सामुदायिक विद्यालयमा अनुगमन गर्दा कक्षाकोठामा पङ्खा अभाव भएको देखिएकाले विद्यार्थीलाई राहत दिने कार्यक्रम तत्काल कार्यान्वयन गरिएको बताउनुभयो । विगत एक महिनायता ३८ देखि ४२ डिग्री सेल्सियससम्मको तापक्रम विराटनगरमा देखिएको छ । विराटनगर महानगरपालिकामा पङ्खा आपूर्तिका लागि मोरङ सुन्दरहरैंचाको मनोकामना अटो मोवाइल्सले ठेक्का लिएको थियो । 
पङ्खा प्राप्त गरेपछि विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले खुसी व्यक्त गरेका छन् । महानगरले अत्यन्तै प्रशंसनीय कार्य गरेको उनीहरूको भनाइ थियो ।